२०२३ को वातावरण पत्रकारिता पुरस्कार बझाङका पत्रकार बसन्तप्रताप सिंहलाई

Breaking news पर्यटन प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ  : नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२३ बझाङका पत्रकार बसन्तप्रताप सिंहलाई प्रदान गर्ने निर्णय गरेको छ ।

कान्तिपुर पब्लिकेशनमा कार्यरत पत्रकार निरन्तर वातावरणका विषयमा खोजमूलक समाचार लेखन गरेवापत सिंहलाई नगद तथा प्रमाण–पत्र प्रदान गरिने भएको हो ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

सन् २०२३ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२३ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो ।

समूहका पूर्व अध्यक्ष अर्जुन ढकालको संयोजकत्वमा समूहका पूर्व महासचिव संगीता लामा र विज्ञसदस्य सरिता ज्ञवाली सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कार दिने निर्णय गरिएको हो ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२३’ पाउने सिंह ३७ औँ पत्रकार हुन् । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *