कोरोना महामारी, शिक्षा र हाम्रो जिम्मेवारी: एल बि बोहरा

एल बि बोहरा-हाँमी सबैलाई थाहै छ, कोरोना भाइरसको सुरुवाति संक्रमण सन २०१९ (डेसेम्वर) मा चिनको एक ब्यापारि शहर वुहान बाट भएको थियो । तत् पश्चात यसको प्रभाव चरणबद्द तवरले विश्वभर दिन दोगुना र रात चौगुना हुदै फैलियो । त्यतिबेला यसलाई न त छेक्न नै सकिन्थ्यो न रोकथाम गर्न नै । सम्भव भएका प्रयासहरु तथा रोकथामका उपाएका बारेमा विश्व स्वास्थ्य संगठनको अगुवाइमा संसारभर पहल त भए तर सबै निरर्थक साबित भए । यस बाट सुरक्षित हुने उपायका रुपमा सामाजिक दुरिको आवश्यकतालाई मध्यनगर गरियो र विश्वभर यसको लागु पनि तदारुकताका साथ गरियो । साथमा मास्कको प्रयोग लगायतका साबधानिका बारेमा समेत जनचेतनामुलक गतिविधिहरु अग्रभागमा संचालन गरियो । यसबाट बच्नका लागि कतिपय धर्मगुरुहरुले धार्मिक कर्महरु गर्न अह्र्याए । फलस्वरुप मठ्मन्दिरमा पूजापाठ गरियो, राँगाबोकाको बलिदिने काम भयो, शंख-घण्टको गुन्जन सुनाइयो र धामिझाक्रि कमाइयो पनि । एवम रुपेण, चर्च, मस्जिद, गुम्वा लगायतका शक्ति पिठहरुमा समेत संस्कार अनुसार पुजा पाठ गरियो । तर, हर प्रयासहरु केबल मन बुझाउने साधन त बने तर संजिवनी बन्न सकेनन् । एवम रितले दुनियाँ भर त्रासदीपूर्ण जनजीवन चलिरह्यो; लाखौंमा संक्रमण, हजारौंको मृत्यु तथा यस्तै यस्तै तथ्यांकको नालेबेलि सामाजिक संजालमा छताछुल्ल भइ नै रहे । जताततै चिन्ता र चाँसो, कतै निन्दा र भत्सर्ना त कतै भागाभागका दृश्यहरु देखिन थाले । पहिलो चरणको कोरोना केहि मत्थर भयो भनियो र जनजीवन केहि महिनाका लागि भए पनि सामान्य तिर फर्कियो । तर, ५\६ महिना पछि फेरि अर्को चरणको सुरुवात कोरोनाकाल सुरु भयो, र त्यसले झनै मानव दुनियाँलाई तहसनहस पार्यो । हाल दोस्रो चरण पनि केहि कम भएको आभास गरिदै छ, तथापि अँझै तेस्रो चरणको चिन्ता गरिन थालिएको छ ।

विश्व दुनियाँलाई यसले अँझै झक्झक्याएकै छ । सारा जनजिवन प्रायः ठप्प छ । स्कूल तथा कलेजको पढाइ भौतिक उपस्थितिका साथ अझैं सम्भव हुन सकेको छैन । बजार तथा ब्यवसाय उच्च स्वास्थ्य सतर्कताका साथ आंशिक रुपमा खुले पनि अझैं ढुक्क हुने अवस्था छैन । नजिक तथा जिल्ला भित्रको आवतजावत सहज भइ सकेको भएता पनि टाढाको यात्रा अझैं उच्च सतर्कताका साथ गर्नुपर्ने बाध्यता छ । एक आपसको भेटघाट र सामिप्यता पनि अझैं सङ्कोच पूर्ण अवस्थाम छ । आफ्ना आफन्त र चिनजानकाहरु सँग समेत पनि बिरानो झैं ब्यवहार गर्नुपर्ने बाध्यता छ । नेपालकै सन्दर्भमा कुरा गर्दा दैनिक जसो औषतमा अढाइ हजार जतिमा संक्रमण तथा दुइ\तीन दर्जन जतिको मृत्यु हुने गरेका खबरहरु सम्प्रेषण भइ नै रहेका छन । यो सबै बेथिति मँ कहाँ मात्र हैन तपाँइ कहाँ पनि छ, यहाँ मात्र हैन त्यहाँ पनि छ, स्वदेशमा मात्र हैन बिदेशमा पनि छ, पूर्व-पश्चिममा मात्र हैन उत्तर-दक्षिण तिर पनि छ; अँझै भनौ यो सबै तिर छ, किन कि यो महामारी हो, न भुतो न भविश्यति पहिचानको । मैले भने, महाँमारीको प्रभाव सबैतिर परेको छ । यो लेख मार्फत मैले कोभिड बन्दाबन्दिकामा शिक्षा क्षेत्रको अवस्था र यसले पारेको सकारात्म र नकारात्मक प्रभावका बारेमा चर्चा गर्ने प्रयास गरेको छु ।

प्रथमतः कुरा गरौं कोभिड-१९ मा शिक्षाको अवस्था र अवस्थितिको । जम्मा जम्मि दुई बर्ष जति भयो विध्यार्थीहरुले प्राकृतिक तवरले अध्ययन गर्न पाएका छैनन । कँतै राज्य पक्ष बाटै औपचारिक रुपमा नै बन्द गरीएका छन भने कतै सामान्यतयाः खुला भए पनि असुरक्षाको डरले अभिभावकले नै आफ्ना वालवालिकाहरुलाई स्कूल पठाउन मानेका छैनन् । यो अवस्था नेपालमा मात्र नभएर वश्वभरमै व्याप्त छ । युनिस्कोको सन २०१४ मा प्रकाशित गरेको आँकडा हेर्दा संसारभर झण्डै १.२९ बिलियन (जम्मा जनसंख्याको १७%) बालबालिकाहरु विध्यालय तहमा तथा १७७ मिलियन जति विध्यार्थीहरु उच्च शिक्षामा अध्ययनरत रहेका विवरण सार्बजनिक गरेको रहेछ । हालसालै युनिस्कोले झण्डै १.५२ बिलियन बिध्यार्थीहरु संसार भर कोभिड-१९ को बन्दाबन्दीका कारण विध्यालय बाहिर रहेका विवरण सार्वजनिक गरेको छ । सन २०२० मै विश्वभर झण्डै १६५ देशहरुले प्रत्यक्ष रुपमा विध्यालयहरु बन्द गरेका विवरण समेत सार्वजनिक भएको छ (द वासिङ्टन पोस्ट, मार्च २०२०) । यति मात्र हैन कोभिड महामारीका कारण हजारौंको संख्यामा विश्वभर रहेका विश्वविध्यालयहरु र तत् तत् माँतहतका कलेज\क्याम्पसहरुका अध्ययन\अध्यापन कार्य समेत प्रत्यक्ष वा परोक्ष रुपमा बन्द रहेको तथ्याङ्क सार्वजनिक भएका छन ।

नेपालकै सन्दर्भमा कुरा गर्दा गत सन २०२० देखि कोभिड महामारीका कारण सम्पूर्ण स्कूल तथा कलेजहरु बन्दि अवस्थामा छन (५\६ महिना जति खुला भएका) । तथ्यांकीय हिसाबले हामी कहाँ झण्डै छत्तिस हजार भन्दा बढि स्कूल तथा चौध सय भन्दा बढि कलेजहरुमा (सन २०१६ को आँकडा) लाखौंको संख्यामा विध्यार्थीहरु अध्ययनरत छन । कोरोनाकालिन बन्दाबन्दिका कारण प्रायः सबै शैक्षिक संस्थाहरु हालसम्म पनि खुलेका छैनन् । तर, कहि कतै स्थानीय तहको पहलमा आंशिक रुपमा खुलेका भए पनि ढुक्क तरिकाले पढ्ने वातावरणको सुनिश्चितता अझै भइसकेको छैन । परीक्षाहरु हुन नसकेर स्वतहः ग्रेड अपको प्रणाली अवलम्वन गरिएको छ । कक्षा १२ को परीक्षा अझै पर्ख र हेरकै अवस्थामा छ । यस्तो अवस्थाका कारण हाम्रो शैक्षिक अवस्था कतातिर जाँदै छ, केहि भन्ने अवस्था अझै छैन । अव कुरा गरौं महामारीले शिक्षा जगतमा पारेको असरका बारेमा । ज्ञात नै छ, कोभिड महाँमारीले सबै तिर उत्तिकै प्रभाव पारेको छ । अँझै भन्दा यसको असर शिक्षा क्षेत्रमा अरु क्षेत्रको तुलनामा बढि नै पर्यो । त्यो किन पनि भने शैक्षिक संस्थाहरु भिडभाडका केन्द्र हुन । जहाँ बढि भिड त्यहाँ कोभिड भनिने उखानले नै प्रष्ट पार्दछ कि कोभिड महामारी र शिक्षालयहरु बिचको सम्वन्ध कस्तो छ भन्ने कुरा। विश्व दुनियाँ जस्तै नेपालका शैक्षिक संस्थाहरु पनि यसबाट अछुतो रहेनन् । भूगोलको हिसाबले नेपालका शैक्षिक संस्थाहरु हिमाली, पहाडी र तराइ गरी तीन तरहले अवस्थित छन र जस्लाई क्रमशः अति दुर्गम, दुर्गम र सुगमका नामले समेत बर्गिकरण गरिएका पाइन्छन । यो महामारीका बेला समग्रमा सबै खालका शिक्षालयहरु नराम्ररी प्रभावित भए । तर, तुलनात्मक रुपमा अति सुगममा अवस्थित शिक्षालयहरु भन्दा अति दुर्गम र दुर्गममा अवस्थितहरु बढि नै प्रभावित भए । ज्ञानको उब्जाउ तथा ज्ञान आदानप्रदानका केन्द्र मानिने शिक्षण संस्थाहरु नै यसरी बन्द भइदिदा समयको उकालिदो पथमा ज्ञानबिज्ञानका पाइलाहरु ओरालिने त हैनन भन्ने चिन्ता समेत गर्नै पर्ने बेला आएको छ । शिक्षण संस्थाहरु जहाँ दिनप्रतिदिन संस्कार, संस्कृति, मुल्यमान्यता, बोलिब्यवहार, चालचलन, सभ्यता, जनजिवन, जनजिबिका, आदि जस्ता मानविय कर्महरू सिकाइन्छन, ती समेत नराम्ररी प्रभावित भएका देखिन्छन । यो नै मुख्य चिन्ता र चाँसोको कुरा हो ।

कोभिड महामारीले शैक्षिक संस्थाहरुमा पारेको प्रभाव सँग धेरै कुराहरु यो या त्यो रुपमा जोडिएका छन । सबै भन्दा पहिलो कुरा त चेतनाको विकास नै हो । महामारीका बेला शिक्षा सँग सम्वन्धित ब्यक्तिहरु जस्तै शैक्षिक प्रशासन, शिक्षक, अभिभावक र विध्यार्थीहरुको चेतना मात्र प्रयाप्त हुन सक्दैन थ्यो । यो सँग थप जोडिएर आउने त राज्य पक्ष र मातहतका निकाय नै हुन । यहाँ राज्य पक्ष र मातहतका निकाय भन्नाले शैक्षिक संस्थाहरुलाई प्रत्यक्ष\परोक्ष रुपमा नियाल्ने उपल्ला निकायहरु हुन, जस्ले शिक्षा सम्वन्धि नीतिनियमहरु बनाएर लागु गर्ने काम गर्दछन । थाहै छ, अपरझट आइलाग्ने कोभिड महामारी जस्ता विपतहरुमा नियमित रुपमा संचालनमा आएका नीतिनियमहरु कामयाबी हुदैनन् । यस्तो बेला त आकस्मिक तथा आपतकालिन रुपमा सहजिकरण गर्न सक्ने खालका नीतिनियमहरुको आवश्यकता पर्दछ । हामीले यसबारेमा ध्यान कत्तिको दियौं भन्ने कुरा यहाँ महत्त्वपूर्ण हुनजान्छ । हो, मैले उठान गर्न खोजेको चेतना र त्यसको सहि सदुपयोगको कुरा यहि नेर जोड्न खोजेको हो । चेतनाले एक आपसमा समन्वय गर्न सिकाउँछ । मलाई लाग्छ, सुगम क्षेत्रका सरकारहरुले शिक्षा सँग सरोकार राख्ने सबै पक्षहरु सँग समन्वय गरे र तत्कालै विकल्पका माध्यामहरुका बारेमा छलफल, बहस र अन्तरक्रिया गरी अगाडि बढे, र केहि मात्रामा भए पनि वालबालिकाहरुको सिकाइमा सहजता दिन सफल भए । यो उदाहरण मैले सहरबजारमा (काठ्माण्डौ, पोखरा, बिराटनगर, बुटवल, भैरहवा, नेपालगंज, सुर्खेत, धनगढी, महेन्द्रनगर, आदि) अवस्थित शिक्षालयहरुको दिन खोजेको हो, जहाँ अप्रत्यक्ष रुपमा सिकाइ पनि भइरह्यो र स्वास्थ्य सम्वन्धिको सचेतना पनि कायमै रह्यो । हो साप पनि मरोस लठ्ठि पनि नभाँचियोस भनेको यहि हो । तर, हिमाली र उच्च-पहाडी भूभागमा अवस्थित शिक्षालयहरुमा बैकल्पिक माध्याम बाट पढाइ गरिनु पर्छ भन्ने बारेमा सोचै गरिएन, छलफल नै चलाइएन । समग्रमा भन्नु पर्दा चेतनाको कमि र उत्तरदायीत्त्व बोध नै भएन भनौं । सबै ठाउँमा नेट इन्टरनेत नहुन सक्छ, स्थानीय रेडियोहरु त थिए नि । तिनको सदुपयोग गरेर अध्ययन\अध्यापन गराउन सकिन्थ्यो । साँचो रुपमा भन्नु पर्दा प्रयास नै भएनन् । यस बारेमा सोच नजानुको अर्को एउटा कारण हो पढाइ भन्नाले विध्यार्थीलाई हुलका हुल कक्षाकोठा भित्र थुनेर पढाइ गरेर मात्र यथार्थमा सिकाइ हुन्छ भन्ने कुरा ठान्ने । यथार्थमा के त्यहि हो त ? पक्कै पनि हैन । यसबाट प्रस्ट हुन्छ कि आपतकालिन अवस्थामा हामी समायोजित हुन सक्छौ वा सक्दैनौ भन्ने कुरा ।

दुर्गम जिल्ला बझाङको  कुरा गरौं । यहाँ बाह्र वटा स्थानीय तहहरु छन तथा सामुदायीक र संस्थागत गरी सयौं स्कूलहरु तथा आठ वटा कलेजहरु छन । बन्दाबन्दीको यो समयमा यहाँ स्थित स्थानीय तहहरुले बैकल्पिक शिक्षाका बारेमा सरोकार वालाहरु सँग एकसरो अन्तरक्रिया सम्म गर्न भ्याएनन् । सदरमुकाम नजिकका स्कूलहरुले त अन्लाइन माध्याम बाट समेत अध्यापन गर्न सक्थे, त्यसको सम्भावनाका बारेमा समेत सोचेनन् । जिल्ला भित्र छ\सात जति त स्थानीय रेडियोहरु छन, तिनको सदुपयोग गरी केहि मात्रामा भए पनि वालवालिकाहरुको पढाइमा सहजिकरण गर्न सकिन्थ्यो, त्यो बारेमा समेत न त स्थानीय सरकारले न सरोकारवालाहरुले नै ध्यान दिए । के स्थानीय सरकारको काम जे जे माथिकाले अह्रयायो अमुक तरहले त्यै त्यै मात्र गर्ने हो र ? पक्कै होइन होला । तर हालको अवस्था सम्म हेर्दा त्यस्तै भइरहेको छ । स्थानीय तह र राज्य पक्षको लकडाउनका समयमा बन्द अझ थपिएको भन्ने सूचना मात्र प्रवाह गर्ने भए तिनको औचित्य माथि नै प्रश्न खडा हुनसक्छ । आशा छ, यसको यि र यस्तै गतिविधिका बारेमा जिल्लाभर समिक्षा हुन जरुरि छ ताकि यस्तै आपतकालिन समयमा राज्य पक्षले अभिभावकत्त्व गर्न सकोस ।

चाहे के गर्न सकिदैन भन्ने कुरा सुदूरपश्चिम विश्वविध्यालय बाट समेत सिक्न सकिन्छ । आउनुहोस, अव कोभिडका बेला सु.प. विश्वविध्यालयले कसरी बैकल्पिक माध्यामबाट आफ्ना दैनिक क्रियाकलापहरू संचालन गर्यो, त्यस बारेमा थोरै भए पनि चर्चा गरौं । कोरोनाकाल नेपालमा सुरु हुनै लाग्दा सु.प. विश्वविध्यालयको उपकुलपतिमा प्रा.डा. अम्मराज जोशी ज्युको पदासन भएको थियो । सुरुवाति चरणमा उहाँले बन्दाबन्दीमा कसरी पढाइलाई नियमितता दिन सकिन्छ भन्ने बारेमा आन्तरिक रुपमा विश्वविध्यालयका पदाधिकारी, प्राध्यापक र विध्यार्थी संघ\संगठनहरु सँग छलफल गर्नु भो, तत् पश्चात बाहिरि देशको अभ्यासका बारेमा समेत अनवेषण गर्ने काम भयो । आवश्यक कुराको सुजबुझ पश्चात बैकल्पिक माध्याम बाट पढाइ गर्ने गरी निर्देशिका जारि भयो र कार्यरत सम्पूर्ण शिक्षक\कर्मचारीहरुलाई त्यस सम्वन्धि तालिम समेत दिने काम भयो । विश्वविध्यालयमा आबद्द क्याम्पसहरु उच्च हिमाली भाग देखि तराई सम्मै फैलिएका कारण यो कार्य आफैमा चुनौतिपूर्ण थियो । त्यसको बारेमा समेत सम्भाव्यता अध्ययनका कुराहरु भए । अन्तत्त्वगत्वा बन्दाबन्दि सुरु भएको २\३ महिना पश्चात नै अप्रत्यक्ष माध्याम बाट पढाइ र परीक्षा संचालनका कामहरु सुरु गरिए । यो क्रम आजका दिन सम्म पनि चलेकै छ । यति भनिरहँदा प्रष्ट हुन्छ, जहाँ इच्छा त्यहाँ उपाय । विध्यालय तहमा पनि सिकाइ सहजिकरणका लागि यस्तै तरहले केहि न केहि गरिनु पर्थ्यो भन्ने कुरा हो ।

कोभिड हामी जस्ता कुरा मात्र गर्ने काम नगर्नेका लागि महामारी साबित भएता पनि कतिपयका लागि अवसर साबित भयो । विश्वमा अकल्पनीय तरिकाले नयाँ नयाँ कुराहरुको सिर्जना भयो । अप्रत्यक्ष तरिका बाट सिकाइ सहजिकणका लागि जुम, गुगल मीट, माइक्रोसोफ्ट टिम, गुगल क्लासरुम, मुडल, आदि जस्ता साधनहरुको विकास भइ प्रचुर मात्रामा प्रयोगमा आए । नेपालका कतिपय शिक्षण संस्थाहरुले समेत यि साधनहरुका माध्याम बाट प्रचुर फाईदा लिन भ्याए । गत बर्षको एउटा कार्यक्रममा प्रा. डा. कटक मल्लले कोराना कालमा स्विडेनमा अध्यन\अध्यापन कार्य एक दिन पनि नरोकीएको बरु प्रत्यक्ष भन्दा अप्रत्यक्ष तरहले शिक्षण कार्य झनै प्रभावकारी भएको कुरा सुन्न पाँउदा त्यहाँको विकास र आपतकालिन तयारीका बारेमा मलाई सोच्न बाध्य बनाएको थियो । हुन पनि हो, विकसित दुनियाँले हाम्रो जस्तो दुर्दशा बेहर्नु परेन पनि । हामीकहाँ त दिन भर जसो स्कूले वालवालिकाहरु सडक छाप भएका छन । दुर्गमका वालवालिकाहरु वनपाखा र खेतवारीमा व्यस्त छन भने सहरबजारका हरु फेसबुक, फ्रि फायर, पब्जि, टिकटक, सेल्फि, आदिमा नै लीन छन । समुदायमा यो प्रतिविम्वले झझल्को दिइरहँदा समेत राज्य पक्ष भने मुकदर्शक बनेको छ । आखिर यो कहिले सम्म?

आशा छ, कोरोनाकाल आलस्यमै बिते पनि अब उप्रान्तका सम्भाव्य आपतकालहरु उर्जाशिल बनुन । राज्य पक्ष सचेत भएर अगाडि बढ्न सकोस् । सकभर छिट्टै कोरोनाकालको अन्त्य भइ स्कूले वालवालिकाहरु लामबद्द भइ स्कूल तिर गइरहेका देख्न पाइयोस । कलेजहरु खुलुन, सरोकारवाला निकायहरु आजै बाट सम्भाब्य जोखिम न्युनिकरण गर्न तथा आपतकालको तयारि तर्फ जुटुन । कोभिड जस्तै महामारीहरु अभिशाप मात्र हैन बरदान सावित हुन सकुन, शुभकामना !!!

यस लेखका लेखक एल बि बोहरा जयपृथ्वी बहुमुखी क्याम्पसमा प्राध्यापनरत छन। हामीले यस लेखको नाम ‘कोरोना महामारी, शिक्षा र हाम्रो जिम्मेवारी ’ राखेका छौं । बोहरा दुर्गम हिमाली जिल्ला बझाङमा बिगत १६ बर्ष देखि प्राध्यापन गदै आएका छन् । कोभिड महामारीले शैक्षिक संस्थाहरुमा पारेको प्रभाव बारे धेरै कुराहरु यो लेखमा जोडिएका छन । शैक्षिक सस्था र बालबालिकामा कोरोनाले पारेको असर बारे यो लेख निकै प्रभावकारी हुनेछ। । हामी उनका थप लेखहरुलाई धारावाहिक रुपमा प्रस्तुत गर्दै जानेछौं । – सम्पादक