राजनीतिक प्रश्नको जवाफ दिन तयार छौँ : नेता भट्ट

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : नेपाली कम्युनिष्ट पार्टीका नेता खगराज भट्टले पछिल्लो समय राजनीतिक दल र नेताहरूमाथि उठेका प्रश्नको जवाफ दिन आफूहरू तयार रहेको बताएका छन् ।

बझाङ सदरमुकाम चैनपुरमा बुधबार आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले जनतामा देखिएको आक्रोश र असन्तुष्टिलाई बेवास्ता नगरी समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता जनाए ।

भट्टले राजनीतिक नेतृत्वमाथि लाग्दै आएका आरोप र आलोचनालाई आत्मालोचनाका रूपमा लिइने बताए । ‘यी सबै प्रश्न, आरोप र समस्याको जवाफ दिन र समाधान खोज्न हामी तयार छौँ ।,’ उनले भने, ‘त्यसैले सबैलाई नेपाली कम्युनिष्ट पार्टीमा गोलबद्ध हुन आग्रह गर्छु ।’

उनका अनुसार पार्टीले सुशासन, जवाफदेहिता र जनजीविकासँग जोडिएका सुधारका कामलाई प्राथमिकतामा राख्नेछ । भट्टले भने, ‘जनताले चाहेका सुधारका एजेन्डामा अझै सक्रिय र अग्रसर भएर काम गर्नेछौँ ।,’

कार्यक्रममा सहभागी नेताहरूले जनतासँग प्रत्यक्ष संवाद गर्दै विश्वास पुनःस्थापित गर्नु नै वर्तमान राजनीतिको मुख्य आवश्यकता रहेको बताए । पार्टीले आगामी दिनमा जनआवाजलाई नीतिगत निर्णयमा प्रतिबिम्बित गर्ने दाबी पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *