राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कमिटी बझाङका अध्यक्ष खड्काको निधन

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कमिटी बझाङका अध्यक्ष नरजितबहादुर खड्काको निधन भएको छ ।

जयपृथ्वी नगरपालिका–३ घर भएका ३८ वर्षीय खड्का तलकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख समेत रहेका जनस्वास्थ्य निरीक्षक हुन् । उपचारको क्रममा भारतमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत असोज १७ गते साँझ जयपृथ्वी नगरपालिका–२ बाट घर फर्कने क्रममा उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि तत्कालै जिल्ला अस्पताल सिमखेत लगिएको थियो । अवस्था जटिल भएपछि उनलाई थप उपचारका लागि धनगढी हुँदै भारत रिफर गरिएको थियो ।  खड्काको उपचारकै क्रममा आज निधन भएको हो ।

स्वास्थ्य क्षेत्रमा समर्पित कर्मयोगीका रूपमा परिचित खड्काको निधनले बझाङ जिल्ला नै शोकमग्न बनेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए । उनका अनुसार खड्का जनस्वास्थ्य सेवा सुदृढीकरणका लागि सदैव सक्रिय रहँदै आएका थिए ।

स्वास्थ्यकर्मीको हकहित र अधिकारका मुद्दामा सशक्त आवाज उठाउँदै आएका अध्यक्ष खड्का एक जुझारु, निष्ठावान् र नेतृत्व क्षमतायुक्त व्यक्तित्वका रूपमा चिनिन्थे ।

उनको असामयिक निधनले जिल्लाका स्वास्थ्यकर्मी र कर्मचारीहरूले एक अग्रणी नेताको रूपमै रहेका प्रेरणादायी व्यक्तित्व गुमाएको नेपाल निजामती कर्मचारी संगठन बझाङका अध्यक्ष मुकेश थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *