काठमाडाैं । जेन जी आन्दोलनपछि निम्तिएको देशको बिषम परिस्थितले गर्दा नागरिकको मानसिक स्वास्थ्यमा असर पारिरहेको भन्दै जनताको मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिन बेलायतमा कार्यरत नेपाली मनोरोग विशेषज्ञहरूल सरकारलाई ध्यानाकर्षण गरेका छन् । असोज ८ गते जारी अपिलमा उनीहरुले भनेका छन्, “सामाजिक राजनीतिक परिवर्तनको अग्रपंक्तिमा रहेका युवाहरू र शारीरिक तथा मानसिक रूपमा विकासको चरणमा रहेका बालबालिकामा नकारात्मक प्रभाव पार्ने उच्च जोखिम हुन्छ ।”
आगजनी, तोडफोड, अराजक घटनाहरू तथा सामाजिक सञ्जालमा फैलाइएका अनावश्यक धम्की र मानसिक दबाबले समस्याहरु सिर्जना हुने गर्छन् । यस्ता घटनाले निराशा बनाउने, असहजता, झर्कोपन वा एक्लोपन महसुस हुने हुन्छ । यस्तो बेला आत्मनोक्सानका विकार विचारहरु पनि आउने गर्छन् । उनीहरुले मानसिक असर कम गर्न सुझाव दिएका छन् ।
तनावपूर्ण समाचार वा सामाजिक सञ्जालमा फैलाइएका हिंसात्मक सामग्री र विशेष गरी अफवाहबाट टाढा रहन, गहिरो सास फेर्ने अभ्यास, ध्यान वा नियमित शारीरिक गतिविधि गर्न, परिवार, साथी वा विश्वासिलो व्यक्तिसँग आफ्ना भावना खुलस्त साझा गर्न, पढाइ, संगीत वा प्रकृतिसँग समय बिताउनेजस्ता सकारात्मक गतिविधिमा संलग्न हुन, पौष्टिक खाना, पर्याप्त निद्रा र नियमित व्यायामलाई प्राथमिकता दिन सल्लाह दिएका छन् । । यदि तनाव वा मानसिक पीडा अत्यधिक वा लामो समयसम्म निरन्तर भइरहेमा मानसिक स्वास्थ्य विशेषज्ञ (मनोचिकित्सक, मनोवैज्ञानिक वा परामर्शदाता) को सहयोग लिन अनुरोध गरेका छन् ।

