बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ छयालामा महर स्पोर्टस् क्लबको आयोजनामा ‘प्रथम महर कप भलिबल प्रतियोगिता–२०८२’ सुरु भएको छ ।
शनिबार भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरले खेलकुदले राष्ट्र, समाज र गाउँठाउँलाई एकतामा बाँध्ने माध्यम भएको बताएका छन् ।
उनले भने, ‘खेलकुदले प्रतिस्पर्धा मात्र होइन, भाइचारा, सहकार्य र राष्ट्रिय एकताको भावना बढाउँछ । खेलले गाउँगाउँमा नयाँ उमंग र ऊर्जा भर्छ ।’
कार्यक्रम क्लबका अध्यक्ष ईश्वर महरको अध्यक्षतामा सुरु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जयपृथ्वी नगरपालिका–७ का वडाध्यक्ष शिवराज जोशी तथा वरिष्ठ अधिवक्ता दलबहादुर धामीको उपस्थिति रहेको थियो ।
भलिबल प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले रु. ५१ हजार १४६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने, द्वितीयले रु. ३१ हजार १४६ र तृतीयले रु. २१ हजार १४६ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
भलिबल खेलसँगै स्थानीय कला, संस्कृति र देउडा प्रदर्शन गरिने र यसले सुवेडाको मौलिकता र सांस्कृतिक पहिचान झल्काउने अपेक्षा गरिएको आयोजक क्लबले जनाएको छ ।
महर स्पोर्टस् क्लबका अध्यक्ष ईश्वर महरले खेलकुदको माध्यमबाट युवालाई एकताबद्ध गर्दै सामाजिक सद्भाव र गाउँको पहिचान विस्तार गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताए ।
