स्पेन देखि साइपाल हिमाल सम्मः अवसर, स्वतन्त्रता र नयाँ हिमाली अर्थतन्त्रको निर्माणको अदभुत यात्रा

पर्यटन ब्लग मुख्य खबर विचार/विविधा

मारीया क्लिमेन्ट
म मारिया हुँ । स्पेनमा जन्मे पनि मेरो जीवनको एक महत्वपूर्ण खण्ड पहिल्यै हिमालयको काखमा बितिसकेको छ। मैले नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष गरी आठ वर्षसम्म निरन्तर कार्य गरें । सधैंभरि दुर्गम पहाडी गाउँहरूमा, स्थानीय आवश्यकताअनुसार परियोजनाहरूको व्यवस्थापन गर्दै, आधारभूत स्तरबाट नै विकासका पहलहरू निर्माण गर्दै । यो अनुभवले मलाई यो पर्वतीय भूमिको सौन्दर्यसँगै गहिरो आत्मीयता मात्रै प्रदान गरेन बरु यो क्षेत्र मेरो हृदयमा कहिल्यै अलग नहुने गरी बास बस्न पुग्यो ।
यस अवधीमा मैले केवल प्रकृतिको असीमित सुन्दरता मात्र देखिन । बल्की, मैले गम्भीर असमानता, शिक्षा र रोजगारीका अवसरहरूको अभावसँग पनि साक्षात्कार गर्न पुगे । विशेष गरी महिलाहरूको पीडादायी वास्तविकता, जसको जीवन अझै पनि कठोर परम्पराहरूबाट गहिरो रूपमा बाधिन पुगेको छ । नेपालको सुदूरपश्चिममा छाउपडी प्रथा जस्ता सामाजिक कुरीतिहरूले महिलाहरू मासिक धर्मको समयमा अलग्गै झुपडीमा बस्न बाध्य छन । जसले उनीहरूको स्वास्थ्य, सुरक्षा र सामाजिक सम्मानलाई जोखिममा पार्छ । यो प्रथा साइपाल जस्ता दुर्गम ठाउँहरूमा अझ प्रबल छ । जसले महिलाहरूको विकासलाई अवरुद्ध गर्दै आएको छ।

तर यस्तो निराशाजनक अवस्थाबीच मैले अर्को पक्ष पनि देखें, अपार सम्भावना । साइपालको प्राकृतिक सम्पदा, उच्च हिमालहरू, अनौठा ट्रेकिङ मार्गहरू र अनुपम जैविक विविधता विश्वव्यापी पर्यटन बजारसँग जोडिन सक्छ, जसले स्थानीय अर्थतन्त्रमा आमुल परिवर्तन गर्न सक्छ।
यो परियोजना कुनै विदेशीको टाढाको कल्पना होइन । यो मेरो वास्तविक अनुभव, स्थानीय जनप्रतिनिधी, पत्रकार तथा समुदायसँगको दीर्घकालीन सम्बन्धहरू, र साइपाल क्षेत्रको गहिरो भौगोलिक तथा सामाजिक बुझाइमा आधारित छ । मैले पश्चिमी नेपालको साइपाल क्षेत्रमा लामो समय कार्य गर्दा स्थानीय जनप्रतिनिधिहरू, गाउँपालिका अध्यक्षहरू तथा क्षेत्रीय अधिकारीहरूसँग यो पहलको सम्भावनाबारे विस्तृत छलफल गरिसकेकी छु। उनीहरूले यसलाई स्वागत गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्।

वर्षौं अघि, मैले साइपाल हिमाल (जुन यो क्षेत्रको प्रतीकात्मक शिखर हो) मा महिलाहरूको समूहसँग पर्वतारोहण अभियान आयोजना गर्ने प्रारम्भिक प्रयास गरें। यो अभियानले स्थानीय महिलाहरूलाई आफ्नै भूमिको मालिक बनाउने उद्देश्य राखेको थियो । यद्यपि त्यतिबेला विभिन्न चुनौतीहरूका कारण अगाडि बढेन, तर यो दृष्टिकोण आज पनि जीवित छ र अझ मजबुत बनेको छ। आज, म यो सपनालाई वास्तविकतामा परिणत गर्न पूर्ण रूपमा तयार छु।
मुख्य परियोजनाः साइपाल माउन्टेन स्कूलको स्थापना
यो परियोजना साइपाल क्षेत्रमा पहाडी स्कूल को स्थापना गर्ने हो। यसको मुख्य फोकस नेपाली महिलाहरूमा हुनेछ । विशेष गरी छाउपडी जस्ता कुरीतिहरूबाट पीडित दिदीबहिनीहरूमा तर यो समुदायका सबै सदस्यहरूका लागि खुला हुनेछः युवा पुस्ता, पुरुषहरू, शिक्षकहरू र उद्यमीहरू समेत। यो स्कूल नेपालको सुदूरपश्चिम जस्ता क्षेत्रहरूमा लैंगिक समानता, दिगो विकास र आर्थिक आत्मनिर्भरताको नमुना बन्नेछ।
स्कूलले निम्नानुसार व्यावहारिक तथा प्रमाणित तालिमहरू प्रदान गर्नेछः
ट्रेकिङ र माउन्टेन गाइडिङ सिप (अन्तर्राष्ट्रिय मापदण्डअनुसार)
पर्वतारोहण सुरक्षा, आपत्कालीन उद्धार र प्राथमिक उपचार
पर्यटन व्यवस्थापन, आतिथ्य सेवा र होमस्टे सञ्चालन
आधारभूत व्यापार, आर्थिक व्यवस्थापन, बजेटिङ र डिजिटल मार्केटिङ


  1. यो केवल व्यक्तिगत सशक्तीकरणको कुरा होइन; यो समग्र स्थानीय अर्थतन्त्रको पुनरुत्थानको प्रयास हो। नेपालको पश्चिमी क्षेत्रहरू विश्वकै उत्कृष्ट हिमाली दृश्यहरूले भरिपूर्ण छन्, तर यातायात, प्रचार र कुशल जनशक्तिको अभावले पर्यटनको चहलपहबाट वञ्चित छन्। स्थानीयहरूलाई तालिम दिएर नयाँ ट्रेकिङ रुटहरू विकास गर्दा, अन्तर्राष्ट्रिय पर्यटकहरू आकर्षित हुनेछन्। यसले साइपाललाई विश्वको पर्यटकीय हब बनाउनेछ ।
    जसको परिणाम स्वरूपः

यस क्षेत्रमा पर्यटक आगमन उल्लेखनीय वृद्धि, हुनेछ । होटल, रेस्टुराँ र ट्रेकिङ कम्पनीहरूको स्थापना हुने छ ।
यस क्षेत्रमा नियमित हवाई उडानहरू र सडक सुधार हुनेछ । जसले बजार पहुँच सजिलो बनाउनेछ
हजारौं नयाँ रोजगारीहरू हुनेछन । (गाइड, कुक, होमस्टे सञ्चालक, हस्तकला) आदि
दिगो आर्थिक प्रणालीको विकास हुनेछ जसले कृषि, जडीबुटी र सांस्कृतिक पर्यटनलाई एकीकृत गर्नेछ
यो परिवर्तन दिगो विकास लक्ष्यहरू (एसडीजी) सँग मेल खान्छ र स्थानीय स्वायत्त शासनलाई मजबुत बनाउँछ।
म यो परियोजनासँग व्यक्तिगत रूपमा गहिरो रूपमा जोडिएको छु। मैले जीवनभर खेलकुद र पर्वतिय क्रियाकलापहरूमा संलग्न रही स्पेनको म्याड्रिड पर्वतारोहण महासंघबाट प्रमाणित पर्वतिय प्राविधिकको योग्यता प्राप्त गरेकी छु। साथै, शिक्षण क्षेत्रमा मास्टर्स डिग्री हासिल गरेकी छु । म साइपालको भूगोल, मौसम, जोखिमहरू र सांस्कृतिक संवेदनशीलता पूर्ण रूपमा जानकार छु । म विश्वास गर्छु हिमालहरु व्यवस्थित गर्दा ल्याइएको ज्ञानले नेपाली महिलाहरूलाई परिवर्तनको इन्जिन बनाउन सक्छ ।


तर यो परियोजना कुनै ठूलो भवन वा पूर्वाधारबाट सुरु हुँदैन। यो एउटा पवित्र यात्राबाट सुरु हुन्छ। म स्पेनबाट नेपालसम्म आफ्नो भ्यानमा लामो यात्रा गर्नेछु । यो यात्रालाई दस्तावेजीकरण गर्दै, बाटोभरि कथाहरू साझा गर्दै, विश्वव्यापी सदभाव समुदाय निर्माण गर्दै साइपाल सम्म पुग्ने छु । विभिन्न देशका दुर्गम क्षेत्रहरू भेट्दै, त्यहाँका महिलाहरूको संघर्ष र आशालाई आवाज दिँदै, सीमापारका भावना जोड्दै यात्रा अघि बढ्ने छ । यो यात्रा स्कूलको प्रथम चरणका लागि चेतना फैलाउने र कोष संकलन गर्ने शक्तिशाली प्लेटफर्म बन्नेछ ।
हामी पूर्ण पारदर्शी क्राउडफन्डिङ अभियान सुरु गर्नेछौं, जसमा प्रत्येक योगदानकर्ताको नाम, रकम र उपयोग सबैलाइ थाहा हुने गरी प्रकाशन गरिने छ । यदि लक्ष्य प्राप्त नभएमा, संकलित सबै रकम साइपाल क्षेत्रको कुनै प्रतिष्ठित स्थानीय संस्था (जस्तै महिला सशक्तीकरण वा पर्यटन विकासमा कार्यरत) मा दान गरिनेछ।

