‘प्रशासनलाई झुक्याएर मेला संचालन गरियाे’ : सिडियाे
‘निर्णय उलंघन गर्न थालेको जानकारी पाउँदा पाउदै रोक्नलाई थप जनशक्ती परिचालन गरिएन’ : गाउँपालिका अध्यक्ष
बझाङ – सोमबार छविसपाथिभेरा गाउँपालिकाको बान्नी चौरमा भव्य मेला लाग्यो । सुदुरपश्चिमकै प्रसिद्ध मेला मानिने ‘बान्नीकी चैतली’ मनाउन सयौं मानिस भेला भएर लकडाउनको धज्जी उडाएको खबर देशभर सनसनीपुर्ण फैलियो ।
लकडाउन उल्लंघन गर्न अगुवाई गरेको भन्दै प्रहरीले बुधबार (मेला सकिएको दुई दिन पछि) जनप्रतिनिधिसहित नौजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । जसमा चार वडा अध्यक्ष, बान्नी मष्टा मन्दिरका पुजारी र बान्नी मष्टा मन्दिर संरक्षण समितिका पदाधिकारी छन् । उनीहरु प्रहरी हिरासतमा छन् ।
मेला लगाएको र सोही आरोपमा जनप्रतिनिधि पक्राउ परेको घटना यतिबेला चर्चाको बिषय बनेको छ । यता लकडाउन उल्लंघन हुनुमा गृह मन्त्रालय मातहतको प्रहरी प्रशासन र स्थानीय सरकारका जनप्रतिनिधि आरोप प्रत्यारोप गरिरहेका छन् ।
जनप्रतिनिधीले प्रहरी प्रशासनको लापरवाही जिम्मेवार रहेको आरोप लगाइरहेका छन भने जनप्रतिनिधीले सही सुचना नदिएका कारण भिड जम्मा हुनबाट रोक्न नसकिएको प्रहरी प्रशासनको भनाइ छ । जनप्रतिनिधीले लकडाउनलाई हल्का रुपमा लिएको, स्थानीय प्रशासनले यहाँका मानिसहरुमा गडेर रहेको धार्मीक आस्थाको पुर्व अनुमान गर्न नसक्दा र सम्भावित भिडलाई रोक्नको लागि थप सुरक्षाकर्मी तत्काल परिचालन गर्न नसकेकाले यो घटना भएको विष्लेषण गर्न थालिएको छ ।
देशभर लकडाउन घोषणा भएकै दिन (चैत्र ११ गते) छविसपाथीभेरामा यसको उल्लंघन भैसकेको थियो । परम्परा अनुसार काक्रेऔंसी (घोडेजात्रा)को दिन बाट नै बान्नीकी चैतली मेलाको सुरुवात हुन्छ । यस दिन छविसपाथीभेरा गाउँपालिकाका धामीगाउँ, बोहरा गाउँ र मुम्लाका सबै पुरुषहरु काँकर (काठको लिंगो) काटनका लागि अलग–अलग तीन वटा जंगलमा गएका थिए ।
एउटा समुहमा चार देखी आठ सय जना सम्म रहेका उनीहरु त्यो साँझ जंगलमै बास बसेर भोलीपल्ट मात्र काँकर ल्याएर फर्किएका थिए । यसबारे व्यासी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक मदन धामीलाई जानकारी भैसकेको थियो ।
काँकर काटेर ल्याइसकेपछि चैत्र शुक्ल त्रयोदशीका दिन अनिवार्य रुपमा बान्नी मष्टा मन्दिरमा चढाउनु पर्ने चैतलीको परम्परा छ । यस दिन यि तीन वटै गाउँमा कुनै मानिसको मृत्यू भएको छ भने पनि शवलाई घर भित्रै राखेर काँकर चढाइसके पछि मात्र दाहसंस्कार गर्ने चलन छ ।
सरकारले लकडाउनको घोषणा गरेको भोलीपल्टै (चैत्र १२ गते) बसेको छविसपाथीभेरा गाउँ कार्यपालिकाको बैठकले संभावित संक्रमणको जोखिम र परम्परा धान्नुपर्ने बाध्यताका बीच सिमित मानिस भेला गरेर मेलालाई औपचारीक रुपमा सम्पन्न गर्ने र मानिसहरुको उपस्थिती रोक्ने निर्णय गरेको भएको थियो ।
उक्त निर्णय पछि बान्नी मष्टा मन्दिर संरक्षण समितिले पनि सोही अनुसार आन्तरिक सहमती गर्दै मेलामा उपस्थित नहुन जिल्लाका सबै स्थानीय रेडियोबाट चैत्र १२ गते देखी सुचना प्रशारण ग¥यो । यद्यपी गाउँमा मेला रोक्न नमिल्ने र पुर्ववत संचालन गर्नुपर्ने भन्ने बहस भने चलिरह्यो ।
यसै बीच चैत्र १८ गते गाउँपालिकाको कोरोना नियन्त्रण समन्वय समितिको समेत बैठक बसेर मेला नगर्ने निर्णय ग¥यो । गाउँपालिकाको तर्फबाट पनि स्थानीय रेडियो मार्फत मेला नहुने सुचना प्रशारण गर्न लगाइयो । तर सोमबार उक्त मेला सम्पन्न भएरै छाड्यो ।
गाउँपालिका अध्यक्षले सिडियो सँगको कुराकानीमा रित पुर्याउनका लागि मात्र न्युन उपस्थितीमा मेला गराउने कुरा भन्नु भएको रहेछ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी गणेश बमले भने, ‘हामीले पनि त्यही कुराको विश्वासमा परेर ढुक्क भयौं, जनप्रतिनिधीको सुचनामा विश्वास गर्दा यो घटना भएको हो ।’
गाउँपालिकाकी उपाध्यक्ष राधीका रतालाले सदरमुकामबाट मेलास्थल पुग्न एक घण्टा मात्रै लाग्ने र मानिसहरु जम्मा हुन थालेको जानकारी पाएपनि प्रहरीले थप बल पठाएर नियन्त्रणको प्रयास नगरेको बताईन ।
सोमबार मेलाको दिन विहान भिड जम्मा हुन सक्ने भन्दै गाउँपालिका उपाध्यक्ष राधिका रतालाले मानिसहरुलाई बान्नी चौर प्रवेश गर्ने मुख्य नाकामा रहेको मटेला प्रहरी चौकीलाई फोन गरेर मेला स्थल तर्फ आउनेहरुलाई रोक्न अनुरोध गरेको चौकी इन्चार्ज प्रहरी सहायक निरिक्षक धनञ्जय जोशीले स्विकारेका छन् ।
‘हामीले रेडियोबाट पनि मेला नहुने सुचना गरिसकेका छौ तरपनि यहाँका मानिसहरु आस्थाका कारणले पुजा गर्न आउन सक्छन, कोही आयो भने फर्काइदिनु होला भनेर उपाध्यक्ष ज्यूले विहानै फोन गर्नु भएको थियो’ उनले भने ‘उपाध्यक्षले त्यसो भने पछि म आफै खटिएर कसैलाई पनि त्यता जान दिएको थिइन ।
कसरी त्यहाँ भिड जम्मा भयो, थाहै भएन’ उनले भाँडे जयपृथ्वी नगर सडकको बाटो भएर कोही पनि मेला स्थल नगएको भए पनि बैकल्पिक बाटोबाट पैदलै मानिसहरु त्यहाँ गएको हुन सक्ने बताए ।
मेला स्थल बान्नी चौरबाट करिब एक किलोमिटरको दुरीमा व्याँसी प्रहरी चौकी छ । मेलाको दिन व्यासीमा रहेका ८ मध्ये ७ र छिमेकी दुर्गाथली गाउँपालिकाको प्रहरी चौकीबाट आएका ४ गरी ११ जना प्रहरीलाई विभिन्न ४ नाकामा परिचालन गरिएको थियो ।
व्याँसी प्रहरी चौकीका इन्चार्ज मदन धामीका अनुसार विहान १० बजेसम्म मानिसहरुलाई मेला स्थल जान दिइएन । ११ वजे तिर मुम्ला गाउँको काँकर ल्याएर डेढ दुइ सय मानिसहरुको भिड आएपछि आफुले रोक्न खोज्दा नमानेपछि थप बल पठाइदिन जिल्ला प्रहरीमा जानकारी गराए ।
‘गोली खानुपरे पनि हामी मेला मनाउछौं भनेर उल्टै हामीलाई थर्काए । मैले तुरुन्त यो कुरा जानकारी जिल्लामा गराएको थिएँ’ उनले भने ‘डिएसपीले गाउँपालिका अध्यक्ष सँग कुरा गर्ने भन्नु भयो । वहाँको मोवाईल स्विच अफ रहेछ भन्नु भयो ।’ त्यसपछि दुई प्रहरीलाई अध्यक्षको घरमा पठाएको तर अध्यक्ष घरमा नभेटिए पछि सोको जानकारी डिएसपीलाई दिदां सिडियो सँग सल्लाह गरेर पछि खबर गर्ने जवाफ दिए । दिन छिप्पिदै जादा झुटेरा, धामी गाउँ र बोहरा गाँउ लगायतका ठाउँबाट सयौंको संख्यामा मानिसहरु आउन थाले पछि आफुहरुले रोक्न नसकेको उनले बताए ।
‘मानिसहरु उर्लेर आउन थाले पछि प्रहरीले जिल्लामा खबर गर्दा पनि थप बल नपठाएका कारण यो घटना भएको हो’ उपाध्यक्ष रतालाले भनिन ‘हामीले त मेला बन्द गर्ने निर्णय गरेका थियौं । यस्तो होला भन्ने कल्पना कसरी गर्नु ?’
यता गाउँपालिका अध्यक्ष अक्कल धामीले गाउँपालिकाले गरेको निर्णय स्थानियले उलंघन गर्दा स्थानिय सरकारलाई सहयोग गर्नुको साटो जनप्रतिनिधीलाई पक्राउ गर्ने काम गरेर प्रहरीले निरिहता देखाएको आरोप लगाएका छन् । ‘जनताले गाउँपालिकाको निर्णय उलंघन गर्न थालेको जानकारी पाउँदा पाउदै यसलाई रोक्न थप जनशक्ती परिचालन नगर्ने र मेला सकिएको दुई दिन पछि जनप्रतिनिधीहरुलाई पक्राउ गर्ने काम गरेर प्रहरीले गैर जिम्मेवार काम गरेको छ,’ उनले भने । जनप्रतिनिधीलाई पक्राउ गरेर प्रहरी प्रशासनले पानी माथीको ओभानो बन्न खोजेको उनको आरोप छ ।
प्रमुख जिल्ला अधिकारी उमेस पाण्डे भने जनप्रतिनिधीहरुले प्रशासनलाई झुक्याएर मेला संचालन गरेका कारण पक्राउ परेकाहरुलाई कारबाही हुने बताउँछन् । आफुले तीन पटक मेला स्थगित गर्नका लागि गाउँपालिकालाई पत्राचार गरेको र पटक पटक गाउँपालिका अध्यक्षलाई फोन गर्दा पनि मेला नहुने भनेर आफुलाई भनेका कारण सुरक्षा प्रवन्ध मिलाउन नसकेको उनले बताए ।
‘हामीलाई कुनै गलत सुचना दिएर झुक्याउने, अनी अहिले आएर प्रशासनले असयोग गर्यो भनेर दोष लगाएर उम्किन मिल्दैन । अध्यक्ष जस्तो जिम्मेवार मान्छेले भनिसके पछि मैले कसरी नपत्याउनु ?’ उनले मानिसहरु जम्मा हुन थालेको सुचना प्राप्त भैसके पछि तत्काल थप सुरक्षा बल पठाउन नसक्नु प्रशासनको कमजोरी जस्तो देखिए पनि भौगोलिक दुरीका कारण त्यो सम्भव नरहेको बताए ।
स्थानीय चिन्तित
चैतली मेलामा भएको घटनाका कारण जनप्रतिनिधी र प्रशासन बीच आरोप प्रत्यारोप चलिरहदा मेलामा सहभागी भएकाहरु अन्य स्थानमा जान सक्ने र उनीहरु मध्ये कोही संक्रमित भएमा रोग फैलन सक्ने भन्दै स्थानियहरु चिन्ता गर्न थालेका छन । यो मेलामा चैत्र ६ गते देखी १० गते सम्म भारतबाट आएका चार सय भन्दा बढी मानिसहरु पनि सहभागी भएको स्थानियले बताएका छन । यस अवस्थामा स्थानिय सरकार र प्रशासन मिलेर मेलामा सहभागी भएकाहरु गाउँबाट बाहिर जान नदिन र सबैको परिक्षण गर्न तिर लाग्नु नै बुद्धीमानी हुने स्थानीय कटक सिंह धामीले बताए ।