वसन्तप्रताप सिंह
हामी सबैलाई थाहै छ, नेपाल कोरोना महामारीबाट अछुतो रहेन । झण्डै पाँच महिना लामो लकडाउन र निषेधाज्ञापछि देश न्युन नर्मलको अवस्थामा फर्कदै थियो । यही मौकामा छोपेर मैले ०७७ सालका अन्तिम दुई महिना घुमघाममा विताउने निर्णय गरें ।
यस बीच देशका विभिन्न १२ जिल्ला घुमे । यो भिडियोमा चाहीं कर्णाली सेरोफेरोलाई समेटेको छु ।
यतिबेला हामी फेरी कोरोना महामारीको दोस्रो लहरको सामना गर्दैछौ । घुम्न नपाएर म जस्तै छटपटी भएका साथीहरुले भर्चुअल रुपमै भए पनि कर्णालीले घुमेर मनोरञ्जन लिनुहुनेछ भन्ने आशा लिएको छु ।
हाम्रो कर्णाली घुमफिरको यात्रा नेपालगंजबाट सुरु भयो । यो समुहमा बरिष्ठ पत्रकार धर्मेन्द्र झा र हरिबहादुर थापा, पत्रकार महासंघका सुदुर पश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह र सदस्य मुकेश टर्रा, प्रेस संगठनका नेता नबराज भण्डारी र म थियौं । ११ बजे बाजुराको कोल्टीका लागि उड्ने भनिए पनि हामी २ बजे मात्रै जहाज चढ्यौं ।
बाजुरा र मुगु तिरका स्थानियले भरिएको तारा एयरको ट्वीनअटर पहाडको कच्चीबाटोमा चल्ने जिप जस्तै थियो । क्याविन छेक्ने पर्दा च्यातिएको थियो । सिट अड्याउन कसिएका कब्जाहरु खुकुलो भएका थिए । कति सम्म भने मेरै सिट अगाडी रहेको इमेरजेन्सी ढोका सुतली धागोले बाँधेर अड्काइएको थियो ।
जहाज दैलेख जिल्लाको आकाश छोडेर विस्तारै बाजुराको भुगोलमा प्रवेश गर्दै थियो । झ्यालबाट नाकैमा ठोक्कीन आउलान जस्ता अजंगका पहाडहरु, कतै कतै झुरुप्प बस्तीहरु देखिन्थे । हामी चढेको ट्वीनअटर कुनै बेला खसिहाल्यो की भने झै गरी वेगवान गतीले खोचमा पस्थ्यो । कुनै वेला एक्कासी उचाई लिदै डाँडाको टुप्पोमा पुग्थ्यो ।
उचाई घटबढ गर्दा जहाज यसरी हल्लीन्थ्यो नि संगैको सिटमा बसेकाहरु एकै ठाउँमा खादिन पुग्थ्यौं । धन्न बेल्ट थियो र अगाडीको सिटमा टाउको ठोक्कीनबाट जोगिन्थ्यो । कोही डरले चिच्याउथे । कोही ठुल्ठुलो स्वरले सफल यात्राको लागि भगवानको प्रार्थना गर्थे ।
आधा घण्टा जतिको डरलाग्दो यो हवाई यात्रा पछी हामी कोल्टी विमानस्थलमा अवतरण गर्यौं । अग्ला अग्ला पहाडको विचमा सम्म परेका मलिला फाँटहरु, हरिया र मनमोहक देखिन्थे । जिउलोको सिरानीमा लहरै स्लेटले छाएका घरहरु, कोल्टी साँच्चै सुन्दर थियो । जहाजबाट बाहिर आउदाँ सबैका अनुहार उज्याला भएका थिए । कोल्टी क्षेत्रका पत्रकार साथीहरु हामीलाई स्वागत गर्न एयरपोर्टमा जम्मा भएका थिए ।
कोल्टीमा एक छिनको बसाईपछि हामी कर्णाली जलविहारको लागि धुलाचौर तर्फ लाग्यौं ।
हुम्ला र बाजुराको सिमाना भएर बग्ने कर्णाली नदीको कञ्चन पानीमा बग्दै बग्दै, यहाँको सुन्दर भुगोलको अवलोकन गर्न पाउँदा निक्कै आनन्द आयो । यो चाहि हामी पिलुचौर पुगेको दृश्य हो । धुलाचौरबाट सुरु भएको र्याफिटङको गन्तव्य यहिसम्म मात्रै हो । यो पहिलो दिन साँञ्चै रमाइलो भयो ।
बाजुरा भ्रमणको दोस्रो दिन त्यहाँका पत्रकार साथीहरुसँग भेटघाट र छलफलमा वित्यो । बुढीनन्दा नगरपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाका जनप्रतिनिधी, स्थानिय र कर्मचारीहरुसंग भेटघाट गरियो ।
