बझाङ : झण्डै दुई तिहाइ जनमत पाएको कम्युनिष्ट नेतृत्वले जनताको भरोसामाथि धोका दिएको नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले आरोप लगाएका छन् ।
केही समयअघि भएको नेपाल कम्युनिष्ट पार्टीको एकतालाई स्मरण गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जनताको शिरमा ‘चिसो पानी खन्याउने’ काम गरेको बताए ।
बुधबार बझाङ सदरमुकाम चैनपुरमा नेपाली कम्युनिष्ट पार्टीले आयोजना गरेको ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै रावलले विकास र समृद्धिको अपेक्षासहित जनताले झण्डै दुई तिहाइ मत दिएको बेला संसद् विघटन हुनु जनमतको अपमान भएको टिप्पणी गरेका छन् ।
उनले प्रधानमन्त्रीको पहिलो दायित्व देशको सिमाना र जनताको सुरक्षा गर्नु हुनुपर्ने भए पनि सिंहदरबार, अदालत र संसद् भवनमा आगलागी हुँदा प्रधानमन्त्री हेलिकप्टरमार्फत भागेको आरोप लगाए ।
संकटको घडीमा जनताको रक्षा नगर्ने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न नसक्ने व्यक्तिलाई फेरि नेतृत्व दिनु गलत हुने उनको भनाइ थियो ।
रावलले भने, ‘संकटमा भाग्नेलाई कि त भगौडा भन्नुपर्छ, कि त नेतृत्व मान्न छाड्नुपर्छ ।, जनताको सुरक्षा र देशको रक्षा गर्न नसक्ने नेतृत्वलाई स्वीकार गर्न सकिँदैन ।’
देशको सार्वभौमिकता र जनताको सुरक्षाका लागि १६ वटा पार्टी र समूह एकजुट भएर अघि बढेको उल्लेख गर्दै उनले सबैलाई विश्वास गरेर नेपाली कम्युनिष्ट पार्टीमा गोलबद्ध हुन आग्रह गरेका छन ।