 

म कुनै ठूलो अन्तर्राष्ट्रिय संस्था होइन । म अनुभव सम्पन्न, सम्बन्धपूर्ण र वर्षौंदेखि परिपक्व स्पष्ट दृष्टिकोण बोकेकी एक साधारण व्यक्ति हुँ। तर नेपाली दिदीबहिनीहरूको सम्मान, अवसर र आर्थिक उन्नतिका लागि यो परियोजना आवश्यक छ । तपाईंको साथ र सहयोगले यो सम्भव बन्नेछ।

यो महिलाहरूको मात्र होइन; यो सम्पूर्ण नेपाली समुदायको सम्मान, अवसर र समृद्धिको यात्रा हो । यो दुई संसार (युरोप र हिमालय) लाई जोड्ने मैत्रीको यात्रा पनि हो ।


दृष्टिकोण
दुर्गम हिमाली क्षेत्रहरूमा अवसरहरूको विस्तृत सञ्जाल निर्माण गर्ने, जहाँ नेपाली महिलाहरूले पर्वतारोहण, पर्यटन, स्थानीय स्रोत व्यवस्थापन र उद्यमशीलतामा उच्चस्तरीय तालिम प्राप्त गरी समुदायमा सक्रिय परिवर्तनकारी बन्न सकून् । दीर्घकालमा, साइपाल जस्ता अभावग्रस्त क्षेत्रहरूलाई विश्वस्तरीय दिगो पर्वतिय गन्तव्यहरूमा रूपान्तरण गर्ने, स्थानीय अर्थतन्त्र, रोजगारी, शिक्षा र स्वास्थ्य सेवाहरूको विस्तार गर्दै, सांस्कृतिक पहिचान तथा प्राकृतिक सम्पदाको संरक्षण गर्दै यो यात्राले त्यस क्षेत्रको समृद्धिको नयाँ अध्याय लेख्नेछ।

मिशन
साइपाल क्षेत्रमा आधुनिक माउन्टेन स्कूलको स्थापना तथा सञ्चालन गर्ने, जसले पर्वतारोहण, पर्यटन व्यवस्थापन र स्थानीय स्रोत उपयोगमा प्राविधिक, व्यावहारिक तथा नेतृत्व विकास तालिम प्रदान गर्छ । महिलाहरूको सशक्तीकरणलाई केन्द्रमा राख्दै, हामी निम्न उद्देश्यहरू हासिल गर्न प्रतिबद्ध छौं :
छाउपडी जस्ता हानिकारक सांस्कृतिक कुरीतिहरू अन्त्य गरी लैंगिक समानता स्थापित गर्ने
आयआर्जनका लागि व्यावहारिक कौशलहरू (ट्रेकिङ, गाइडिङ, होमस्टे) प्रदान गर्ने

नयाँ ट्रेकिङ मार्गहरू विकास गरी दिगो पर्यटन प्रवद्र्धन गर्ने

समुदायमा प्रत्यक्ष आर्थिक प्रभाव सिर्जना गर्दै गरिबी निवारण गर्ने
सुदूरपश्चिमका महिलाहरूका वास्तविक संघर्ष र विजयका कथाहरूलाई विश्व मञ्चमा पुर्याउने


यो परियोजना मेरो साइपाल क्षेत्रको पूर्व अनुभव, स्थानीय सरकार तथा समुदायसँगको सहकार्य, र स्पेनदेखि नेपालसम्मको यात्राको वृत्तचित्रात्मक दस्तावेजीकरणबाट पूर्ण रूपमा समर्थित हुनेछ । यो नेपालका हिमालहरूको उज्ज्वल भविष्यका लागि एकजुट हुने एउटा महत्वपुर्ण अवसर हुने र यसमा सबैको उत्साहप्रद साथ, सहयोग र समर्थन प्राप्त हुनेमा म विश्वस्त छु ।

 

आउनुहोस, ‘लुकेको स्वर्ग’ साइपाल क्षेत्रको समृद्धीका लागि हातेमालो गरौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *