सत्यवादीः पश्चिम नेपालमा शिक्षाको अखण्ड ज्योती

Breaking news फिचर पोस्ट बझाङ सुदुरपश्चिम

बझाङ– नेपालको मानचित्रको पश्चिम कुनामा छ, बझाङ । चीनको तिब्बतसँग सिमाना छोएको यो सुदूर भुगोललाई अहिलेसम्म पनि राज्यले विकट र दुर्गमको दर्जामा राखेको छ । सत्यवादी ११९ बर्ष अघि त्यही भुमीमा बलेको दिपक हो । जसले शताब्दी अघि देखी पश्चिम नेपालमा शिक्षाको अखण्ड ज्योती फैलाइरहेको छ ।
राजा महाराजाका छोराछोरी मात्रै पढ्न पाउने दरबार हाइस्कुललाई छोड्ने हो भने यो नेपालको दोस्रो सार्वजनिक स्कुल हो । यो भन्दा पहिला भोजपुरको दिङलामा बालागुरु षडानन्दले विसं १९३२ स्थापना गरेको संस्कृत पाठशालामा मात्र सर्वसाधारणका छोराछोरीले पढ्न पाउथें । सर्वसाधारणलाई शिक्षा दिने उद्देश्यले विसं १९६३ साल राष्ट्रिय विभुती जयपृथ्वी बहादुर सिंहले सत्यवादी पाठशालाको स्थापना गरेका थिए ।
काठमाण्डौको नक्साल स्थित आफ्नै निवासमा खोलेको यस विद्यालयमा उनि आफै हेडमास्टर भएर जनताका छोराछोरीलाई निःशुल्क शिक्षा दिन थाले । जनता शिक्षित भए आफ्नो शाशनमा धक्का पुग्ने ठानेका राणा शाशकहरुले पाठशाला बन्द गराउन खोजे पछि काठमाण्डौबाट झण्डै हजार किलो मिटर टाढा १९६९ बझाङको जयपृथ्वीनगरमा सालमा जयपृथ्वीले यो विद्यालय सारेका थिए । जहाँ तत्कालिन शाशकहरुको दबदबा निकै कम थियो । त्यसको एक वर्ष पछि मात्रै चैनपुर नजिकै सेती नदीको किनारमा अवस्थित भोपुर गाउँमा सत्यवादी सारिएको थियो ।
जयपृथ्वी बझाङका न्यायप्रेमी शासक थिए । राणाहरुसँग जोखिम उठाएर उनले स्थापना गरेको विद्यालयले राणाकालीन अन्धकारमा पनि शिक्षाको उज्यालो फैलायो । गाउँगाउँबाट विद्यार्थीहरु ल्याई छात्रबासमा राखेर पढाउने प्रबन्ध जयपृथ्वीले मिलाएका थिए । उनले भारत निर्वासनमा रहेका बेला विद्यालयको प्रधानअध्यापकको आफ्ना भाई अमरबहादुर सिंहलाई दिएका थिए ।

स्कुल नजिकै नेपाली हाते कागज उद्योग थियो । विद्यार्थीहरु आफुलाई चाहिने कागज उत्पादन गर्थे’ त्यो उद्योग पछि (२०२० साल) सम्म संचालनमा रहेको बताउदै बझाङको इतिहासका अध्येता बिण्णुभक्त शास्त्री भन्छन, ‘विद्यार्थीले विहान चार बजेर उठेर सेती नदीमा स्नान गर्ने, खाना पकाउनका लागि दाउरा खोज्ने, खाना पकाउने, कक्षामा पढ्ने, गृहकार्य गर्ने लगायत कडा अनुशाशनमा रहेर पढ्नु पथ्र्याे’ विद्यालयको शैक्षिक गुणस्तर वृद्धी गर्नमा अमरबहादुर सिंह पछि प्रधानअध्यापक भएका भारतको पिथौरागढ अस्कोटका नागरिक रामदत्त अवस्थीको ठुलो भुमिका रहेको थियो । ‘जयपृथ्वीको मानवतावादी दर्शनबाट प्रभावित अवस्थी उहाँकै निर्देशन मानेर जिवनभर यो विद्यालयमा सेवा गर्नु भयो । विद्यालयलाई घर र विद्यार्थीलाई छोराछोरी जस्तो व्यवहार गर्ने त्यस्ता शिक्षक नभएको भए सायद सत्यवादी यो अवस्थामा रहने थिएन होला’ शास्त्रीले भने । अवस्थीले झण्डै ३० वर्ष बझाङमा रहेर सत्यवादीमा अध्यापन गराएका थिए ।

Date: 1971-10 Location: Chainpur, Bajhang Description: Class VII-B, Satyavadi High School.

त्यो वेला बझाङमात्रै सुदूरपश्चिम र मध्यपश्चिम नेपालका थुप्रै जिल्लाका मानिसहरु शिक्षाका लिन बझाङ पुग्थे । सत्यवादीका कारण बझाङ पश्चिम नेपालकै शैक्षिक केन्द्र बनेको थियो । ‘बाजुरा, अछाम, बैतडी, दार्चुला मात्रै होइन । हुम्ला, जुम्ला, कालिकोट सम्मका मानिसहरु पनि सत्यवादीमा आएर पढेको इतिहास छ’ ३८ बर्ष देखी शिक्षकको रुपमा कार्यरत लक्ष्मण उपाध्याय भन्छन, ‘कर्मचारी भएर यहाँ आउनेहरुका छोराछोरीसँग लिएर आउँथे । यहीं पढाउथे । त्यो हिसाबले हेर्ने हो भने त देशका सबै जिल्लाका मानिसहरुले यो विद्यालयमा पढेका होलान’ सत्यवादीको पढाई अन्य जिल्लाका विद्यालय भन्दा राम्रो भएकोले २०५० को दशक सम्म पनि बाहिरबाट आउने कर्मचारीहरुले आफ्ना छोराछोरीलाई यतै पढाउने गरेको उनि सम्झन्छन ।
१९६८ मा स्थापना भएको भए पनि यो विद्यालयले २००८ सालमा मात्रै हाइस्कुल (माध्यमिक तह) अनुमती पाएको थियो । सत्यवादी हाइस्कुल बनाउदाँको कहानी पनि निकै रोचक छ । ‘स्कुलका भवन संचरना बनाउनका लागि बाजुरा देखी जुम्ला सम्म चन्दा संकलन गरिएको लिखतहरु अहिले पनि छन’ सत्यवादीकै अर्का शिक्षक राजेन्द्र प्रशाद जोशी भन्छन, ‘चन्दा उठाएको रकम अपुग भए पछि चैनपुरका देवी साहु (एक जना नेवार व्यापारी) कहाँ तत्कालिन बझाङी राजा रामजङले आफ्नो श्रीपेच धरौटी राखेर रकम जुटाए पछि मात्रै हाइस्कुल खोल्न सम्भव भएको थियो’ आफ्ना हजुरबुवा जयपृथ्वीले स्थापना गरेको स्कुललाई थप समृद्ध बनाउनका लागि उनका सन्ततीहरुले गरेको योगदान निकै प्रशंशा योग्य रहेको जोशीले बताए ।

Date: 1971-05 Location: Mumla, Bajhang Description: Raja Ram Jang Bahadur Singh, 58th raja of Bajhang, on the occasion of his return to Bajhang after years of exile in India.

राजाले श्रीपेच धरौटी राखेर सत्यवादी हाइस्कुल बनाउन कस्सिएको थाहा पाए पछि बझाङ माइती भएकी बबरसम्सेर राणाकी धर्मपत्नी वेदभक्तलक्ष्मी राणाले मोरु १० हजार दिए पछि त्यो रकमले दुइ सय बढी विद्यार्थीलाई वस्न मिल्ने तीनतले छात्रावास निर्माण गरिएको विद्यालयको रेर्डकमा उल्लेख छ ।
सत्यवादीका विद्यार्थी, जहाँ गए त्यही चम्किए
स्थापनाकाल देखी पश्चिम नेपालमा अब्बल कहलिएको यो विद्यालयकोे शैक्षिक गुणस्तर र शाख अहिले सम्म पनि कायम छ । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु स्वास्थ्य, शिक्षा, चिकित्सा, न्याय, इन्जिनियरिङ, उड्डयन देखी राजनिति सम्म र देश भित्र मात्रै नभएर अन्तराष्ट्रियस्तर सम्म आफ्नो पेशामा चम्किरहेका छन ।
नेपाल सरकारका पुर्व सचिवहरु विण्णु प्रशाद खत्री, धनराज रताला, नास्टका पुर्व वैज्ञानिक तथा नेपालका पहिलो टनेल इन्जिनियर अक्कलबहादुर सिंह, पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक राजेन्द्रबहाुदर सिंह, पुर्व स्वास्थ्य सचिव अर्जुनबहाुदर सिहं, स्वास्थ्य विभागका पुर्व निर्देशक अमिर खाती, मदन पुरस्कार विजेता स्थिरजंग बहादुर सिंह लगायत सत्यवादीका थुप्रै पुर्वविद्यार्थीहरुले सरकारी सेवामा आफुलाई अब्बल सावित गरिसहेका छन । महिलाहरुमा नेपाली सेनाकी कर्णेल कान्तिप्रभा गिरी, २०३८ साल मै राष्ट्रिय बाणिज्य बैकंकी प्रवबन्धक जाम्बवती जोशी देखी अहिले बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्य जोशी र उपसचिवहरु पंकजा जोशी, सविता जोशी लगायत थुप्रै पुर्व विद्यार्थीहरु विभिन्न सरकारी कार्यालयको नेतृत्व गरिरहेका छन ।


अमेरिकाका प्रख्यात भुगोलविद समेत रहेका फेयरमण्ड विश्वविद्यालयका प्रोफेसर डा. तुलसी जोशी सत्यवादीबाट एसएलसी गर्ने पहिलो व्याचका एक विद्यार्थी थिए । यही विद्यालयबाट एसएलसी गरेका स्वीडेनको स्टकहोम युनिर्भसिटीका प्रोफेसर प्राडा. कटक मल्ल विश्वमंचमा सार्वजनिक बौद्धिक व्यक्तीको रुपमा परिचित छन । इजरायलका पुर्वराजदुत धनप्रशाद पण्डितले पनि प्रारम्भिक शिक्षा यही विद्यालयमा हासिल गरेको सत्यवादीका सहायक प्रधानाध्यापक हितराज जोशीले बताए । न्याय क्षेत्रमा पुर्वन्यायधिस केशवराज जोशी देखी भर्खरै न्याय सेवाको खुला प्रतिश्पर्धाबाट प्रवेश गरेका कमलकान्त जोशी लगायत थुप्रै अनुहारहरुले यही विद्यालयमा अध्ययन गरेका थिए ।
सत्यवादी पढेर विद्यार्थीहरु राजनितिक क्षेत्रमा सफल भएकाहरुको सुची यो भन्दा लामो छ । पुर्वमन्त्रीहरु अछामका जनकबहादुर शाह र बझाङका सुरेस मल्ल, सुदूरपश्चिम प्रदेशका पुर्व सभामुख अर्जूृन थापा, पुर्व आन्तरिक मामिला मन्त्री पृथ्वीवहादुर सिंह पनि सत्यवादीकै उत्पादन हुन । पछिल्लो पुस्तामा संविधान सभा सदस्य अफिलाल ओखेडा, प्रकाश रसाइली लगायत पनि सत्यवादीकै विद्यार्थी हुन । ‘सत्यवादीका सबै भन्दा बढी विद्यार्थीहरु डाक्टर र इन्जिनियरीङ क्षेत्रमा छन’ सहायक प्रधानाध्यापक जोशी भन्छन, ‘प्रहरी अस्पतालका विषेशज्ञ डाक्टर भक्तबहादुर सिंह देखी अहिले जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दिप ओखेडा यही स्कुल पढेका हुन ।’ उनले यो विद्यालयमा पढेर डाक्टर र इन्जियरिङ क्षेत्रमा सफल हुने विद्यार्थीको संख्या मात्रै एक सय भन्दा बढी रहेको सुनाए । कैलाली बहुमुखी क्याम्पसका प्रमुख धर्मराज उपाध्याय लगायत थुप्रै शैक्षिक संस्थाको नेतृत्व जन्माइसकेको सत्यवादीले नन्दकृण्ण जोशी, नरेन्द्रराज रेग्मी आदी कलाकार उत्पादनमा पनि योगदान पुर्याएको उनले बताए । ‘व्यापार, व्यवसाय, उद्योग क्षेत्रमा पनि हाम्रा विद्यार्थी सफल नै छन । कुनै पनि यस्तो क्षेत्र छैन । जहाँ सत्यवादीको विद्यार्थी नहोस’ उनले भने ।
विकासको यात्राः मानापाथीको हिसाब देखी कृषि र विज्ञान सम्म
सत्यवादी पाठशाला स्थापनाताका यहाँको पाठ्यक्रममा बाह्रखरी पढाइन्थ्यो । मानापाथी, नाली, धुर र रोपनीको हिसाब सिकाइन्थ्यो । देवनागरी अक्षर, गणित, नापतौल, ऋतु (मौसम) को ज्ञान दिनु, विद्यार्थीलाई मानवता र सामाजिक शिक्षाका कुरा पठाइन्थ्यो । यसको लागि अक्षराकं शिक्षा, तत्वबोध, व्यहारमाला जस्ता पूस्तक जयपृथ्वी आफैले लेखेका थिए । यही शिक्षा लिएको भरमा सत्यवादी पढेको विद्यार्थी त्यो बेला समाजको सम्पती कहलाउँथ्यो । हाइस्कुल पढ्ने विद्यार्थीको समाजमा छुटै शान र मान हुन्थ्यो ।

विज्ञानप्रविधीको विकास, सामाजिक आर्थिक परिर्वतन र समयको माग सँगै आफुलाई अद्यावधी गर्दै आएको सत्यवादीमा पढ्ने विद्यार्थीहरुको ओज अहिले पनि घटन दिएको छैन । प्राथमिक तहबाट सुरु भएर वि.सं. २००८ मा माध्यमिक शिक्षा सुरु गरेको सत्यवादीमा अहिले पुर्व प्राथमिक देखि १०+२ सम्मका विद्यार्थीहरु पढ्न पाउँछन । यो विद्यालयले २०६४ देखि १०+२ तहमा विज्ञान, कृषि विज्ञान, बाणिज्य र शिक्षा विषय अध्यापन गराइरहेको छ । सिटिइभिटीको सम्बन्धन लिएर कक्षा नौ देखी डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) र जेटीए प्लान्ट साइन्स जस्ता व्यावसायिक विषयहरु पनि यहाँ पढाई हुन्छ । जसले सस्तो शुल्कमा बझाङीलाई व्यवसायिक र प्राविधिक शिक्षाको अवसर जिल्ला मै दिएको छ भने विपन्न विद्यार्थीलाई छात्रवृत्तिमा निशुल्क

शिक्षा आर्जन गर्ने अवसर दिएको छ ।
नमुना विद्यालयको ऐतिहासिक विरासत
बझाङमा मात्र नभएर पश्चिम नेपालको शिक्षाको धरोहरको रुपमा रहेको सत्यवादीले परम्परागत शिक्षा प्रणालीबाट डिजिटल युगमा रुपान्तरित हुँदा पनि आफ्नो शैक्षिक र भौतिक गुणस्तरमा उत्कृष्टता कायम राखेको छ । पुस्तौं देखिको ऐतिहासिक विरासत कायम राख्दै जिज्यू बाजेका पाला देखी पनाती पूस्ता सम्मको शैक्षिक धरोहर बन्न सफल भएको छ ।
विगतको परिक्षा नियन्त्रण कार्यालयले संचालन गर्ने एसएलसी होस या अहिले राष्ट्रिय परिक्षा बोर्डले लिने एइईइ नै किन नहोस । अपवाद बाहेक जिल्लामा उत्कृष्ट अंक ल्याउनेमा प्राय सत्यवादी कै विद्यार्थी हुन्छन । उच्च माध्यमिक तहमा पनि यो विद्यालयका विद्यार्थीहरुले नै उत्कृष्ट अंक ल्याएर अरु विद्यालयलाई निरन्तर पछि पार्दै आएका छन ।
‘म विद्यार्थी हुँदा देखी अहिले विद्यालयको मुल्याङकन गर्ने निकायमा लामो समय काम गर्दा सम्म पनि सत्यवादीका विद्यार्थी उत्कृष्टता कसैले उछिन्न सकेको छैन २०४० सालमा सत्यवादीबाट एसएलसी पास गरेर झण्डै चार दशक जिल्ला शिक्षा कार्यालयमा काम गर्दै अहिलेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बझाङका प्रमुख रहेका सुरेन्द्र कठायत भन्छन, ‘जिल्ला स्तरका होस या राष्ट्रिय स्तरका परिक्षामा उर्तिण हुने प्रतिशत मात्रै नभएर उच्च अंक ल्याउने विद्यार्थीहरु पनि प्राय यहि विद्यालयका छन सुविधायुक्त भौतिक पुर्वाधार, पर्याप्त जनशक्ती, शिक्षक, कर्मचारी तथा अभिभावकको निरन्तरको मेहनतले यो सम्भव भएको बताउने कठायतले पछिल्लो समय यहाँका शिक्षकहरुमा देखिएको राजनितिक सक्रियताले सत्यवादीको साख खस्किने हो की भन्ने चिन्ता समेत लाग्ने गरेको बताए ।

पर्याप्त भौतिक पुर्वाधार, जनशक्ती र प्रविधी
रंगिचंगी फुलका गमलाहरुले सजिएका भव्य र आधुनिक भवनमा अहिले ८१० जना छात्रा र ८६१ जना छात्र गरी एक हजार ६७१ जना विद्यार्थी पढछन । सत्यवादी विद्यार्थी संख्याका हिसाबले पनि जिल्लाकै ठुलो विद्यालय हो । ३६ हजार ३४५ बर्ग मिटर क्षेत्रफल जग्गामा फैलिएको यो विद्यालयका १० वटा सुविधायुक्त भवन, पुस्तकालय, फराकिला खेलकुद मैदान छन । फिजिक्स, रसायनशास्त्र र जिवविज्ञानका छुट्टाछुट्टै प्रयोगशाला छन । ६० थान कम्युटर सहितको कम्प्युटर ल्याब छन । १३ वटा स्मार्ट बोर्ड मार्फत श्रव्यदृष्य माध्यमबाट शिक्षण हुने यो विद्यालय आधुनिक शैलीमा पठनपाठन गराउनेमा पनि अग्रणी स्थानमा छ । कृषि पढ्ने विद्यार्थीका लागि अभ्यास गर्न विद्यालयको आफ्नै जग्गा र ग्रिन हाउस लगायत आधुनिक कृषि पुर्वाधारहरु छ । १५ जना महिला र ३४ जना पुरुष गरी ४९ जना विभिन्न विषयका शिक्षक र कर्मचारीले पाठ्यक्रम मात्रै नभएर योग, नृत्य, संगित लगायतका जिवनउपयोगी विषयमा विद्यार्थीलाई प्रशिक्षण दिदै आएका छन । पर्याप्त खेल सामाग्री, नियमित हुने खेलकुदको अभ्यासका कारण विद्यालय स्तरिय खेलकुद प्रतियोगिताहरुमा पनि पनि सत्यवादी सधै अग्रस्थानमा रहदै आएको छ ।


विद्यालयको आफ्नै श्रोत, विद्यालयका पुर्व विद्यार्थीहरु, विभिन्न व्यक्ती र संस्थाहरुले स्थापना गरेका विभिन्न छात्रवृती कोषमा करिब तीन करोड रकम छ । यो रकमबाट प्राप्त हुने व्याजबाट प्रत्येक वर्ष १५० भन्दा बढी गरिब, जेहन्दार र विपन्न विद्यार्थीहरुलाई विज्ञान, कृषि विज्ञान, बाणिज्य शास्त्र अध्ययनका लागि विद्यालयले छात्रवृती दिदै आएको छ । ‘क्षमता र प्रतिभा भएर पनि खर्च जुटाउन नसकेका कारण कोही पनि शिक्षाको अवसरबाट बञ्चित नहोस भन्नेमा विद्यालय सचेत छ’  प्रधानाध्यापक खगेन्द्र प्रशाद जोशी भन्छन, ‘छात्रवृतीकोषलाई अझ बढाउने र धेरै विद्यार्थीहरुलाई समेटने प्रयासमा विद्यालय लागि रहेको छ’ उनले विद्यालयको ऐतिहासिक विरासतलाई भविश्यका दिनमा अझै उचाईमा पुर्याउनका लागि शिक्षक, कर्मचारी मात्रै नभएर अभिभावकहरु लागि रहेको बताए ।


हाल सालै मात्रै विद्यार्थीहरूलाई भविष्यको अध्ययन र पेशा छनोटमा सहयोग गर्ने उद्देश्यले विद्यालयमा करियर ल्याव स्थापना गरिएको छ । यो ल्याबमार्फत विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र चाहनाअनुसार विषय छनोट गर्न मार्गदर्शन पाउने भएकोले विद्यार्थीको आत्मविश्वास बढाउने र भविश्यमा सही क्षेत्र छनौट गर्न सघाउने विद्यालय व्यवस्थापनको विश्वास छ ।
पछिल्लो तीन वर्षमा विद्यालयको सुविधा सम्पन्न मुख्य भवन, प्रशाशनिक भवन निर्माण, राती पनि खेलकुद लगायतका गतिविधी गर्न मिल्ने गरी फल्डलाईट जडान, विद्यालयको शैक्षिक र प्रशाशनिक सुधारको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र खड्का अहोरात्र खटिरहेका छन । उनलाई २०८१ सालमा संघिय शिक्षा मन्त्रालयले विद्यालयको उत्कृष्ट व्यवस्थापन गरे बाफत व्यवस्थापन समिति अध्यक्ष खड्कालाई राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित समेत गरेको थियो । उक्त वर्ष देश भरीका दुइजना विद्यालय व्यवस्थापन समिति अध्यक्षले उक्त पुरस्कार पाएका थिए ।

सत्यवादी विद्यालय मात्रै नभएर बझाङको गविर्लाे इतिहास भएकोले यसको गरिमा बढाउन सबैको हातेमालो आवश्यक रहेको खड्का बताउछन । ‘सत्यवादीको गरिमा बढाउने काममा योगदान गर्नु पाउनु भनेको पुर्खाको विरासतलाई अझ परिस्कृत गरेर भविश्यको पुस्तालाई हस्तान्तरण गर्ने पुण्यकर्म हो’ यही विद्यालयका पुर्व विद्याथी समेत रहेका खड्काले भने, ‘शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी सबैको सुमधुर सहकार्यले सत्यवादी आज यो ठाउँमा पुगेको छ । समयको माग अनुसरा भविश्यमा यसलाई अझ विश्वासिलो र गुणस्तरिय शैक्षिक केन्द्र बनाउने हाम्रो कोसिस जारी छ’ भविश्यमा पुर्णरुपमा डिजिटल माध्यमबाट शैक्षिक गतिविधी संचालन गर्ने र समाजका हरेक क्षेत्रको लागि उपयुक्त जनशक्ती उत्पादन गर्ने उद्देश्य सहित व्यवसायिक र व्यहारिक शिक्षाको केन्द्र सत्यवादीलाई बनाउनका लागि सरकारी निकाय, गैर सरकारी संस्था तथा विभिन्न क्षेत्रमा रहेका पुर्व विद्यार्थीहरुलाई संगठित गर्ने अभियानमा आफु लागि रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *