बझाङ– २०६२ सालमा मोहन मल्ल २४ वर्षका थिए । युवा उमेरमा जोस, जाँगर र तन्दुरुस्तीका हिसाबले ठिकठाक हुनु पर्ने मल्लको स्वास्थ्य भने ठिक थिएन । हात , खुट्टा र कम्मर दुखिरहन्थ्यो । पेटको समस्याले खाएको पच्दैन थियो । अल्छी लागिरहन्थ्यो । मन सधै विरक्त हुन्थ्यो । जिल्लामा ठिक नभए पछि काठमाण्डौ पुगेर जाँच गर्दा उनको फोक्सोमा पानी पनि जमेको देखियो ।
‘फोक्सोमा पानी, पेटमा समस्या, लिगामेन्टमा समस्या चेक गराउँदा रोगै रोग मात्रै देखियो ।’ मल्लले आज भन्दा १८ बर्ष पहिलाका दिन स्मरण गर्दै भने ‘डाक्टरले एक महिनाको लागि एक झोला औसधी दिएर फेरी आउनु भने । औसधी सँगै चिन्ता बोकेर म बझाङ फर्किएँ’ मल्ल बझाङ फर्केको केही दिन पछि सदरमुकाम चैनपुरमा योग शिविर चल्दै छ भन्ने हल्ला सुनें । नियमित योग गर्दा असाध्य रोग पनि निको हुने सुनेका उनी शिविरमा सहभागी भए । प्रशिक्षक थिए, डडेल्धुराका गोविन्द बोहरा ।
बोहराबाट उनले योग अभ्यासको तरिका मात्रै थाहा पाएनन । नियमित योग गर्दा हुने फाइदाका बारेमा पनि थप जान्ने मौका पाए । मल्ललाई लाग्यो, जिवनभर औसधी खाएर बाँच्नु भन्दा एक दुइ वर्ष योग गरि हेर्छू । ‘त्यस पछि म नियमित योग गर्न थालें । योगमा लागे पछि त दिनका दिन स्वास्थ्यमा सुधार हुन थाल्यो । एक बर्ष पछि त हेर्दा हेर्दै म स्वस्थ भैसके भन्ने लाग्यो’ उनले भने, ‘स्वास्थ्य जस्तो कुरा एक पटक जाँच गराउन पर्छ भनेर फेरी उनै डाक्टर कहाँ जँचाउन काठमाण्डौ पुगे । साँच्चै सबै समस्या ठिक भैसकेको रहेछ।’
उनको स्वास्थ्य जाँच गर्ने चिकित्सक डा. विधान निधी पौडेल पहिले र पछिको रिर्पाेट दाँज्दा छक्क परे । ‘यस्तो कसरी सम्भव भयो ? के औसधी खानु भयो भनेर उहाँले मलाई सोध्नु भयो’ मल्ल भन्छन ‘मैले काठमाण्डौबाट लिएको औसधी पनि सबै नखाएको बरु एक बर्ष देखी नियमित योग अभ्यास गरेको कुरा सुनाउँदा उहाँ खुशी हुनु भयो । अचम्म पनि पर्नु भयो’ त्यही भेटमा पौडेलले उनलाई योगमा लाग्न थप प्रेरित पनि गरेको मल्लले सुनाए । ‘बझाङ जस्तो ठाउँमा स्वास्थ्य सेवा राम्रो छैन । तपाई स्वस्थ हुनु भयो । अव अरुलाई पनि स्वस्थ बनाउन तिर लाग्नुस भनेर उहाँले भन्नु भयो । मेरो मनले पनि त्यही भनिरहेको थियो । त्यही दिन योग फैलाउने अभियान चलाउछु भनेर प्रण गरें मल्लले भने ।
बझाङभर योग फैलाउने प्रण त गरे तर उनलाई सजिलो भने थिएन । सुरुमा घरमै योग अभ्यास गर्दा उनलाई घरकै मान्छेले पनि बौलाउन लाग्यो, खुस्क्यो भनेर उडाएका थिए । स्वास्थ्यमा सुधार भए पछि घरका मान्छेले योग चिने पनि बझाङका अरु स्थानियलाई चिनाउन त्यो वेला निकै गाह्रो थियो । अरुलाई सम्झाउन आफुले यो विषयमा थप जान्नु पर्छ भन्ने बुझेका मल्ल योग सम्बन्धी प्रशिक्षक तालिम लिन बझाङबाट विरगंज पुगे । जहाँ भारतिय योगगुरु रामदेव प्रशिक्षक थिए । त्यो तालिमले उनको शारिरिक अभ्यास र योग प्रतिको बुझाई अझ व्यापक भयो । त्यसपछी थप तालिम लिन उनि टिकापुर, महेन्द्रनर र भारतको हरिद्धार सम्म पुगे । सदरमुकाम चैनपुरमा डेरा गरी बस्ने उनले अव कोही मान्छे भेट्यो की योग गर्न प्रेरित गर्न थाले । स्थानिय बुद्धीजिबी विश्वप्रकास जेठाराको अध्यक्षतामा योगको बारे थाहा पाएका स्थानियलाई समेटेर समिति पनि गठन गरे । योगको फाइदा बारे थाहा पाएका चारपाँच जना भएर सँगै योग गर्थे । निक्कै सम्झाएक पछि स्थानिय एकदुइजना एक दुइ दिन योग गर्न आउथे, केही दिन मै छोडिहाल्थे । धेरै जसो त योगको कुरा गर्यो की हाँस्न थाल्थे ।
२०६८ साल सम्म छ वर्षको अवधीमा उनले आफु बाहेक थप चारपाँच जनालाई नियमित योग गर्ने बनाइसकेका थिए । तर जिल्ला भर योग शिक्षा पुर्याउन यतिले पर्याप्त थिए । जिल्लावासीलाई बुझाउन गाह्रो भए पछि उनि बाहिरबाट आएका कर्मचारी कोही योग बुझेका छन की भनेर खोज्दै हिड्न थाले । ‘कोही नयाँ कर्मचारी आयो की परिचय गर्न गैहाल्थे । यसै विच रेग्मी थरका एकजना सीडीयोसाब योग अभ्यास गर्ने रहेछ । उहाँसँग भेट भए पछि जिल्ला प्रशाशन हलमा विहान विहान योग गर्न थाल्यौं’ मल्लले सुरुवाती दिन सम्झदै भने, ‘सिडीयोलाई नै अनुरोध गरेर अरु मान्छेलाई पनि योग प्रेरित गर्नु पर्यो भनेर भन्यौं। केही बाहिरका र केही स्थानिय कर्मचारीहरु पनि जोडिए तर उहाँ सरुवा भएर गैसके पछि फेरी घटन थाले’
सामान्य शारिरिक अभ्यास नगरेका कारण विभिन्न रोग लागेका तर उपचार खर्च नपाएर भौतारिरहेकाहरु दिनहुँ जसो भेटिन्थे । जिल्लामा सबै रोगको उपचार पनि सम्भव थिएन । उनिहरुलाई योगमा जोड्न सके स्वास्थ्यलाभ हुने थियो भन्ने मल्लको सोच झन बलियो हुन्थ्यो तर सम्झाउनै कठिन । यसै विच उनको पतञ्जती योग केन्द्रिय समितिका लबदेव मिश्रसँग चिनजान भयो । त्यो परिचयले उनलाई अभियान फैलाउन सहयोग गर्यो । मल्लको अनुरोधमा मिश्रले हरिद्धारमा हुने प्रत्येक प्रशिक्षक तालिममा बझाङका एक दुइ जनालाई सहभागी गराइदिन थाले । ‘जो प्रशिक्षक तालिममा जान्थे, उनीहरुले योगको महत्व बुझेर आउँथे र अरुलाई पनि सम्झाउँथे’ मल्ल भन्छन, ‘यो आइडियाले धेरै राम्रो काम गर्यो । २०७० साल सम्म पुग्दा त चैनपुरमै पचास जना जति नियमित योग साधक तयार भए’ शारिरिक र मानसिक रुपमा रोग भएका धेरैको स्वास्थ्यमा सुधार हुन थाले पछि विस्तारै स्थानियहरु योग प्रति आर्कषित हुन थालेको उनले सुनाए ।
योग गर्नेहरु त दिन दिनै थपिन थाले तर अर्काे समस्या सुरु भयो । यत्रो मान्छे कहाँ गएर योग अभ्यास गर्ने ? ‘मौसम ठिक हुँदा त खुला चौरमा गथ्र्याै, पानी परेको बेला गाह्रो हुन थाल्यो मल्लले योग गर्ने ठाउँ खोज्दाका दुख सुनाउदै भने, ‘विहान चार बजे देखी छ बजे सम्मका योग गछौ । कार्यालयलाई समस्या हुदैन भनेर भन्दा पनि कसैले नदिने । जिविसका एक लेखापालले त हामीलाई पागलहरुको समुह भनेर भित्र छिर्न पनि दिएनन ।
योगको बारे बुझेका युवराज कट्टेल भन्ने व्यक्ती एलडियो भएर आए पछि केही वर्ष जिविसको हलमा योग अभ्यास गर्न दिएको तर २०७४ सालमा जनप्रतिनिधी आए पछि त्यहाँबाट धपाएको सुनाए । त्यसपछी उनिहरुको टिम हल खोज्दै सबै कार्यालय धाए । केही सिप नलागे पछी पार्टी कार्यालयका हलको लागि दलका नेतालाई गुहारे । एमालेले पार्टी कार्यालयको हल त दिने भयो तर सबै मान्छेलाई ठाउँ नपुग्ने भयो । त्यै पनि दुइ वर्ष उनिहरुले एमाले पार्टीको हल र जिल्ला आर्युवेद कार्यालयको हलमा दुइ समुहमा बाँडिएर भए पनि योगअभ्यास गर्न थाले ।
योग गर्नेहरुको संख्या बढ्न थाले पछि आफ्नै हल बनाउने कुरामा छलफल भयो तर रकम कहाँबाट ल्याउने ? अन्तमा मल्ल लगायतका ११ जनाले आफ्नै रकम लगानी गरेर जग्गा किन्ने र चन्दा संकलन गरेर भए पनि भवन बनाउने भनेर कस्सिए । उनिहरुले व्यक्तीगत २२ लाख रकम उठाएर चैनपुरमा जग्गा किने । आफ्नै जग्गा भैसके पछि तत्कालिन प्रतिनिधी सभा सदस्य भैरवबहादुर सिंहले साँसद विकास कोषबाट २५ लाख रकम भवन निर्माणमा दिए । जयपृथ्वी नगरपालिकाले थप १५ लाख सहयोग गरे पछि योग समितिको आफ्नै भवन बन्यो । अहिले दैनिक एक सय जनाले यो भवनमा निशुल्क योग अभ्यास गर्दै आइरहेका छन ।
२०८० साल सम्म आइपुग्दा मल्लको अभियान जिल्लाका १२ वटै पालिकामा पुगिसकेको छ । जिल्ला भरी एक हजार भन्दा बढी नियमित योग साधक छन । केदारस्ुयुको देउरा, झोता र गर्जेपानीमा नियमित निशुल्क योग कक्षा संचालनमा छ । सदरमुकाम चैनपुरको पनि योग भवन बाहेक दुइ वटा अरु ठाउँमा कक्षा हुन्छ । बुगलमा पनि कक्षा छ । यो बाहेक १२ वटै पालिका समितिहरु गठन भएका छन । एक सय भन्दा बढी योग प्रशिक्षक तयार भएका छन । यस विचमा सयौंले स्वास्थ्य लाभ गरिसकेको बताउने मल्ल आफ्नै खर्च गरेर जिल्लाभर योगको महत्व बुझाउँदै र योग सिकाउदै हिडिरहेका छन । योग समितिका अध्यक्ष समेत रहेका मल्लले विभिन्न कार्यालयका कर्मचारी, विद्यार्थी, स्थानिय लगायत पाँच हजार भन्दा बढीलाई विभिन्न योग शिविरमा योग शिक्षा दिइसकेका छन । ‘अबको मेरो लक्ष भनेको १२ वटै पालिकामा नियमित र निशुल्क योग कक्षा संचालन हुने वातावरण बनाउने हो’ मल्ल भन्छन, ‘योगमा नलागेको भए सायद अहिले सम्म म हुदिन थिएँ होला । भए पनि रोगी भएर कुनै अस्पतालको बेडमा हुन्थे होला । मैले नयाँ जिवन पाएँ । अवको बाँकी जिवन अरुको जिवन सहज बनाउने काममा खर्च गर्नेछु।’