हुम्लाको अदानचुलीबाट उपचारका लागि साँफे जाँदै गरेका र बाजुराको बाटो हुदै कालापहाड हिडेकाहरु संग पनि भेट भयो । झम्मक साँझ परे पछि हाम्रो टोली बास बस्न फेरी कोल्टी फकिर्यो ।
यो यात्राको तेस्रो दिन । हामीले कोल्टीबाट मार्तडी हुदै डडेल्धुरासम्म पुग्ने योजना बनायौ । विहानको झुल्के घामसंगै हामी कोल्टीलाई विदा गर्दै अगाडी बढ्यौं । बाजुरा जिल्लाको सुन्दर भुगोल हेर्दै हामी मार्तडी तर्फ हुइकिदै थियौ । कोल्टी छोडेको आधा घण्टा नपुग्दै हामी चढेको जिपबाट धुवाँ पो आउन थाल्यो । ला जिप त विग्रीएछ ।
हामीले अर्काे जिप बोलाउनु पर्ने भयो । त्यतिन्जेल नजिकैको घरमा चिया खादै गर्दा एक जना आशु कबि देउडे भेटिनुभयो । उहाँले जे कुरा गर्दा पनि देउडा मै भन्ने । हामी उहाँका देउडामा रमाउदै गर्दा केही वेरमै जिप आइपुग्यो । हाम्रो टोली फेरी कच्चीबाटोमा धुलो उडाउदै अघी बढ्यो ।
बाटोमा बरिष्ठ पत्रकार द्धय धर्मेन्द्र झा र हरी बहादुर थापाका पत्रकारीता सम्बन्धी रोचक अनुभव सुन्दा कुनै विश्वविद्यालयको कक्षामा छु की जस्तो लाग्थ्यो । झ्यालबाट बाजुराको सुन्दर भुगोलको दृष्यपान गर्दै हामी पाण्डुसैन आइपुग्यौं । यो द्धन्द्धकालको सबै भन्दा बढी प्रभावित क्षेत्र हो । पाण्डुसैनको सुन्दर भुमी हेर्दै हाम्रो जिप उकालो चढ्यो । यहाँको चिसो बातावरण संग रमाउदै हामी पोरखे पुग्यौं ।
अब खाना खाने वेला भएको थियो । नजिकैको एउटा सफा र चिटिक्क परेको होटलमा हामीले अग्र्यानिक खानाको स्वाद मानिमानी खायौं । होटलको सरसफाई र खानाको स्वाद जिब्रो मै झुण्डीने खालको थियो ।
खाना खाइ सके पछि हामी पोरखेको लेकमा केही बेर रमाइलो गरेयौ । यहाँबाट बडीमालिका लगायतका हिमाली क्षेत्रको दृष्य पनि देखिने रहेछ । हामी चढेको जिप खाल्डाखुडी बाटोमा हल्लीदै अव ओरालो झर्दै थियो । यो यात्रालाई धर्मेन्द्र दाईले माउन्टेन सफारीको नाम दिनु भएको थियो ।
बाजुराका सुन्दर गाउँ र भुगोल दृष्य हेर्दै, यहाँका स्थानियहरु संग भलाकुसारी गर्दै हामी दिउँसै मार्तडी बजार आइपुग्यो । यहाँ पुग्दा हामी धुलोले छोपिएर नचिनिने भएका थियौं । मार्तडी बजारको शिरानमा रहेको बडीमालिका मन्दिर दर्शन गर्दै हाम्रो टोली बडिमालिका नगरपालिकामा केही बेर सुस्तायौं । नगरपालिकाका मेयर पदम बडुवालको न्यानो आथित्यतासंगै हामी अछाम तिर हान्नियौं ।
बुढीगंगा नदीलाई पछ्याउदै हाम्रो यात्रा अघी बढ्दै थियो । बाटोमा भेटिएका सुन्दर दृश्य, झरना र खोलाहरुमा केही बेर सुस्ताउदै फोटो खिच्दै साझँपख अछामको साँफेबगर पुग्यौं ।
अछामका पत्रकार साथीहरु अघि देखी नै माछा पकाएर हामीलाई कुरिरहनु भएको रहेछ । असला माछाको मिठो स्वाद संगै साँझपख हामी अछामबाट विदा हुदै डडेल्धुराका लागी हान्नियौं ।
कर्णालीको भुगोल, भेषभुषा, यहाँको न्यानो आत्मियता अनि अग्रज पत्रकारहरुसंगको सामिप्यताले मेरो लागि कर्णाली यात्रा साँच्चै रमाइलो, अविश्मरणिय र शिक्षाप्रद रह्यो । अर्काे पटक कर्णाली क्षेत्रका जनजिवन नजिकबाट नियाल्ने सोच बनाएको छु । त्यो अनुभव पनि तपाईहरुलाई सेयर गर्ने नै छु । आजलाई भने यती ल ।
(लेखक वसन्तप्रताप सिंह कान्तिपुर दैनिकका लागि बझाङ संवाददाता हुन् ।)