बझाङ : भदौ २३ गते काठमाडौंमा भएको जेन्जी आन्दोलनका क्रममा सहिद बनेका बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीका २३ वर्षीय सुवास बोहराकी आमा कैली देवी बोहरालाई नेपाल आयल निगमले रोजगारी दिएको छ ।
पालनपोषण गर्ने छोराले आन्दोलनका क्रममा ज्यान गुमाएपछि आर्थिक संकटमा परेकी कैली देवीलाई निगमले कार्यालय सहयोगीका रूपमा नियुक्त गरेको हो ।
निगमको हवाई इन्धन डिपो सिनामंगलस्थित खरिद इकाइ समितिले असोज २६ गते फागुन मसान्तसम्मका लागि बोहरालाई अस्थायी रूपमा नियुक्ति दिएको बताइएको छ ।
आन्दोलनमा सहादत प्राप्त गरेका सुवासकी आमालाई जीवन जिउन सहयोग पुगोस भनेर रोजगारी प्रदान गरेको नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवले बताए ।
प्रमुख यादवले भने, ‘सहिद परिवारका सदस्यलाई सम्मानका रूपमा सहयोग गर्ने उद्देश्यले कैली देवी बोहरालाई कार्यालय सहयोगीको रूपमा नियुक्त गरिएको हो ।,’
सहिद सुवासका गाउँघरमा अझै पनि शोकको माहोल छ । गाउँलेहरू उनका परिवारप्रति सहानुभूति व्यक्त गर्दै सरकारले स्थायी सहयोगको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।
