बझाङ : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले आगामी निर्वाचनबाट एमाले नभाग्ने दाबी गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी बझाङले चैनपुरमा आयोजना गरेको जनदबाब कार्यक्रममा बोल्दै उनले निर्वाचनको वातावरण निर्माण गर्नु सरकारको मुख्य दायित्व भए पनि हालको सरकार नै त्यसतर्फ उदासीन देखिएको आरोप लगाए ।
निर्वाचनबाट एमाले डराएको छैन, तर स्वच्छ र सुरक्षित वातावरण निर्माण राज्यको जिम्मेवारी रहेको उनले बताए। महरले शान्तिपूर्ण वातावरण बिना निष्पक्ष निर्वाचन सम्भव नभएकाे बताए । पछिल्ला घटनाक्रममा सुरक्षाकर्मीका हतियार खोसिएको भन्दै उनले ती हतियार फिर्ता गर्नुपर्ने र प्रहरीको मनोबल उठाउन आवश्यक कदम चालिनु पर्ने धारणा राखेका छन् । ´शान्ति र भयरहित वातावरण निर्माण नगरेसम्म निर्वाचन सम्भव हुँदैन,`महरले भने
‘निर्वाचनबाट भाग्ने कुरा एमालेले कहिल्यै सोच्दैन,’ महरले भने, ‘तर चुनाव हुन्छ भन्ने विश्वसनीय संकेत सरकारबाट देखिएको छैन ।’ उनले राजनीतिक दल निर्वाचनका मुख्य स्टेकहोल्डर हुँदाहुँदै प्रधानमन्त्रीले उनीहरूसँग संवाद गर्न नचाहेको प्रतिक्रियासमेत दिएका छन् । ‘प्रधानमन्त्रीले वार्तामै बस्दिन भन्ने व्यक्तिमा चुनाव गराउने जिम्मेवारी कसरी दिन सकिन्छ ?’
महरले पछिल्ला घटनाक्रमले सुरक्षा निकायको मनोबल कमजोर भएको जिकिर गरेका छन् । जेनजी आन्दोलनमा सुरक्षाकर्मीका हतियार खोसिएको भन्दै उनले ती हतियार तत्काल फिर्ता गरिनुपर्ने बताए । शान्ति–सुरक्षा कमजोर रहँदा निष्पक्ष निर्वाचन सम्भव नभएको उनको भनाई छ ।
‘निर्वाचनको मिति घोषणा गरेर मात्रै हुँदैन, त्यस्तै अवस्था बनाउन सरकार गम्भीर हुनुपर्छ ।,’ महरले भने, ‘नत्र विश्वास कसरी गर्ने ?’
उनले वर्तमान सरकारको कामकारबाहीले निर्वाचनको वातावरण बनाउनेभन्दा बिगार्ने काम बढीरहेको टिप्पणी गरेका छन् । ‘हामी चुनावका लागि तयार छौँ, तर चुनाव हुन्छ भन्ने विश्वास सरकारबाट आजसम्म मिलेको छैन ।,’ महरले भने, ‘विश्वास दिलाउने जिम्मा सरकारकै हो । एमाले निर्वाचन देखि भाग्दैन् ।’
