बजारमै नपाईने तर पढाइने कृषि बालीका जात

ब्लग

सीता बाँठा मगर

कृषिमा स्नातक पास गरेपछि कृषि अधिकृत भएर एक गैह्र-सरकारी सँस्थामा काम गर्न गए । सन् २००८ तिरको कुरा हो कृषकहरुलाई तरकारीका केही नयाँ जात ‘ट्राई’गर्न लगाउनु पर्यो भनेर एग्रोभेटमा गए र तरकारीका विभिन्न जातको सुची एग्रोभेटलाई देखाउदै यि जातहरु दिनुस् न भनेँ । एग्रोभेटवाला दाई मलाई देखेर छक्क पर्नु भयो र सोध्नु भयो, ‘नानी तिमी कुन ग्रहबाट आयौ ? यि मध्ये त कुनै जात यहाँ कुनै एग्रोभेटमा पाईदैन त।’ अनि मैले ‘ए!!!!!’ भनेर, ‘तपाईसँग कुन कुन जात छ त?’ भनेर सोधे । उहाँसँग भएको जातहरु नै लिएर गएँ ।

हामीले सेमेस्टर परिक्षाका लागि घाेकेका जातका नाम त नेपालमै नपाईने पो रहेछन् त । बेकारमा हाम्लाई दुख किन दिईएको होला भन्ने लाग्यो । पढ्न त राम्रो कुरा पढाईएको हो नि – विभिन्न रोग किरा सहन सक्ने जात, होचा जात, अग्ला जात, यस्तो फल्ने जात, उस्तो फल्ने जात । यति जान्ने भईयो कि सँसार भरिका जात कन्ठस्त पारियो । स्नातक पास गर्ने बेला लाग्यो, ‌’ओहो नेपालको कृषिमा त क्रान्ति नै पो गर्न सकिन्छ कि क्या हो !’ ‘यस्ता रोग सहन सक्ने जात लगाए त किसानलाई गाह्रै हुन्न नि, विचरा किसानलाई यि जातको बारेमा थाहा नभएर पो हो’ भन्ने लाग्थ्यो । तर त्यतिबेला यो पढिएन या पढाईएन मैले अहिले विर्से (हामी पनि विद्यार्थी न थियौँ, त्यति गम्भिरता पूर्वक त कहाँ पढिन्छ र?)

  • ति जातहरु नेपालका किसानको पहुँचमा थियो कि थिएन
  • या थियो भने कहाँ उपलब्ध थिए
  • या नेपालमा उपलब्ध थिएन कि
  • या नेपालमै नभएका जात किन जान्न जरुरी थियो
  • या जाने पनि कन्ठै पार्न जरुरी थियो कि थिएन
  • नेपालमा पाईन्न भने किन पाईन्न

नेपालमा जात विकास उन्मोचन र नेपाल बाहिरका जातको पञ्जिकरण प्रक्रिया, निकायका बारेमा त पढाईएको थियो तर यि जात नेपालको एग्रोभेटमा पाइदो रहेनछ भन्ने चाही छुटेछ कि या मै हुस्सु हो त्यस्तो कुरा नबुझ्ने ? अहिले सम्म बुझेको छैन हजुर !

सन् २०१३ ताका मैले व्यावसायिक रुपमै कट् फ्लावर वाला फूल ‘जर्बेरा’ भन्नेको खेति सुरू गरेँ। यी फूलका बेर्ना उत्पादन गर्ने कम्पनि, जुन चाँही नेदरल्यान्डको कम्पनि हो तर उनीहरुको शाखा चीनमा थियो, म सँग सिधै सम्पर्क भयो । उस्ले विभिन्न जातका उत्पादनबारे जानकारी विवरण र फोटो सहितका किताब (क्याटलग) पठाएपछि बल्ल थाहा भो एउटै फूलका यति धेरै जातहरु हुने रहेछन् भनेर । अनि ती कम्पनीले क्याटलगमा भएका जातहरु सबै उत्पादनमा छैनन् भनेर पनि जानकारी दिए किनकि माग नआएकाले ती जातका उत्पादन बन्द गरेको रहेछ ।

त्यतिबेला त ती जातहरु नेपालमा पञ्जिकृत थिए कि थिएनन् त्यो पनि हेरिएन । विदेशबाट बिरुवा मगाउँदा नेपालको सम्बन्धित निकायबाट आयत अनुमति पत्र चाँही बनाएँ र उताबाट कम्पनिले पनि ती बिरुवामा रोग किरा छैनन् भन्ने प्रमाणित कागज पठाएको थियो । मैले ती जातहरु छान्दा क्याटलगमा दिइएको उत्पादन सम्बन्धि जानकारी र फोटोको आधारमा छानेको थिँए । दुई चारवटा जातका फूल त ठ्याक्कै क्याटलगको जस्तो पो निस्केनन् त । कम्पनिले ठग्यो कि यताको हावापानी फरक परेर त्यसो भयो त्यो थाहा भएन । यसो यस्ता जात परिक्षणका काम त नेपाल सरकारले गरिदिए पनि हुने जस्तो लागेको थियो । कृषि व्यवसायिले घाटा खानु पर्ने थिएन ? मेरा दुई चार जातले फेल खाएपछि मेरो लगानी र मेहेनत खेर गयो। अनि मलाई यस व्यवसायमा कसरी उत्साह आओस् त । किसानलै नै आफ्नै लगानीमा यस्ता जातको ट्राईल गर्ने, धेरै जोखिम लिनु पर्ने र उस्तै परे घाटा व्यहोर्नु परेको छ ।

क्याटलगबाट जात छान्न भन्दा अगाडी मैले गुगलमा यसो नेपालमा कुनै जर्बेराका जातको नेपालमा परिक्षण जात गरेको छ कि र यसको उत्पादन आँकडा कतै पाईन्छ कि भनेर खोजेँ पनि तर मैले खोजेको खालको प्रतिवेदन, लेख या पेपर भेटिन या मैले खोज्न जानिन, त्यो पनि थाहा भएन । केही त भेटिएका थिए तर कति त मैले बुझ्ने किसिमका थिएनन् र मैले तीबाट उपयोगिता लिन सकिन । हुन त म कृषि पढेकै व्यक्ति हो तर मसंग शैक्षिक अनुसन्धानका पेपरहरु बुझ्ने क्षमता या ज्ञानको कमी थियो कि? त्यो पनि बुझ्न सकिन । मैले बुझिन भनेर ति पेपरहरुलाई दोष लगाउन पनि मिलेन ।

फेरि बिउको जातकै अर्को प्रसंग सन् २०१४ ताका कृषकहरुलाई तरकारी खेति सम्बन्धि तालिम दिनु पर्ने भयो । म प्रशिक्षक ताेकिए । तयारी त गर्नै पर्यो अनि तरकारी खेतिका बारेमा लेखिएका सरकारी निकाय व्यक्तिका किताबहरु सँकलन गरेँ र अनि तरकारीका जातका नाम पनि टिप्न लागेँ । ति किताबमा पनि भएका जातका तरकारी बजारमै नपाईने थिए । मलाई लाग्यो बजारमै नपाईने जातका नाम कृषकलाई पढाएर त भएन किनकि त्यो ज्ञानको त कुनै उपयोगिता नै हुने छैन ।

त्यसपछि तरकारीको बिउ आयात गर्ने र बिक्री गर्ने कम्पनि चलाई रहेका एक जना साथिलाई फोन गरें र साथिबाट पाएको जानकारीका आधारमा कृषकहरुलाई ति जातहरुको विवरण उपलब्ध गराएँ। साथीले बढी नाफा हुने जातको मात्र जानकारी दिएन होला भन्ने मलाई लाग्छ । किताब लेख्नेले पनि कुन कुन जातहरु वास्तवमै बजारमा उपलब्ध छन् त भन्ने पत्ता लगाई उपयोगी जानकारी मात्र राखिदिने भए पो कृषकलाई पनि सजिलो हुन्थ्यो नि नत्र किताब पढेर पनि किसानलाई त्यति सहयोग हुने भएन । यसो दुई चार चना लेखकको टमाटर खेति सम्बन्धि किताब किन्यो पढ्यो जातको कान्डमा सबैमा त्यहि नै भेटिन्छ । गाह्रो छ पो त।

अनि फिल्ड तिर किसानलाई तपाईहरुलाई के बारेमा जान्न मन छ नि भन्दा उहाँहररुको धेरै माग विभिन्न थरीका अनि राम्रा-राम्रा जातको बारेमा जान्न मन छ भन्ने हुन्छ तर विडम्बना जातबारे वास्तविक र विश्वसनिय जानकारी पाउनै गाह्रो छ, जानकारी पाई हाले पनि पत्याउनै गाह्रो छ, पत्याए पनि ती जातहरु बजारमा पाउनै गाह्रो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *