बझाङ : बझाङमा रवीन्द्र ढाँटको चर्चा सेलाउन पाएको छैन। यता अशोक धामीको चर्चा सुरु भइसक्यो ।
भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेपछि रवीन्द्रको चर्चा भयो। यो उपाधि जित्ने उनी पहिलो नेपाली फाइटर हुन् ।
अहिले बझाङकै अशोक धामी एसीसी म्यान्स अन्डर-१९ नेपाली राष्ट्रिय क्रिकेट टिमको क्याप्टेन बनेपछि मष्टा गाउँपालिका–३ धामी गाउँमा उल्लास छाएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसीसी यू-१९ प्रमियिर कप खेल्न अशोकको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
नीरज यादव विकेटकिपरको भूमिकामा रहनेछन्। घोषित टिममा निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, सिब्रिन श्रेष्ठ, दर्श सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन बिक, अपराजित पौडेल र वंन्स क्षेत्री छन्।
खुल्ला चौरमा ब्याट बल चलाएर क्रिकेट सिकेका अशोकलाई अहिले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको नाम रोशन गरेर जित निकाल्ने जिम्मेवारी आएको छ ।
बाल्यकालमा गाउँका खेत–बारीमा अभ्यास गरेका अशोकको क्रिकेट यात्रा धनगढीको फाप्ला मैदान हुँदै विदेशी क्रिकेट ग्राउन्डसम्म अघि बढिरहेको छ ।
बझाङमा हुने स्थानीय प्रतियोगिताबाट सुरुआत गरेका उनले २०२० मा पहिलोपटक पिएम कपमा बझाङ जिल्ला टिमबाट खेले। त्यसैबाट उनको प्रतिभाले निरन्तर उचाइ पाउँदै २०२३ मा बझाङबाट अन्डर-१६ र २०२४ मा सुदूरपश्चिम प्रदेशबाट अन्डर–१९ खेल्ने अवसर पाए ।
त्यही वर्ष उनी राष्ट्रिय टिममा छनोट भए । २०२५ मा अन्डर-१९ विश्वकप क्वालिफायरमा पनि उनले योगदान पुर्याए। अहिले एसीसी म्यान्स अन्डर-१९ प्रिमियर कपमा नेपाललाई नेतृत्व गर्दै मैदान उत्रने जिम्मेवारी उनकै काँधमा छ ।
अशोक आफ्नो सफलताको श्रेय बझाङ जिल्ला क्रिकेट सङ्घका सचिव सुरेन्द्र बहादुर सिंहलाई दिन्छन्, ‘सिंह सरले गाइड नगरेको भए म यहाँसम्म आइपुग्दिनथे होला ’ उनले भने ।
अशोकका बुवा गणेश धामीलाई पनि छोराको उपलब्धिमा गर्व छ । ‘पहिले मार्सल आर्टको खेलाडी थियो । पछि क्रिकेट मन परायो र राम्रो गरिरहेको छ । देशको नाम राखिदियोस् भन्ने चाहना छ’ उनले खुसी व्यक्त गर्दे भने ।
बझाङ जिल्ला क्रिकेट सङ्घका सचिव सिंहले अशोकको नेतृत्व क्षमता असाधारण रहेको बताए । ‘बझाङले पहिलोपटक राष्ट्रिय टिमको क्याप्टेन पाएको छ । यो हाम्रा लागि गर्वको क्षण हो । बझाङमा धेरै प्रतिभाशाली खेलाडी छन्, तर खेलमैदानको अभावले उनीहरू चम्किन पाएका छैनन् । पर्याप्त पूर्वाधार भएको भए अझै धेरै अशोकहरू देखिन्थे ।’
अशोकको नेतृत्वमा भोली नेपालको टिम दुबई प्रस्थान गर्दै छ ।
