ग्रेसबहादुर सिंह
बझाङ । शुक्रबार जयपृथ्वी नगरपालिका–१० का ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी एक हप्तादेखि विरामी थिए । जिल्ला सदरमुकाम चैनपुरमै भएर पनि मेडिकलबाटै उपचार गराइरहेका थिए । स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि सोही दिन बिहान ६ बजे जिल्ला अस्पताल भर्ना भएका उनको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले बताए ।
डाक्टर खड्काका अनुसार मृतकमा अन्य कुनै रोग नरहेको र कोरोनाकै कारण मृत्यु भएको हो । यो सँगै बझाङमा दोस्रो लहर सुरु भए यता कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । यसअघि बुधबार राति १२ः१५ बजे जनपा–८ एक ७२ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको थियो ।
अहिले कोरोना र भाइरल ज्वरो छुट्याउन नसकिने हुँदा लक्षण देखापर्ना साथ स्वास्थ्य जा“च गर्न अस्पतालले सबैमा अनुरोध गरेको छ । हाल बझाङका विभिन्न गाउँमा विरामीहरु भए पनि उनीहरु सामाजिक बहिस्कार हुने डर र सामान्य रुघाखोकी ठानेर अस्पतालसम्म नआउने गरेको डाक्टर खड्काले बताए ।
यसैवीच आज जिल्लामा २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । जिल्ला अस्पताल बझाङमा गरिएको एन्टिजेन परिक्षणमा ७ जना र अन्य ८५ जनाको पिसिआर परिक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयको रिर्पाेटमा उल्लेख गरिएको छ । यो सँगै जिल्लामा कोरोनाको दोस्रो लहरपछि संक्रमित हुनेहरुको संख्या ७६५ पुगेको छ । जिल्लामा १४७ जनाको कोरोना रिर्पाेट आउन बाँकी छ ।
