२२ करोड बढी लागतको शहरी खाने पानी आयोजना निर्माणमा ढिलाइ

रमेश केसी-रासस

बझाङ । जयपृथ्वी नगरपालिका भोपुर घर भएका महादेव जोशीले घरैमै पानीको धारा बन्ने भए किन पैसा नदिने भन्दै चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई पैसा तिरेको ३ बर्ष जति हुन थाल्यो । उहाँले भन्नुभयो, ‘म संग पैसा थिएन । त्यहि पनि पहिलो पटक छोरीले बुझेको तलब बाट भए पनि १० हजार रुपैयाँ तिरे तर अहिले सम्म धारामा पानी आएको छैन् । धारामा पानी आएर कहिले खान पाईन्छ । थाहा छैन् ।’
त्यस्तै जयपृथ्वी नगरपालिका ९ देवल घर भएकी टिटा मगर धामीले पनि आयोजना लागु भएको बर्षमा १० हजार रुपैयाँ तिरेको करिब ४ बर्ष जति हुन लाग्यो । उहाँ मात्रै नभएर त्यो टोलका धेरै मानिसहरुले पैसा तिरेको धेरै भयो । पानी आएको छैन् । सेतो पाइप मात्र विछ्याएको छ । त्यस तर्फ ध्यान कसैको गएको छैन् । कित पानी दिनुपर्ने नत्र पैसा फिर्ता दिनु पर्ने स्थानियहरुले बताउने गरेका छन् । २०१९ अप्रिल ७ देखी काम गर्ने जिम्मा पाएको आशिष जेभि ग्वाँल्लेक निर्माण सेवाले जयपृथ्वी नगरपालिका ११ भोपुरमा काम सुरु गर्ने गरी सहरी खानेपानी तथा सरसफाई आयोजना क्षेत्रिय कार्यालय नेपालगञ्ज संग सम्झौता गरेको थियो ।
करिब १८ महिना भित्र काम सम्पन्न गर्नेे भए पनि हाल सम्म ७५ प्रतिशत मात्रै काम सकेको साथै भारत र चिनबाट समेत सामान ल्याउनु पर्ने भएकाले र लकडाउनका कारणले समेत ढिलाई भएको जेभी कन्टक्सनका परामर्शदाता मकर बहादुर स्वाँरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दशै भित्र समुदायस्तरमा पानी वितरण गर्ने तरिकाले समेत काम भैरहेको छ ।’
चैनपुरका लागी ४ लाख ५० हजार लिटर, भोपुर बस्तिका लागी ५० हजार लिटर, देवल रिठापाठाका लागी १ लाख लिटर पानी अट्ने क्षमता रहेको पानी ट्याङ्की जसले करिब ११ सय ६५ घरधुरीलाई पानी उपलब्ध गराउने भएको छ ।
चैनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिती अध्यक्ष लोकेन्द्र विष्टले योजना निर्माण प्रकृया ढिलाई भएको र पटकपटक म्याद थप गर्नु परेको समेत बताउनु भयो ।
उक्त परियोजना निर्माणका लागी २२ करोड ९२ लाख लागत रहेको छ । जसमा एसियन डिभ्लोमेन्ट बैङ्क र नेपाल सरकारको ७० प्रतिशत र नगरविकास कोष र उपभोक्ताहरुको ३० प्रतिशत रहेको छ । साथै जयपृथ्वी नगरपालिकाले पनि म्याचिङ स्वरुप ४५ लाख रुपैयाँ र नगरपालिका कै वडानम्बर १० र ४ ले गरी १४ लाख रुपैयाँ बजेट सहयोग गरेको छ ।