बझाङ : नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वबाट हटे एमालेसँग पनि एकता सम्भव हुने अभिव्यक्ति दिएपछि एमालेका केन्द्रीय सदस्य ऐन महरले कडा प्रतिक्रिया जनाएका छन् । उनले प्रचण्डको अभिव्यक्तिलाई असंगत र हस्तक्षेपपूर्ण बताउँदै ‘एमाले कब्जा गर्ने सपना नदेख्न’ चेतावनी दिएका छन् ।
महरले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘कमरेड प्रचण्ड अभिवादन ! एमालेको नेतृत्व कस्तो बनाउने र को बनाउने भन्ने अधिकार हामीकहाँ छ । त्यसमा चिन्ता लिनु तपाईंको विषय होइन ।’
उनले प्रचण्डले झण्डै चार दशकदेखि माओवादीको नेतृत्व गरिरहे पनि देशमा स्थायित्व र सुशासन ल्याउन नसकेको आरोप लगाएका छन्।
महरले लेखेका छन्, ‘राजा–महाराजाले पनि यति लामो समय शासन गर्न पाएका थिएनन् । त्यसैले अब आफैं के गर्ने भन्ने सोच्नुहोस् र आफ्नै पार्टीको चिन्ता लिनुहोस् ।,’
महरले देशमा अहिले देखिएको अराजकतामूलक अवस्थाको प्रमुख कारण पनि प्रचण्डकै नेतृत्व रहेको बताए । उनले भने,‘देशमा अहिलेको अराजक अवस्था सिर्जना गर्नुमा तपाईंको मुख्य योगदान रहेको कुरा नेपाली जनताले स्पष्ट बुझेका छन् । त्यसको हिसाब जनताले उपयुक्त समयमा लिनेछन् ।’
प्रचण्डले पटक–पटक एमालेसँग पुनः एकता सम्भावना औंल्याउँदै आएको विषयमा महरले त्यसलाई ‘दिवा सपना’को संज्ञा दिएका छन् ।
उनले भनेका छन्, ‘तपाईंले धेरै कोशिश गर्दा पनि सिध्याउन नसकेको पार्टी एमालेमा फेरि आँखा नचम्काउनुहोस्, हात नलम्काउनुहोस् । यो पार्टी कब्जा गर्ने तपाईंको दिवा सपना मात्र हुनेछ ।’
एमालेलाई प्रचण्डको आवश्यकता यो जुनी मात्रै नभएर सात जुनीमा पनि आवश्यक नपर्नेछ नेता महरको भनाई छ । बरु इमानदार र क्रियाशील माओवादी कार्यकर्ताका लागि भने एमालेका ढोका सधैं खुला रहने महरले बताए ।
