साइपाल खवर, बझाङ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि बझाङ जिल्लामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १० गते सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२२ जनवरीदेखि जुनसम्म सङ्कलन तथा अभिलेख गरिएका विभिन्न ९९ वटा घटनाहरूको समीक्षा गरिएको थियो । समीक्षाका क्रममा इन्सेक जिल्ला प्रतिनिधि सत्यराज सिंहले ८६ वटा घरेलु हिंसा, जवरजवस्तीका करणी तथा बलत्कारका गरी १० वटा, बहुविवाह सम्वन्धी १ वटा, र्दुव्यवहार सम्वन्धी र बाल अधिकार सम्वन्धी १–१ वटा गरी जम्मा ९९ वटा घटनाको बारेमा जानकारी दिनुभएको थियो । उक्त घटनामाथि छलफल गर्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनले जिल्लामा घरेलु हिंसाका घटनामा वृद्धि भएको बताउँदै इन्सेकले घटना सङ्कलनको काम मात्रै नगरेर स्थानियतह संग समन्वय गरी त्यस क्षेत्रमा जनचेतनामुलक कार्यक्रमहरू गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा खाध्य अधिकार सम्वन्धी काम गर्ने गैरसरकारी संस्था फियान नेपालकी फिल्ड अधिकृत सिता सिंहले बझाङ जिल्लामा २०७८ साल असोज ३१ देखि कार्तिक ३ गते सम्म परेको अविरल बर्षासंगै आएको बाढीले पुर्याएको क्षेतीको बारेमा मानव अधिकार बर्ष पुस्तकमा अभिलेखिकरण गर्न सुझाव दिनुभएको छ । सिंहले जिल्लाको खप्तडछान्ना गाउँपालिका, थलारा गाउँपालिका लगाएतका स्थानियतहका बाढी पिडितहरु अहिले पनि पालमुनी बसेर दिनहरु विताई रहेको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार रमेश केसीले स्थानियतहमा रहेका न्यायिक समितीहरुले इन्सेक संग समन्वय गरेर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा कमी ल्याउन जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्नु पर्नेमा जोड दिनुभएको छ । यस्तै कार्यक्रममा जिल्ला समन्वय समिती बझाङका उपप्रमुख कृष्ण बहादुर विष्टले घरेलु हिंसाका घटनाहरु लिएर महिलाहरु न्यायलयमा पुग्ने गरेको भए पनि त्यसको दाजोमा पुरुष पनि हिंसामा परेको बताउनुभयो । घरेलु हिंसामा वृद्घी हुनुको मुख्य कारण मदिरा भएको समेत विष्टले बताउनुभयो ।
