बझाङमा साेमबारबाट निषेधाज्ञा हुने, संक्रमणबाट फेरी एकजनाको ज्यान गयो

साइपालखबर संवाददाता
बझाङ । कोरोना संक्रमणबाट शनिवार एकजनाको मृत्यू भएको छ । केदारस्युँ गाउँपालिका ९, का ६० बर्षिय पुरुषको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा ज्यान गएको हो । यो संगै दुइ हप्ताको अवधीमा बझाङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । मृतक तिनै जना केही हप्ता अघि मात्रै भारतको विभिन्न ठाउँबाट आएको बुझिएको छ ।

शनिवार नै मृत्यु भएका अर्का एक जनाको पनि कोरोना संक्रमणबाट ज्यान गएको हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन । कोरोनाको जस्तै लक्षणहरु देखिए पछि जयपृथ्वी नगरपालिका ११ का ति ४५ बर्षिय पुरुषलाई शुक्रबार राती सदरमुकाममा रहेको एक निजी अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई अस्पतालले कोरोना परिक्षण नगरी थप उपचारको लागि धनगढी रेफर गरेको र बाटैमा मृत्यू भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ‘कोरोनाको लक्षण थिए भन्ने सुन्नमा आएको छ । भर्ना गरिएको अस्पतालले यस्तो अवस्थामा परिक्षण गराउनु पर्ने हो । नगरिकनै रेफर गरिदिएछ’ स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु भक्त जोशीले भने ‘परिक्षण नभएकाले तोकेरै भन्न नसके पनि उनको मृत्यूको कारण कोरोना होकी भनेर शंका गर्ने ठाउँ धेरै छ ।’

केही हप्ता यता बझाङमा संक्रमितहरु पनि थपिने क्रम बढी रहेको छ । शनिवार मात्रै १९ जना संक्रमित थपिए संगै जिल्लामा कुल संक्रमितको संख्या १ सय ७४ पुगेको छ । संक्रमितको संख्या बढे संगै जिल्ला अस्पतालको कोभिड वार्ड पनि भरिन थालेकोले सबै पालिकाहरुलाई आइसोलेसन बनाउन अनुरोध गरिएको स्वास्थ्य कार्यालयले जनाएको हो । ‘डिसिसिएमसीले पनि कम्तीमा २० वेडको आइसोलेसन बनाउने निर्णय गरिसकेको छ । हामीले पनि पटक पटक अनुरोध गरेका छौ ।’ प्रमुख जोशीले भने । उनले निर्णय कार्यान्वयन भए नभएको बारेमा तत्काल अनुगमन गरिने बताए ।

यसै विच जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले बझाङ जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेको भन्दै सोमबार देखी लागु हुने गरी निषेधज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक बाहेकका सवारी साधन, होटल पसल र अन्य व्यवसायहरु बन्द गर्ने निर्णय गरेको हो । अनावश्यक भिड भाड कम गर्न काम नपरी घर बाहिर हिड्डुल गर्न नदिने र पाँच जना भन्दा बढी एकै ठाउँमा भेला हुन पनि नपाउने गरी आदेश जारी गरिएको सिडीयो अधिकारीले जानकारी दिए ।