उरै लेकमा भोकै हिड्दा

Breaking news पर्यटन ब्लग

वसन्तप्रताप सिंह
‘टोपि खस्ने तारे भिरको बाटो हिड्नु पर्छ । तल सेती उर्लेको हुन्छ । डोरी जस्तो बाटोमा खुट्टा अड्याउन जानिएन भने सिधै सेतीमा हेलिने डर हुन्छ ।’ २०४८ सालको भदौ महिना तिर भोट (पुरा“स) पुगेर आउनु भएका हजुरबुवाका गफ ट्वाल्ल परेर सुनिरहन्थे ।
डा“डो नै प्वाल पारेर बनाएका खम्पाहरु बस्ने माटीगुफामा पुगेर उन किनेर ल्याएको, पानी नपाउने पहरामा धुप बालेर पुजा गरे पछि पानी रसाएको जस्ता कहानी हजुरबुवाले आफ्ना समवयीहरुलाई बताउदा मलाई एकादेशको कथा सुने जस्तो लाग्थ्यो । मेरो बाल मस्तिस्क कतिवेला डराउथ्यो । कति वेला उत्साहीत भएर हजुरवुवा संगै भोट पुगेको कल्पनामा हराउथे ।
त्यो वेला मेरो मस्तिष्कमा यो वाटो अफ्टेरो छ । जो सुकैले जाने आ“ट गर्नु व्यर्थ छ भन्ने खालको छाप परेको थियो । पछिल्लो समय ताक्लाकोट नाकाको सम्भावनाको बारेमा जिल्लामा खुबै चर्चा हुन थाल्यो । यो नेपालकै सबै भन्दा छोटो त्रिदेशिय नाका भएको र यहा“ सम्म सडक सम्भावनाका समाचारहरु लेखिरहने भएकोले कतिपय सभासद र जिम्मेवार दलका नेताहरुले यो कुरा सम्भव नभएको भन्दै म सँग बादविवाद समेत गर्थे । यद्यपी मैले यो नाकाको विषयमा जानकारी समेटिएका सामाग्रीहरु अध्ययन गर्थे । नक्साहरु हेर्दा नेताहरुले भने जस्तो यो असम्भव छ जस्तो मलाई लाग्थेन । बरु यो नाका भएर सडक खोल्न सके चीन सँगको व्यापार र पर्यटनको ढोका खुल्ने मेरो विश्वास थियो ।
एक पटक आफु नै त्यहा“ पुग्न पाए । यहा“को वास्तविकता बुझ्न र लेख्न सजिलो हुने थियो भन्ने सोच्थे । तर हजुरबुवाले भनेको यात्रा वृतान्त सम्झीदा एक्लै यो यात्रा गर्ने आ“टै आउदैनथ्यो । २ वर्ष देखी म त्यहा“ जाने साथीको खोजीमा थिए । मन मिल्ने र उद्देश्य मिल्ने धेरै साथीहरुलाई मैले त्यसको लागी प्रस्ताव गर्थे तर कसैले पनि आँट गर्न सकेका थिएन । एक त जोखिम पुर्ण यात्रा अर्काे खर्चको समस्या देखाएर सबैले टार्ने गर्थे ।
२०७३ भदौ पहिलो साता तिर हुनु पर्छ । कांडा गाविसका सचिव धनबहादुर घर्तिले नेपाल पर्वतारोहण संघ साइपाल हिमाल शाखाका सचिव किशोर खड्का र आफु भदौ २० गते त्यहां जान लागेको कुरा बताए । मलाई ढुङ्गो खोज्दा देउता भेटे जस्तो भयो । मैले पनि उहाँहरु संग जाने इच्छा व्यक्त गरे । धनबहादुर जीले तपाई पनि जाँदा त राम्रै हुन्छ भन्ने आसय व्यक्त गरे पछि मैले हतारहतारमा त्यहां जानुको उदेश्य र सम्भावित समाचारको बारेमा मैले काम गर्ने संस्था कान्तिपुर क्षेत्रिय व्यूरो संयोजक चित्राङ थापा र जिल्ला व्यूरो संयोजक गंगा विसीलाई लिखित जानकारी गरा“ए ।
केही दिनमा नै कान्तिपुरले मलाई त्यहां जाने स्विकृती मिल्यो । खर्च र न्यानो लुगाफाटोको जोरजाम भयो । स्थानिय पत्रकार उत्तम रोकायाले पनि हामी संगै जाने इच्छा व्यक्त गरे । अन्तत भदौ २० गते हामी चैनपुर बाट ताक्लाकोटको लागी भण्डै २० दिन लामो पैदल यात्रामा निस्कीयौं ।
मनमा एकखालको उत्साह थियो । अर्काे तिर अलि अलि डर पनि लागेको थियो । किनभने गत वर्ष मात्र मेरै गांउका ४ जनाको साँघु बनाएर सेती नदी तर्ने क्रममा नदीमा खसेर ज्यान गएको थियो । कतिपय यो बाटो हिड्ने क्रममा विरामी परेर, लडेर, हावाले उडाएर, चिसोले कठ्याङग्रीएर र लेक लागेर मरेका खवर हरु पनि आइरहन्थे ।
मैले मन बलियो बनाए । किनकी यो बाटोमा अहिले सम्म पत्रकार हिडेको छैन । त्यहा“ पुग्न सकियो भने नया“ विषयहरु समाचारका लागी आउन सक्छन । नेपाल कै ठुलो क्षेत्रफल भएको कांडा गाविस (अहिलेको साइपाल गाउँपालिका) र त्यहांको जनजिवन बुझ्ने मौका, चैनपुर ताक्लाकोट सडक संग जोडिएका सवालहरु, परम्परागत भोट संस्कृती र यसमा समयअनुकुल हुदै गएको फेरबदल यस्तै विषय मनमा खेल्न थाले । मन मिल्ने साथीहरुको संगतले पनि मेरो आंट बलियो भएको थियो ।
मैले बाटोमा भेटिएका मान्छे संग कुराकानी गर्दै जानु पर्ने भएकोले हिडईमा केही ढिला हुन सक्ने कुरामा साथीहरुलाई सहमत गराई सकेको थिएं । टोपी खस्ने ठाडै उकालो, हेर्दै कहाली लाग्ने ओरालोहरु, निर्जन जंगलको बाटो छिचोल्दै हामी रस्याको लेक नाध्दै थियौ । लेक काटेर केही तल पुगि सके पछि हामी नजिकैबाट चितुवाले बाटो काट्यो । आंखै अगाडी चितुवा देख्न पाउदा मलाई खुशी लागेको थियो । एक्लै भएको भए डर लाग्थ्यो होला सायद । चितुवा हामीले जानु पर्ने ठा“उ तिर गैरहेको थियो । हामी सबै जना उ भागोस भनेर जोडजोडले करायौं । यात्रामा बाघले बाटो काट्नु शुभ संकेत भएको कुरा र ठट्टा गर्दै हामी अगाडी बढ्यौ ।
पछिल्लो दिन बिहान हामी कांडा गाविसको कार्यालय रहेको ठांउमा थियौं । हामी आएको थाहा पाएर स्थानियहरु पनि हामीसँंग छलफलको लागी त्यहां उपस्थित थिए । उनिहरुले कांडामा भएका नुन र चामलको मंहगीको कुरा सुनाए । बझाङ जिल्लालाई सरकारले ढुवानी अनुदान दिएको भए पनि आफुहरु त्यो सुविधाबाट सधैं बञ्चित हुदै आएको गुनासो पोखे । कांडालाई छुट्टै गांउपालीका बनाउन, यहांको शिक्षा, स्वास्थ्य, लगायतका समस्या समाधानको लागी आवाज उठाइ दिन संचार माध्यमको सहयोग मागे । त्यहां लामो छलफल पछि हामीले यात्रालाई निरन्तरता दियौं ।
त्यहाँबाट हामी धुली बास बस्यौं । यो यस क्षेत्रको अन्तिम मानव बस्ती हो । धुली पुगिसके पछि एक जना अगाडीको बाटोको बारेमा राम्रो जानकारी भएको र तिब्बती भाषा जान्ने सहयोगी सँगै लैजान पाए हुन्थ्यो भन्ने प्रस्ताव साथीहरुसँग राखे । मेरा धुलीका मित्र राम बोहोरालाई हामीसँग गैदिन अनुरोध गरें । उनी आफु जान नसक्ने तर आफ्नो भाइ लालसिंह बोहरालाई हामी सँग पठाइ दिने भए ।

User comments

भारी बढी हुने भएकोले हामीले केही मैला लुगा र अनावश्यक सामानहरु धुलीमै छोडेर पाँचौ दिनको यात्रा सुरु गर्यौं । साथमा लालसिंह भाई थपिए । जता ततै अग्गा अग्ला पहाड, आखै अगाडी देखिने हिमालहरु, सम्म परेका हिमाली मैदानहरु, चौरमा चरिरहेका धुल्यालका चौरी, घोडा र भेडाका बथानहरु हेर्दै निरन्तर अगाडी बढ्यौ । उकालो ओरालोबाटो, तल हेर्दै रिङटा लाग्ने नदिमा पिङ जस्तै हल्लीने काठे सा“धु घुंडा टेकेर भए पनि तर्यौं ।
हिड्दा हिड्दा थकाइले लखतरान भइन्थ्यो । सुन्दर हिमाली दृष्यहरु र सेती नदीको प्रबाहलाई पछ्याउदै उतरबाट दक्षिण तिर बगिरहेको चिसो हावाले केही छिन मै थकान विर्साइ दिन्थ्यो । बाटोका मन्दिरहरुमा मानसरोवर जाने यात्रीहरुले चढाएका स–साना घण्टीहरुलाई हावाको झोकाले छुदा निस्कने आवाजको माधुर्यताले दिब्य शक्ती प्राप्त भएको महसुस हुन्थ्यो । निर्जन ठा“उमा पनि यस्ता कुराले थप अगाडी बढ्नका लागी आत्मविश्वास बलियो बनाइ दिए जस्तो लाग्थ्यो । हामी पनि बाटोका मन्दिरहरुमा धुपबालेर हात जोड्थ्यौं । लांगा देवताले बेदलाई ढुङ्गो बनाएको भनिएको पुस्तके ढुङ्गो, सर्पलाई ढुङ्गो बनाएको, विष कुण्ड खोलेर झरना बनाएको, पहरा फोरेर बनाएको बाटो, सुन भर्ने ओखल आदी चमत्कारहरु हेर्ने उत्सुकताले हामीलाई बाटो काट्न सजिलो बनाएको थियो ।
सातौं दिन विहान हामी खोपा भन्ने ठा“उमा झण्डै ४२ सय मिटरको उचाइमा रहेको अस्थायी होटलमा थियौं । आज सेतीको मुहान छिचोल्नु थियो । समुन्द्र सतह देखी ५२ सय २० मिटरको उचाइमा रहेको उरै लेक नाघ्नु थियो । छ दिन देखिको निरन्तर हिडाईले हुन सक्छ । खुट्टा दुखिरहेका थिए । त्यहां भन्दा माथी कुनै होटलहरु थिएनन । होटल भेटाउन हामीले सांझ सम्म हिड्नु पर्ने थियो । त्यहीको होटलवाला दिदिलाई हामीले बाटोको लागी केही रोटी पकाई माग्यौ । घरबाट लेक लाग्दा काम लाग्छ भनेर किशोर जीको आमाले पोको पारिदिएको खुर्सानी र दाडिमको चुकको अचार साथमै थियो । पानी तताएर थर्मसमा हाल्यौं । विहानको खानाको लागी ६÷७ वटा रोटी पोको पारेर चिया खाएर छ बजे हामी अघि बढ्यौं ।


हाम्रो टोली जति अगाडी बढ्थ्यो हिडाईको गति झनझन घट्तै जान थाल्यो । सबै भन्दा असजिलो मलाई भैरहेको थियो । अरु साथीहरु पहिला पनि यस्तै उचाईको यात्रा अनुभव गरिसकेका हुनाले मलाई जति गाह्रो भएको थिएन । मैले भने ८÷१० पाइला हिडे पछि रोकिनु पर्ने अवस्था आउथ्यो । मलाई हिड्ेको भन्दा पनि घिस्रे जस्तो लाग्थ्यो ।
बोट विरुवाको नामो निसान थिएन । जता ततै ढुङ्गा र विभिन्न रंगका पहाडहरु मात्र देखिन्थे । राक्से हिमाल आ“खै अगाडी थियो । भदौको महिना भए पनि जाडो असाध्य थियो । डाउन ज्याकेटको टोपीले कान छोपे पनि हिमाली सिरेटोले अनुहारको छालामा छुदा बरफले हाने जस्तो पिडा हुन्थ्यो ।
सिल्थाम भन्ने ठा“उमा दिउ“सो ११ वजे तिर हामी रोटी खानका लागी विसायौं । मलाई भने पटक्कै भोक लागेको थिएन । साथीहरुले कर गरे पछि तातोपानी हालेर खाने चिनिया चाउचाउ खान सहमत भएं । एक दुइ चम्चा मुखमा हाले पछि बान्ता आउला जस्तो भयो मैले चाउचाउ त्यतिकै छोडिदिएं । साथीहरुले रोटी खाए । केही बेर विसाएर यात्रा फेरी सुरु भयो ।
चिनबाट मदिरा,जुत्ता र लत्ताकपडा ल्याएर आएका भेडाका बथानहरु र चिनियां ह्याट (टोपी) लगाएका भेडी ग्वालाहरुको लस्कर राक्सियो हिमालको फेदी भएर तल झरिरहेका दृष्यहरु कुनै पोष्टर हेरे जस्तो लाग्थ्यो । हिमालको नजिकैबाट झरेका दुध जस्ता हिमनदीहरुको कलकल आवाज र एकहोरो हावाको सुसाहट अनी बोट बृक्ष रहित अन्नत क्षितिज लक्षित यात्रा कुनै अर्कै संसारमा प्रवेश गरेको भान हुन्थ्यो ।


अल्टीमिटरमा उचाइ देखाउने डिजीट ४५ सयबाट ४७ सयको हाराहारीमा पुगेको थियो । हामी भल्या भन्ने ठा“उबाट अगाडी बढ्दै थियौ । मेरा खुट्टा करिब करिब निस्क्रीय भैसकेका थिए । सायद लेक लागेको हुनु पर्छ लगातार ३÷४ पाइला पनि हिड्न हम्मे हम्मे भैरहेको थियो । उत्तम भाइको झोलाबाट एउटा खुर्सानी निकालेर सिंगै चपा“ए । असाध्यै पिरो खुर्सानी पनि सामान्य जस्तै लाग्यो । खुसार्नी खाए पछि केही आराम महसुस भयो ।


आराम गर्न बस्दा केही नभए जस्तो हुने हिड्ने कुरा सोच्दा पनि पुरै जिउ लल्याकलुलुक हुने अवस्था आइलाग्यो । घिस्रेर भए पनि हिडिरहेको थिए । उरै भञ्ज्याङ भन्दा केही मिटर तल पुग्दा मेरो होस आधा गुमिसकेको थियो । अर्धवेहोस अवस्थामा उत्तम र लालसिंह भाइले मेरा दुइ हात समातेर करिब १ घण्टाको बाटो झुण्ड्याएरै ५२ सय २० मिटरको उरैको टुप्पोमा पुर्याए । अरु साथीहरु अघि नै पुगेर हामीलाई कुरीरहेका रहेछन । उरै कटेर केहि वेर चिन तिरको भुभागमा ओरालो हिडेपछि मलाई सहज महसुस भयो । त्यहां बाट झण्डै ५ घण्टा हिडे पछि राती तिब्बतको तिज्म भन्ने ठांउमा अस्थायी होटल भेटियो । म खाना नखाएरै सुते । ज्यान पुरै गलेको भए पनि भोकको भने नामनिसान थिएन । भोली पल्ट करिब ८ घण्टा हिडे पछि ताक्लाकोट जाने गाडी पाइने ठांउ सम्म पुगियो । गाडी भेटे पछि खुसीको सिमा नै रहेन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *