एमालेमा पुष्पलाल, मनमोहन र मदनको परिवारले स्थान पाएनन् : प्रकाश शाह

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : नेकपा एमालेबाट अलग भई हालै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता प्रकाश शाहले एमालेमा पार्टीका संस्थापक नेताहरूका परिवारलाई स्थान नदिइएको आरोप लगाएका छन् ।

बुधबार बझाङको सदरमुकाम चैनपुरमा नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै शाहले पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताहरूको योगदानलाई एमाले नेतृत्वले उपेक्षा गरेको बताए ।

उनले भने, ‘एमालेमा पुष्पलाल, मनमोहन र मदन भण्डारी मात्र होइन, ५० वर्षसम्म पार्टीमा संघर्ष गरेका डा. भीम रावललाई समेत ठाउँ छैन । यो पार्टीको इतिहास र योगदानमाथि गरिएको अन्याय हो ।’

शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्य दुवैलाई निरङ्कुशताका दिशातर्फ धकेलेको आरोप लगाए । ओली नेतृत्वको सरकारमा तानाशाही प्रवृत्ति हाबी भएपछि आफूहरूलाई एमाले छाड्न बाध्य हुनुपरेको उनको भनाइ थियो ।

‘नेतामा निरङ्कुशता र कार्यकर्तामा दास प्रवृत्ति हावी भएपछि पार्टीभित्र विद्रोह स्वाभाविक भयो, उनले भने, ‘त्यही परिस्थितिका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधव नेपाल र भीम रावलहरू एकै ठाउँमा उभिन बाध्य भएका हुन् ।’

शाहले नेपाली कम्युनिष्ट पार्टीले कम्युनिष्ट आन्दोलनको मूल मर्म, लोकतान्त्रिक मूल्य र सामूहिक नेतृत्वको अभ्यासलाई पुनः स्थापित गर्ने दाबीसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *