
लालबहादुर बोहरा, उप-प्राध्यापक
जयपृथ्वी बहुमुखी क्याम्पस, भोपुर, बझाङ
गत भाद्र २३ र २४ मा भएको जेन-जी आन्दोलनको आलोकमा आम नेपालीको सोच, बिचार, स्थापित मुल्यमान्यता र दृष्टिकोणहरुलाई आमूलरुपमा परिवर्तन गरिदिएको छ। स्थापित राजनीतिक बिचार र संरचनाहरु भत्किएका छन्। लामो समयदेखि तिनले अवलम्वन गर्दै आएका मुल्यमान्यता, सुझबुझ, सिद्वान्त तथा दृष्टिकोणहरु उपर गम्भीर प्रश्नहरु खडा भएका छन् भने राजकाजका महलहरु कतै भग्नावशेष त कतै मरणासन्न हुनेगरी ढलेका छन्। समग्रमा मौजुदा राजनीति र त्यसैको छत्रछायामा हुर्किबढेको अराजनीतिक संस्कार, विकृति, भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद, आदिका खिलापमा त्यो अभूत्पूर्व आन्दोलनले बिषवमन गरिदिएको छ। अँझै महत्वपूर्ण कुरा त राजनीति गर्ने नाममा चप्पल पड्काउँदै गाउँबाट जिल्ला सदरमुकाम र त्यहीबाट राजधानी छिरेका छदमभेषी नेता र तिनका उताउला कार्यकर्ताहरुको उल्लेख्य आयस्रोत विनाको आर्थिक उपार्जन, भडकिलो जीवनशैली, घरघडेरीमा अकुत लगानी र आम सर्वसाधारणमारा प्रवृती उपरको बिद्रोह थियो त्यो।कर्मचारीतन्त्र भित्र बढ्दो दलीय राजनीतिक प्रभाव र त्यसबाट पोषित भ्रष्टचारका बिरुद्द आमरुपमा बुलन्दगरिएको जागरण पनि हो। हामी सबैलाई थाहा छ, जेन-जी जागरण पश्चात दुइठूला दलहरुको सत्तासिन राजकाज बदनियतपूर्णतवरले बिसर्जन भएको छ भने व्यवस्थापिका अन्तर्गतको प्रतिनिधिसभा जबर्जस्त ढंगले बिघटन भएको छ। लोकतान्त्रिक व्यवस्थामा जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुलाई बिस्थापित गरी संवैधानिक व्यवस्था वेगरको नागरिक सरकारले राज्य चलाउनुपर्ने वाध्यता आइलागेको छ। दलीय राजनीति गठन, विघठन र पुनर्गठन हुँदै विनिर्माणको चरणमा छ; परिणामस्वरुप दलहरु बिचको धुर्विकरण, बिभाजन र समायोजनको प्रक्रिया निरन्तर छ। यसै बिचमा संवैधानिक प्रावधान बमोजिम नागरिक सरकारले आगामी फाल्गुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने गरी प्रक्रिया थालनी गरेको छ र सोही बमोजिम राजनीतिक दलहरुले आ-आफ्ना उम्मेदवारहरु चयन गरी चुनावी प्रक्रियामा अगाडि सारेका छन्।
सुदूरपश्चिम प्रदेश अन्तर्गतको दुर्गम हिमाली जिल्ला बझाङमा पनि घोषित निर्वाचन प्रक्रिया बमोजिम राजनीतिक दलहरु चुनावी मैदानमा छन् भने आम नागरिक, सर्वसाधारण, बौद्धिक समुदाय, पत्रकार, आदि सबैले चुलोचौका, आँगनबारीदेखि आ-आफ्ना फोरमहरुमा बढो चाँसो, चिन्ता र उत्सुकताकासाथ बिचार मन्थन गरिरहेका छन्। हुन पनि हो, आम जनताले चुनावमार्फत आफूले चाहेको जनप्रतिनिधि छनोट गर्दा नै बझाङको विकास हुन्छ। आम नागरिकका सरोकारहरु नीतिगतरुपमा निर्माण गरी नियमन गर्न र सम्बन्धित निकायहरुलाई जनउत्तरदायी बनाउँन तिनै जनप्रतिनिधिको अहम भूमिका हुन्छ। आम बझाङवासीका यी र यस्तै सरोकारहरुलाई सम्बोधन गर्नकालागि आगामी निर्वाचनबाट कस्तो जनप्रतिनिधि छनोट गर्दा राम्रो होला? परम्परागत तरिकाले मतदान गर्दा त्यसले के-कस्ता असरहरु पार्ला? विश्वदुनियाँमा आएको राजनीतिक परिवर्तन र त्यसले पारेको रुपान्तरणको प्रभावले नेपालका मतदाताको मनोविज्ञानमा केही असर पार्ला वा नपार्ला? आदि लगायतका बिषय र प्रसङ्गको सेरोफेरोमा रहेर मैले यो लेख लेख्ने अनुमति चाहन्छु।
कुरा सुरु गरौं बझाङी मतदाताको राजनीतिक चेतनास्तर, दलीय आचरण र दलहरुका चुनावी प्रचारशैलीका बारेमा। भौगोलिक हिसाबले बझाङ जिल्ला निकै विकट छ। यहाँका गाउँबस्तिहरु बिछट्टरुपमा छरिएर रहेका छन्। साइपाल गाउँपालिका बाहेक अन्य पालिकाहरुमा यातायातको सुविधा पुगेको भएता पनि अशिक्षा, गरिवि, पछौटेपन, रुढिवादीग्रस्त सोच, रैथाने विश्वास, आदिका कारण अधिकांश बझाङवासीको राजनीतिक चेतनास्तर आजको २१औं शताब्दीमा हुनुपर्ने जति छैन। अघिल्लो स्थानीय चुनावको एउटा अविश्मरणीय घट्ना म यहाँ राख्न चाहन्छु। नाताले आफ्नै भान्जा लाग्ने एउटा अमुक पार्टीको उम्मेदवार मामाघरको घरदैलोमा गएछन्। उता मामामाइजुको घरपरिवार फरक दलमा आवद्ध भएकाकारण भान्जालाई घरभित्र स्वागत गर्न समेत अन्कनाए। उहाँहरु कानेखुशी गर्दै थिए रे, “भान्जा, छिटो यहाँबाट टाढा गइहाल, हाम्रा पार्टीका मान्छेले तपाँइ आएको थाहा पाए भने हाँमीलाई बसिखान दिन्नन्”।
“अब गम्भिर भएर सोच्ने बेला आएन र, हाँमी बझाङीहरु यस्तै राजनीतिक चिन्तनका लास र दास बन्नेकि राजनीति भन्दा माथि उठेर समाजसेवा, भाइचारा, सद्भाव, सामाजिक एकता, आदिलाई प्राथमिकतामा राख्दै सभ्य नागरिक भएर अगाडि बढ्ने?”
यति सम्मकी पारिवारिक सम्मरणकालागि संगै बसेर फोटो खिच्ने अनुमति माँग्दा समेत त्यो सम्भव भएन रे। मामामाइजु डराइ डराइ भन्दै थिए रे “हाम्लाई थाहा छ, हाँउरा फोटा फेसबुकमी राखिवर दुनियाँमी बदनाम अर्न्या बिचार होला। नाँई नाँई नाँई तसो अद्धाइ नअर”। यथार्थरुपमा भन्दा यो त एउटा प्रतिनिधि घट्ना मात्र हो। यसखालका रैथाने र रुढिवादी सोचाई तथा प्रबृत्तिहरु तमाम छन्। साँच्चै दलगत आबद्धताकाकारण कतिपय गाउँबस्तीहरुमा आपसी बोलचाल र स्थानीय पर्मकर्महरु समेत बन्द हुनेगरेका उदाहरणहरु प्रसस्त छन्। कहिँकतै त जिउँदाको जन्ति र मर्दाको मलामी जानआउँन समेत बन्द हुन्छन्। अँझैसम्म पनि समुदायका कतिपय सर्वसाधारणहरु दलीय आवद्धतालाई पुर्खेउली सम्पति र कृर्पा, कुलदेवताको आशिर्वाद, बुढापाकाको चिनारी, माटोको खेति, उहिलेको इतिहाँस, आदिकारुपमा समेत बुझ्ने गर्दछन्। अँझ यसरी बुझौं यहाँका दलहरुले त्यो गाउँ/समुदाय अलानो दलको, उ बस्ती फलानो दलको, उ पर त्यो समुदाय हाम्रो दलको, आदि भनेर समेत कित्ताकाट गर्ने गरेका छन्। गाउँघरमा हुने यसखालका अराजनीतिक संस्कारहरुलाई स्वयं स्थानीय र जिल्लागत दलहरुका नेतृत्वले नै मलजल गर्दा बझाङका गाउँबस्तीहरु विकृत हुँदै गएका छन्। अब गम्भिर भएर सोच्ने बेला आएन र, हाँमी बझाङीहरु यस्तै राजनीतिक चिन्तनका लास र दास बन्नेकि राजनीति भन्दा माथि उठेर समाजसेवा, भाइचारा, सद्भाव, सामाजिक एकता, आदिलाई प्राथमिकतामा राख्दै सभ्य नागरिक भएर अगाडि बढ्ने?
विश्वदुनियाँ दिन दोगुना रात चौगुनाका तवरले बदलिरहेको छ। परम्परावादी समाज अदलबदलसहित आधुनिकता, अत्याधुनिकता हुँदै प्रविधियुक्त कालखण्डमा रुपान्तरण भएको छ। यसका प्रभावहरु दुनियाँको राजनीति र त्यसका अवयवहरुमा समेत तरंगित भइरहेका छन्। अव नेपालको राजनीति पनि हिजोभन्दा आज र आजभन्दा भोलि रुपान्तरण भइरहेको छ। दुर्गम हिमाली जिल्ला बझाङ पनि त्यसबाट अछुतो रहन हुँदैन र सक्दैन पनि। त्यसैले यसपटकको प्रतिनिधिसभाको चुनावमा आम बझाङवासीले आफ्नो राजनीतिक आचरण, रैथाने सोचबिचार, मत अभिव्यक्त गर्ने परम्परागत चालचलन, आदिलाई फेर्नैपर्ने दिखिन्छ। दल पुराना हुन् वा नयाँ त्यसले आमरुपमा फरक नपर्न सक्छ तर ती दलहरुको बिरासत कस्तो छ र आजको परिवर्तित धारलाई ती दलहरुले कत्तिको आत्मसाथ गरेका छन्, त्यसलाई भने मिहिन ढंगले मूल्याङ्कन गर्नैपर्छ। देशमा बढ्दो व्यतिथि छ। भ्रष्टचार झाङ्गिएर शुसासन नाङ्गिएको छ; परिणामस्वरुप दलीय नेताहरु र तिनका कार्यकर्ताहरु राजकाजमा मस्त छन् भने आम सर्वसाधारण जनताहरु अस्तव्यस्त जीवन जिउँन बाध्य छन्। बढ्दो बेरोजगारीकाकारण युवा जनशक्ति निराश देखिन्छन् र बिदेशमा पलायन हुन बाध्य छन्। यस्तै यथार्थता बझाङमा पनि व्याप्त छ। तर नेपाली समाजको यो दर्दनाक अवस्थालाई कतिपय पुराना दलहरु र तिनका अगुवा नेताहरु अँझैपनि आत्मसाथ गरेर अगाडि बढ्न ढिलढाल गरिरहेका छन्। त्यसैले होला बढ्दो व्यथितिको आलोकमा चुलिएको जेन-जी आन्दोलनको मर्मलाई बुझेर सम्मान गर्नुको साँटो अपमानपूर्ण व्यवहार र शब्दबाणमार्फत सम्बोधन गरिरहेकै छन्। यसबाट प्रष्ट हुन्छ ती कतिपय दलहरुको नीति र नियतमा गम्भीर खोट छ। त्यसैले त आम बझाङबासी मतदाताहरुले यसपटक मतदानका क्रममा बढो सचेतनापूर्वक सोच्न, बिचार्न र मतदान गर्न आवश्यक छ।
देशभर झैं बझाङमा पनि दलहरुले चुनावताका बिगतमा आकर्षक र मतदाताका मन लोभ्याउने नाराहरु ओकले। रंगीचंगी र उताउला घोषणापत्र तथा पर्चापम्पलेटमार्फत प्रचारप्रसार र घरदैलो अभियान चलाय। तिनकै आलोकमा स्थानीय तहदेखि प्रदेश र संघीयतहमा जनप्रतिनिधिहरु निर्वाचित भएर गए पनि। तर एकपटक सोचौं त! तिनीहरुले के पाए र हामीले के गुमायौं? मलाई लाग्छ, तिनीहरुले सरकारी आनामाना पाए, चढ्नलाई गाडी पाए, देखाअनदेखा कार्यकर्ताहरुलाई पोष्न योजना वितरण र खरिदबिक्रिमार्फत रकम पाए। तर आम बझाङबासी मतदाताले भ्रष्टचारीहरुको अनुहार हेर्न पाए, चुनावताका मासुभात त चुनाव पछि बेरोजगारी, अपमान, असुरक्षित जनजीवन पाए। बिशेष गरी प्रदेश सरकारबाट त योजनाहरुको १० प्रतिशत देखि २५ प्रतिशत सम्मको खरिदबिक्री पाए। आफूले नै निर्वाचित गरेका जनप्रतिनिधिहरु, निकटस्थ कार्यकर्ता तथा कर्मचारीहरु त्यो रसातलमा डुबेको पाए, आदि आदि। त्यसैले अवको प्रतिनिधिसभाको निर्वाचनमा यी र यस्तै यावत गतिविधिहरु सम्झदै, सम्झाउँदै र भावि दिनहरुमा पश्चताप गर्नु नपर्ने गरी मतदान गर्नकालागि आम बझाङबासी तयार हुनुपर्नेछ।
निकटासन्न प्रतिनिधिसभाको निर्वाचनमार्फत हामी बझाङबाट सही दल र जनप्रतिनिधि चयन गरेर जिल्लालाई नयाँ जीवन पनि दिन सक्छौ। दुर्गम, अविकसित र विकटताको बिरासत बोकेको बझाङलाई सुगम र विकासन्मुख जिल्लाकारुपमा पनि रुपान्तरण गर्न सक्दछौं। अशिक्षा, गरिबी, बेरोजगारी र असुरक्षित जीवनशैली भएको जिल्लाको स्वरुपलाई गुणस्तरीय शिक्षा, सम्पन्नता, रोजगारीयुक्त र सुरक्षित जीवनशैली भएको हिमाली जिल्लाकारुपमा पनि पहिचान गराउँन सक्दछौ। यी सबैकुरा सम्भव त्यतिबेला हुनेछन जब हामी हाम्रा सुबिचारित र राजनीतिक संस्कार भएका दल तथा जनप्रतिनिधिहरु चयन गर्न सक्नेछौं। निर्वाचित हुँदै गरेका जनप्रतिनिधि र दलमार्फत हामी तपसिलका सवालहरु सम्पादन भएको हेर्न चाहन्छौ।
बझाङमा हाल बाह्रवटा स्थानीय तहहरु छन्। ती स्थानीय तहहरु आफैमा स्वाधिन र एकलरुपमा अगाडि बढेका देखिन्छन्। ती सबैलाई संयोजन गर्ने जिल्ला समन्वय इकाई त छ तर जिल्लाका साझा सवालमा नेतृत्वदायी भूमिका निर्वाह गरेर बझाङको विकासकालागि प्रभावकारी कदम चाल्न हालसम्म असमर्थ छ। त्यसलाई अभिभावकत्व दिन संघ र प्रदेशतहका माननीयहरुको अहम भूमिका हुनसक्दछ। उदाहरणकालागि बझाङमा हालसम्म एउटा पनि उद्योगधन्दा छैन। प्रत्यक स्थानीयतहबाट कम्तिमा एक करोड भन्दा बढी रकम जिल्लाको साझा कोषमा जम्मा गरी त्यसैमा प्रादेशिक र संघीयतहबाट प्राप्तहुने सांसद विकास कोषबाट दुइचार/दुइचार करोड र अन्य दातृ निकायबाट केही रकम जम्मा गरेर सबैको साझा अपनत्व हुनेगरी केही संख्यामा उद्योगहरु संचालन गर्न सकिन्छ। त्यसकालागि प्रत्यक स्थानीय तहबाट समानुपातिक हिसाबले निश्चित संख्यामा जनशक्ति खपत गरी एकातर्फ रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ भने अर्कोतर्फ जिल्लामै उत्पादन भएको मालसामान जस्तै पिउने पानी, साबुन, चाउचाउ वा अन्य कुनै सुलव मूल्यमा आम बझाङबासीले उपभोग गर्न पाउँछन्। यसलाई निरन्तरता दिदा जिल्ला बाहिर समेत खपत गरेर जिल्लाको आयस्रोतलाई बढाउन सकिन्छ। अर्को कुरा, बझाङमा प्रसस्त मात्रामा ढुङ्गा खानीहरु छन्। प्रत्यक स्थानीय तहको पहलमा यहाँका ढुङ्गाहरुलाई निश्चित आकारमा बटुलबाटुल गरी जिल्ला भित्र र बाहिर बेचबिखन गर्न सकिन्छ ताकि तराइबाट प्रतिबर्ष करोडौं मुल्य पर्ने इटाको आयातलाई बिस्थापित गरी जिल्लाको आयस्रोत बढाउन सकियोस्।प्रतिदिन जसो दर्जनौं मालबाहक ट्रकहरु तराइ हुँदै मालसामानसहित बझाङ भित्रिन्छन् र रित्तै बझाङबाट फिर्ता हुन्छन्। बझाङमा उत्पादन हुनसक्ने औद्योगिक सरसामाग्रि, बटुलबाटुल गरेका ढुङ्गाहरु, स्थानीय उत्पादनहरु, आदि रित्तै फर्किने ती ट्रकहरुमा बझाङ बाहिर पठाउन सके बझाङ भित्रने सामाग्रिको भाडादर कम हुनगइ आम बझाङबासीले सस्तोमा उपभोग्य सामाग्रीहरु उपभोग गर्न सक्थे होलान्।
बर्षौं अघि देखि कटानगर्न सुरु गरिएको चैनपुर-ताक्लाकोट सडक जसलाई पश्चिम नेपालकै मुख्य गन्तव्यकारुपमा लिइन्छ त्यसको निर्माण कार्य हालसम्म अनिश्चित छ। यसै राजमार्गको सेरोफेरोमा रहेर विगतमा यहाँका राजनीतिक दलहरुले आ-आफ्ना चुनावी एजेण्डा बनाए र बनाइरहेका छन् पनि तर निर्वाजित भए पश्चात गर्नुपर्ने जिम्मेवारीबाट जनप्रतिनिधिहरु बिमुख हुँदा हालसम्म त्यो बहुआयामिक योजना जहाँको त्यही छ। अवस्थितिका हिसाबले बझाङ विकट छ तर यहाँको प्राकृतिक सौन्दर्य, भू-बनोट, साँस्कृतिक सम्पदा, आदिका हेतु पूर्णरुपमा सम्पन्न छ। त्यो सम्पन्नतालाई पर्यटन व्यवसायसंग जोडेर विकास गर्न सके समग्र जिल्लाको विकास असम्भव छैन र हुन्न पनि। जिल्ला सदरमुकाम, चैनपुरसहित बझाङमा दर्जनौं सानाठूला बजारहरु जस्तै तल्कोटको खौलाबजार, तमैल, झोताबजार, देउराबजार, भाँडेबजार, बागथला, सुनकुडा बजार, देउलेक, बिथ्थड, बिसौंनाचौर, आदि छन्, तर हालसम्म ती बजारहरुलाई व्यवस्थित गर्न जिल्लासंग कुनै योजना नै छैन। यसबारेमा कहिँकतै बहस र छलफल भएको समेत सुनिदैन। आखिर जिल्लाको पहिचान त यहाँको सभ्यता, व्यवस्थित बसाइ र बजारीकरणसंग जोडिएला। तर त्यसको सुरुवात अव नगरे कहिले गर्ने?बझाङको शिक्षा, स्वास्थ्य र यातायात पनि हालसम्म न त गुणस्तरीय छ न सुरक्षित नै। यसका बारेमा पनि मिहिन ढंगले छलफल र बहस गरी उचित सम्पादन गर्न ढिला भएन र? बझाङका सार्वजनिक संघ/संस्था र निकायहरुमा खुलमखुला व्यथिति र भ्रष्टचार छ। सरोकारवाला निकाय र जनप्रतिनिधिहरु दुधको साक्षी बिरालो झैं भएर कालेकाले मिलेर खाँउ भालेको चित्रण गर्दैछन्। यसबारेमा खोजबिन गरी राज्यका अंगहरुलाई पारदर्शी र जवाफदेही बनाउँन अब ढिला भएन र?
माथि उल्लेखित सवालहरु त केवल प्रतिनिधिमुलक उदाहरणमात्र हुन। दर्जनौं अन्य सवालहरु पनि बझाङको विकास र समृद्धिकालागि आवश्यक होलान् र छन् पनि। यी सबै सवालहरुको उचित कार्यान्वयनसहितको जवाफकालागि मुख्यगरी निर्वाचित जनप्रतिनिधिहरुको अहम भूमिका हुन्छ। ती मध्य पनि बझाङबाट निर्वाचित हुने संघीय सांसदको अझ बढी दायित्व हुन्छ किन भने ईच्छाशक्ति, अनुभव र विकासप्रेमी भएको व्यक्तिले नै स्थानीयतहहरुलाई सहीरुपमा दिशानिर्देश गर्न सक्छ। राज्यको लगानीको हिसावकिताब राखेर शुसाशनको प्रत्याभुति दिनसक्छ। त्यसैले आउँनुहोस, आसन्न निर्वाचनबाट बझाङका यी र यस्तै सवालहरु उठान र निवारण गर्न सक्ने दल र जनप्रतिनिधिको खोजि गरी निर्वाचित गरौं।
अन्तमा, आम बझाङबासी मतदाताहरुले मतदान गर्नुपूर्व एकपटक राम्ररी समिक्षा गरौं। हाम्रा स्थापित र नयाँदलहरुका बिगत र आगत हेरौं। हरेक दलले अगाडि सारेका उम्मेदवारहरुका आचरण, व्यवहार, आनिबानी र भावि योजनाहरु के-कस्ता छन? ती बारेमा पनि सुबिचारित ढंगले सुझबुझ गरौं। तत्कालको ओभानो र न्यानो प्राप्तिका आधारमा हैन वर्तमान सहित भावि पुस्ताको भविश्य सुनिश्चित गर्न सक्ने दल र उम्मेदवारको खोजी गरौं। त्यसका लागि आम सामाजिक संजालमा हुनेगरेका बहसहरु केलाउँ। देशव्यापी मतदाताका अभिव्यक्तिहरु के-कस्ता छन्, त्यसबारेमा पनि जानकारी राखौं। हरेक गाउँटोल र समुदायमा रहेका खाँटी दलीय कार्यकर्ता भन्दा पनि स्थानीय समाज र विश्वको बदलिदो परिवेशलाई बुझेका समाजसेवी, बौद्धिक समुदाय, अधिकारकर्मी, आदिका बिचारहरु सुनौं र मनन गरौं। तत्पश्चात मात्र आफ्नो अमुल्य मतदानकालागि तयार बनौं।
