मेरो नातीले हिमाल देख्न पाउला त ? साईपालबाट देखिएको जलवायु परिवर्तनको कथा

विचार/विविधा सुदुरपश्चिम

हरिश अवस्थी

मेरो घर बैतडी हो । मेरो बाल्यकाल दार्चुला र बझाङका हिमालहरू हेर्दै बित्यो । ती सेता, उज्याला, अनि चम्किला हिमालहरू मेरो आँखामा अझै जीवित छन् । बिहानको घाममा हिमालको चहक आज पनि सम्झँदा मनै रोमाञ्चित हुन्छ । हिमाल केवल पहाड मात्र होइन, हाम्रो संस्कृति, जीवनशैली, अर्थतन्त्र र आस्थाको प्रतीक पनि हो ।
अहिले म साईपाल हिमालको फेदीमा उभिएर ती पहाडहरू हेर्छु, तीन दशक अघिको सम्झनासँग तुलना गर्दा दृश्य निकै बदलिएको छ। पहिले जसरी टहकिला हिमालहरूले आकाशसँग मिलेर हाम्रो गाउँको जीवन उज्यालो बनाउँथे, अहिले त्यहाँ केवल कालो ढुंगा मात्र देखिन्छ । हिमरेखा स्पष्ट रूपमा माथि सरेको छ ।
मेरो छोराको उमेर अहिले करिब दुई वर्ष मात्र छ । जब ऊ तीस वर्षको हुनेछ, तब दार्चुला, बझाङका अपि र साईपालका हिमाल कस्तो देखिने हुन् भन्ने कुरा मेरो मनमा बारम्बार खेल्छ । के उसले पनि मेरो बाल्यकाल जस्तो सेता, चम्किला हिमाल देख्ला ? वा केवल कालो पहाड र माटो मात्र सम्झनेछ? के मेरो नाती–नातिनीले पनि ती पहाडहरू हेर्दा उही आश्चर्य र खुशी महसुस गर्लान? कि केवल फोटो रमाउलान ? मलाई अहिले नै सुपर एचडी फोटो खिचेर भविष्यका पुस्ताका लागि बचाएर राख्नु छ । ताकि उनीहरूले मेरो बाल्यकाल जस्तो प्राकृतिक सौन्दर्य अनुभव गर्न सकून । हिउँको चमक, चोटीहरूको उज्यालो,े र आकाशको निलो रंग। तर यो विचारले मात्र हृदयलाई शान्त पार्दैन । मन गहिरो पीडा र चिन्ताले पनि भरिदिन्छ । किनभने मैले बुझेको छु, प्राकृतिक दृश्य परिवर्तन हुनु केवल दृष्टि र सौन्दर्यको कुरा मात्र होइन, यो जीवन, पानी, कृषि, र भविष्यका पुस्ताको अस्तित्वसँग जोडिएको गहिरो चिन्ता हो।
हिमालले मलाई, मेरो छोरालाई, र मेरा नाती–नातिनीलाई के देखाउने छन? यो प्रश्न मेरो मनमा बारम्बार गुन्जिरहेको छ। म सोच्न बाध्य छु, हामीले आफ्नो पृथ्वीलाई बचाउन सक्यौं भने मात्र, ती हिमाल भविष्यमा पनि सेता, उज्यालो र चम्किला देखिनेछन्। होइन भने, केवल सम्झनामा मात्रै बाँकी रहनेछन्।
साईपाल, बझाङमा माघ सुरु भइसकेपछि पनि हिउ परेन । मंसिरमै अपेक्षा गरिएको हिउँ माघ १० गते मात्र प¥यो। बाल्यकालमा मंसिरमै घरको आँगनबाट हेर्दा हिमालहरू बाक्लो सेतो हिउँले ढाकिएका हुन्थे। बिहानको घामसँगै चम्किने ती हिमालहरू आज भने कालो पहाड झैँ देखिन थालेका छन्।
मेरो आँखाले देखेको यो परिवर्तन कुनै कल्पना होइन तितो यथार्थ हो । तिन दशकमै आएको परिवर्तन ले म आफैंसँग प्रश्न गर्छु—मेरो नाती÷नी ले हिमाल देख्ला कि नदेख्ला?
बदलिँदो हिमाल र व्यक्तिगत अनुभूति
बाल्यकालका यादहरू आज फेरि आँखामा आइरहेका छन्। म बिहान उठेर घरको आँगनबाट त्यो सेतो हिमाल हेर्थेँ। हिउँको उज्यालोमा घाम टल्किएको देख्दा मुटु खुशीले भरिन्थ्यो। तर अहिले त्यही दृश्यले मलाई चिन्तित बनाएको छ। साईपालका एकजना जेष्ठ नागरिक कुलभान बोहरा भन्छन्, “हामी सानो हुँदा पुसमा हिउँ नपरेको कल्पना गर्न सकिँदैनथ्यो तर अहिले माघमा आएर बल्ल हिऊ प¥यो र त्यो पनि एकदमै थोरै“। हिमालको सेतो रूप हराउँदैछ।
साईपालका बासिन्दा अब पानी, कृषि, र घर–परिवारको लागि पनि भविष्यप्रति चिन्तित छन्। माघ सुरू हुदा पनि हिउँ नपरेपछि हिउँ पर्ने आशामा भ्यागुताको बिहे गरियो र संयोगबस हिऊ पनि प¥यो। हिउ पर्दाको खुसी स्पष्ट देख्न सकिने गरि अनुहारमै आयो । हिमाल केवल भौगोलिक संरचना होइन, यो समुदायको जीवनशैलीको आधार हो।
पछिल्ला ५० वर्षमा विश्वव्यापी तापक्रम करिब १ डिग्री ले बढेको छ। यसले गर्दा हिमालमा हिऊको मात्रा स्पष्ट देखिने गरि घटिरहेको छ । हिमालयका ग्लेशियरहरूले १५–३०% द्रव्यमान गुमाएका छन। स्थायी हिउँको रेखाः २००–४०० मिटर माथि सरेको र मौसमी हिउँद प्रति दशक १५–२५ दिन घटेको छ।
धेरै नयाँ हिमताल बनेका छन र ताल फुट्ने तथा बाढिको जोखिम बढेको छ । नदि प्रवाह अनियमित बनेको छ र पानीको प्रवाहमा आधारित अर्थतन्त्र जस्तै जलविद्युत को भविष्य समेत जोखिमपुर्ण बनेको छ । किनकी अबको ५० वर्षपछि कस्तो अवस्था हुन्छ भनेर अनुमान गर्न कठिन छ ।
स्थानीय अनुभव र पत्रकारिता
पत्रकार वसन्तप्रताप सिंहले साईपाल र आसपासका हिमाली क्षेत्रको परिवर्तनलाई निरन्तर रिपोर्ट गर्दै आएका छन्। उनका रिपोर्टहरूले देखाउँछन् कि । वर्षा अनियमित हुँदा बाली उत्पादन घटेको छ । बाढी र पहिरोको घटनामा व्यापक वृद्धी भएको छ । स्थानीय बासिन्दाहरू अब सुक्खा, अनियमित मौसम, कृषि संकट र स्वास्थ्य जोखिम जस्ता समस्यासँग जुधिरहेका छन्। बाली समयमै पाक्दैन । असिनापानी र खडेरीले उत्पादन घटाउँदैछ । हिमनदी घट्दा सुक्खा समयमा पानीको चरम अभाव स्थानियले भोगिरहेका छन ।
ग्लोबल वार्मिङको गति र प्रभाव बुझ्न क्यालकुलस अत्यन्त उपयोगी छ। डिफरेन्सियल क्यालकुलसले परिवर्तन को दर मापन गर्न सघाउछ । अर्को एक दशक वा अझै लामो समयको परिवर्तन अनुमान गर्न पुरानो तथ्याङ्कलाई राम्रोसँग विश्लेषण गर्न सघाउछ भने इन्टिग्रल क्यालकुलस को सहायलेले सञ्चित परिवर्तन  बारे बुझ्न सघाउछ। यसरी गणितीय मोडलिङ को सहायताले हेर्दा पनि अबका दिनमा झनै तीब्र परिवर्तन हुने अनुमान गर्न सकिन्छ । यि जोखिमहरु घटाउनका लागि संयुक्त राष्ट्रसंघ लगायत निकायले विश्वव्यापी पहल र ऐक्यबद्धताको लागि निरन्तर पैरवी गर्दै आएका छन , यद्यपी शक्तीराष्ट्रहरुको आडम्बरले गर्दा यस्ता पहलमा पनि बेला बेला अड्चन खडा भैरहेकाछन ।
यदि हालको गति जारी रह्यो भने हिमनदी हराउने छ । धर्तीलाई ढाकेको हिउँको आवरण घट्ने छ । नदीको पानी सुक्ने, कृषि, जल, जीवनशैली सबै प्रभावित हुनेछ । आजको कदमले मात्र भविष्य सुरक्षित गर्न सक्छ । तर नेपाल जस्तो देशले मात्र यसमा केहि गर्न सक्ने अवस्था देखिँदैन। हामि पिडित हौ, पिडक होइनौं ।
विश्वका नेताहरूको दृष्टिकोणले हामीलाई ग्लोबल वार्मिङको गम्भीरता र समाधानका विकल्प दुवै देखाउँछ । केही नेता सक्रिय रूपमा परिवर्तनको आवाज उठाउँछन् भने केहीले वैज्ञानिक चेतावनीप्रति शंका व्यक्त गर्छन्।
संयुक्त राष्ट्रसंघ महासचिव एन्टेयिो गुटेरेसले बारम्बार चेतावनी दिएका छन्, “हामी जलवायु विपद्को किनारमा छौं। मानव गतिविधिले गर्दा तापमान तीव्र गतिमा बढिरहेको छ।” उनको अनुसार समाधानका उपायहरूमा कार्बन न्यूट्रालिटी, नवीकरणीय ऊर्जा, जीवाश्म इन्धनमा रोक र अन्तर्राष्ट्रिय सहकार्य मुख्य हुन्।
चीनका राष्ट्रपति सि जिङपिङले जलवायु परिवर्तनको चुनौती स्वीकार गरेको छन । चीनको लक्ष्य सन् २०३० सम्म कार्बन उत्सर्जन बढ्न नदिने र २०६० सम्म शून्य उत्सर्जन प्राप्त गर्नु हो। यसका लागि नवीकरणीय ऊर्जा, परमाणु ऊर्जा, र वन संरक्षणलाई प्राथमिकता दिइएको छ।

भारतले बाढी, गर्मी लहर, र हिमनदी पग्लिने खतरा भोगिरहेको छ। मोदीले ५०० गिगावाट नवीकरणीय ऊर्जा लक्ष्य २०३० सम्म पुरा गर्ने योजना अघि सार्नुभएको छ। साथै अन्तर्राष्ट्रिय सोलार एलायन्स मार्फत सूर्य–ऊर्जामा सहकार्यलाई बढावा दिइएको छ।
फ्रान्सका राष्ट्रपति एमाुनुएल म्याक्रोनले जलवायु परिवर्तनलाई सभ्यता चुनौती भन्दै, जैविक विविधता र चरम मौसमको प्रभावमाथि जोड दिएका छन्। उनले कार्बन मूल्य निर्धारण, नवीकरणीय ऊर्जा र अन्तर्राष्ट्रिय कूटनीति मार्फत समाधान खोज्ने प्रयास अघि सारेका छन्।
तर अमेरिकी राष्ट्रपति ट्रम्पले प्रायः मानव–जनित जलवायु परिवर्तनमा शंका व्यक्त गरेका छन्। उनले यसलाई कहिलेकाहीँ “होक्स” (धोखा) भनेर पनि उल्लेख गरेका थिए । उनको प्रशासनले जिवाश्म इन्धन उद्योगलाई प्राथमिकता दियो र पेरिस सम्झौता २०१७ मा त्याग गरिदिएको छ । अमेरिका नै जलवायु परिवर्तनलाई स्वीकार गर्ने पक्षमा नहुनु निकै ठूलो चुनौती हो ।
हिमाल आज बोल्न सक्दैनन्।
तर पग्लँदै हामीसँग प्रश्न गरिरहेका छ ।
के तिमीहरूले हामीलाई बचायौ?
हामीले आफ्ना नाती–नातिनीको आँखामा हेरेर उत्तर दिनुपर्नेछ।
ऊनिहले हिमाल देख्न पाऊनेछन वा छैनन। मेरो नातीले हिमाल देख्ला कि नदेख्ला?
ग्लोबल वार्मिङ नेपालको लागि अझैसम्म गम्भीर चुनावी एजेन्डा बन्न सकेको छैन। फागुन २१ गते हुन लागेको निर्वाचनको प्रचार–प्रसारका क्रममा विकास, रोजगारी, सडक, पुल, र तत्काल देखिने विषयहरूमा त धेरै भाषणहरू सुनिन्छन्, तर जलवायु परिवर्तन, हिमाल पग्लिँदै गएको यथार्थ, पानीको संकट, र भविष्यका पुस्तामाथि पर्ने असरबारे भने लगभग मौनता छ। यो मौनता आफैंमा चिन्ताजनक छ।
विडम्बना के छ भने, ग्लोबल वार्मिङको मुख्य कारक हामी होइनौं। नेपालजस्तो देशको कार्बन उत्सर्जन विश्व स्तरमा नगण्य छ। तर यसको सबैभन्दा ठूलो मार भने हामीले भोगिरहेका छौं—हिमनदी पग्लिँदैछन्, हिमताल फुट्ने जोखिम बढेको छ, बाढी, पहिरो, खडेरी र अनियमित मौसमले हाम्रो कृषि, जलस्रोत र जनजीवन प्रत्यक्ष प्रभावित बनाइरहेको छ। दोष अरूको, पीडा हाम्रो—यो नै नेपालको यथार्थ हो।
यस्तो अवस्थामा जलवायु परिवर्तन केवल वातावरणीय विषय होइन, यो राष्ट्रिय अस्तित्व, आर्थिक भविष्य र सामाजिक सुरक्षासँग जोडिएको राजनीतिक मुद्दा बन्नुपथ्र्यो। तर दुर्भाग्यवश, यो विषय न त चुनावी घोषणापत्रमा प्राथमिकताका साथ समेटिन्छ, न त जनताको मत माग्ने भाषणहरूमा गम्भीरताका साथ उठाइन्छ । राजनीतिक नेतृत्वले आज बोलेन भने भोलि बोल्न ढिला भइसकेको हुन सक्छ।
नेपालले अब विश्व मञ्चमा पीडित राष्ट्रको रूपमा स्पष्ट र मजबुत आवाज उठाउनुपर्छ। ग्लोबल वार्मिङबाट भएको क्षतिको क्षतिपूर्ति केवल सिद्धान्तमा होइन, व्यवहारमै लागू हुने गरी माग गर्नुपर्छ। कार्बन व्यापार, जलवायु वित्त, हरित प्रविधि हस्तान्तरण र अनुकूलन कोषमा नेपालको हक सुनिश्चित गर्न कूटनीतिक रूपमा दबाब सिर्जना गर्नुपर्छ। हिमालय केवल नेपालको होइन, विश्वको जलवायु सन्तुलनको मेरुदण्ड हो भन्ने कुरा संसारलाई बुझाउन सक्ने नेतृत्व आजको आवश्यकता हो।
प्रश्न यहीं छ, यी कुरा विश्व समुदायसमक्ष सुनाउने कसले?
चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरू, राजनीतिक दलहरू, र नीति निर्माण गर्ने नेतृत्वले यदि आज जलवायु संकटलाई आफ्नो एजेन्डा बनाएनन् भने, भोलि हाम्रो आवाज सुन्ने कोही हुनेछैन। त्यसैले ग्लोबल वार्मिङ नेपालका लागि अब केवल वैज्ञानिक बहसको विषय होइन, यो चुनावी प्रतिबद्धता, राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय कूटनीतिक एजेन्डा बन्नैपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *