बझाङ : नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरले जेनजिका नाममा केही व्यक्तिहरूले सिर्जना गरेको आतंक कानुनी राज्य र लोकतान्त्रिक मूल्यको उपहास भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत महरले पछिल्ला दिनमा जेनजिका नाममा अपराधजन्य गतिविधि बढ्दै गएको र त्यसले समाजमा त्रास र अविश्वास फैलाएको बताएका हुन् ।
उनले लेखेका छन्, ´जेनजिका नाममा केहि अपराधीहरूले सिर्जना गरेको आतंकले सीमा नाघेको छ । चाहे राज्यका निकाय होस् या व्यवसायी, वा सर्वसाधारण नै किन नहोस्, कसैलाई पनि यसरि आतंकित बनाउनु कानुनी राज्य र लोकतन्त्रको उपहास हो । युवा सचेत होऔं !`
लोकतन्त्रको नाममा आतंक र अराजकता फैलाउनु युवाको जागरण नभई, विनाशको बाटो भएको उनले बताए । अहिले देखिएका असन्तुष्टि र विरोधका स्वरहरूलाई संयमित र शान्तिपूर्ण तरिकाले अभिव्यक्त गर्नुपर्ने महरको भनाइ छ ।
हालै केही स्थानमा ‘जेनजि’ अभियानका नाममा धम्की, आक्रमण र तोडफोडका घटना बढेको भन्दै नेता महरले यस्तो प्रवृत्तिले देशमा स्थापित राजनीतिक स्थायित्व र सामाजिक सद्भावलाई कमजोर पार्ने बताए ।
