फागुन १ देखि खप्तड होमस्टेले ‘खप्तड हेली टुर प्याकेज’ ल्याउदै

पर्यटन

साइपालखबर संवाददाता

काठमाडाैं । खप्तड होमस्टे झिग्राना डोटीले यस वर्ष पनि हेलिकोप्टरमार्फत खप्तड पुग्ने प्याकेज ल्याउने भएको छ । हिउँदमा भारी हिमपात हुने भएकाले पैदल र सडक मार्गबाट खप्तड जाने अवस्था नभएपछि होमस्टेले ‘हेली प्याकेज’ ल्याउन लागेको हो ।

 

खप्तड होमस्टे झिग्राना र खप्तड टुर एडभेन्चर प्रा.लि डोटीले हिँउसँग खेल्न रमाउने आन्तरिक पर्यटकलाई लक्षित गर्दै हेली टुरको प्याकेज ल्याउने भएको हो । खप्तड पुग्न दिपायलबाट प्रतिव्यक्ति १२ हजार र बडिमालिका घुम्न दिपायलबाट ३० हजारको प्याकेज तय गरिएको छ ।

पटक-पटक हिमपात भएकाले खप्तडमा अझै पनि ४ फिटभन्दा बाक्लो हिँउ रहेको छ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडिमालिकामा पनि बाक्लो हिँउ परेको छ । फागुनको अन्तिम सातासम्म त्यहाँ हिँउ खेल्न सकिने बताइन्छ ।

माउन्टेन हेलिकोप्टरसँगको सहकार्यमा फागुन १ देखि खप्तड र बडीमालिका घुम्न हेली टुरको प्याकेज ल्याइएको होमस्टेका सञ्चालक दीपक खड्काले बताए । ‘लामो समयदेखि खप्तडको नाम चर्चामा मात्र आउने तर भौगोलिक कठिनाइका कारण सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेपछि गत वर्षदेखि हेली टुर प्याकेज ल्याएका हौँ,’ उनले भने, ‘हेली टुरमा आन्तरिक पर्यटकको राम्रो आकर्षण देखिएको थियो । यस वर्ष पनि हामी तयारीमै छौँ । तर, कोरोना महामारीका कारण यस वर्ष पछि धकेलिएको छ ।’

सुदूरपश्चिम प्रदेशको पर्यटनलाई नयाँ तरिकाले प्रवर्द्धन गर्ने उद्देश्यले टुर प्याकेजको कार्यक्रम ल्याइएको खड्काको भनाइ छ ।

गत वर्ष माघको दोस्रो साताबाट सुरु भएको टुर प्याकेजमार्फत १ सय ३५ जनाले खप्तड भ्रमण गरेका थिए । खप्तडमा पर्यटकका लागि उचित आवासको सुविधा नभएकाले हिँउदमा पर्यटक प्राय: शून्य नै हुन्छन् । गत वर्षदेखि हेली प्याकेज ल्याएसँगै आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । खप्तड घुम्ने प्याकेजको व्यवस्था भएपछि गतवर्ष हिउँदे सिजनमा पनि खप्तडमा पर्यटकको चहलपहल बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *