बझाङको तलकोटमा ‘फोरजी’ सेवा सञ्चालन

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ : बझाङको तलकोटमा बिहीबारदेखि नेपाल टेलिकमको ‘फोरजी’ सेवा सुरु भएको छ। टेलिकमको टुजी र फोरजी सेवाका लागि जिल्लाको–तलकोट गाउँपालिका–४ बुङ्गाडाँडामा बिटिएस टावर जडान कार्य सम्पन्न भएसँगै पहिलो पटक फोरजी सेवा सञ्चालनमा आएको हो ।

हाल तलकोटमा रहेका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इन्जिनियर तिलक धामीका अनुसार बिहीबारदेखि फोरजी सेवा सञ्चालन भएको छ । प्राविधिक समायोजनअनुसार टुजी सेवा शुक्रबारदेखि चरणबद्ध रूपमा हट्दै जानेछ।

जिल्लाको तलकोट वडा नं १ र ४ मा फोरजी सेवा सञ्चालनमा आएको छ भने बाँकी जयपृथ्वी नगरपालिका–१ र ५ तथा छबिस पाथिभरा गाउँपालिका–१ तथा खप्तडछान्ना गाउँपालिकामा पनि छिट्टै फोरजी सेवा सञ्चालन गरिने जनाइएको छ ।

ती क्षेत्रमा भौतिक संरचना बनिसकेका र बिटिएस उपकरण जडान भएपछि सेवा सञ्चालन हुने टेलिकमले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको समन्वय र ताकेतापछि तलकोटमा फोरजी सञ्चालनमा आएको हो ।

मन्त्री खरेलले दुर्गम क्षेत्रमा टेलिकमको पहुँच सहज बनाउन टेलिकम लागिपरेको र आफूले पनि त्यसलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

उनले बझाङ, बाजुरा, जाजरकोटलगायत दुर्गम जिल्लाको टेलिफोन र इन्टरनेट सेवा विस्तार तथा सेवा गुणस्तर अभिवृद्धिका लागि टेलिकमका सम्बन्धित कार्यालयलाई बारम्बार ताकेता गरिरहेको बताए ।

तलकोट वडा नं ४ का वडाध्यक्ष गोरखबहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको जानकारी दिए । उनले फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीयवासीलाई आपत्कालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदानप्रदानमा सहज हुने उल्लेख गरे ।

जिल्लाको पूर्वी तथा उत्तरी भागमा अवस्थित तलकोट गाउँपालिका जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो । यसअघि सञ्चारमन्त्रीको समन्वय र ताकेतापछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा प्राविधिक मर्मतपछि सञ्चालन भएको थियो ।

सञ्चारमन्त्री खरेलले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशमा सेवा विस्तारको कामलाई विशेष प्राथमिकता दिन सम्बन्धित निकायलाई ताकेता र आवश्यक निर्देशन दिइसकेका छन् ।

साभार : रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *