उरैँ नाका खुल्ने भएपछि साइपालका स्थानीयमा बढ्यो उत्साह

Breaking news प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ : बझाङको उरैँ नाका सञ्चालनमा आउने भएको छ । आगामी असार १६ गतेदेखि चीनको तिब्बतसँग जोडिएको उरैँ नाका सञ्चालनमा आउने भएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनुभयो ।

चीनको तिब्बतका सुरक्षा अधिकारी र नेपालका तर्फबाट बझाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग केही दिन अगाडि भएको भर्चुअल दुईपक्षीय कुराकानी पछि असार १६ गतेदेखि उरैँ नाका सञ्चालनमा आउन लागेको हो ।

सुरक्षा निकायका प्रमुखहरुले चिनियाँ सुरक्षा अधिकारीसँग भर्चुअलमा नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा सोमबार (आज) पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी कुइकेलले सिमानाकाको सुरक्षा व्यवस्था र चिनियाँ अधिकारीहरू बिच भएको कुराकानीको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी कुइँकेलका अनुसार उरैँ नाकाले सीमा क्षेत्रमा रहेका नागरिकहरूको जीवनस्तर माथि उकास्न र दुई देशको व्यापारिक सम्बन्ध बढाउने विश्वास लिएको बताउनुभयो । हाल सम्म जिल्ला प्रशासन कार्यालय बझाङ बाट ५ जनाले पास लिएका छन् ।

सशस्त्र प्रहरीको टोलीद्वारा चीनसँग जोडिएको उरैँ नाका र सीमा स्तम्भको अनुगमन
चीनको तिब्बत सँग जोडिएको उरैँ सिमानाका क्षेत्र र सीमा स्तम्भको सशस्त्र प्रहरीको टोलीले अनुगमन गरेको छ । कोरोना सङ्क्रमणको कारण देखाउँदै बन्द रहेको बझाङ चिन जोड्ने उरैँ नाका खुले सँगै सशस्त्र प्रहरी बल नेपाल बझाङका प्रमुख जनकराज पन्तको नेतृत्वमा सशस्त्र प्रहरीले उरैँ नाका र सिमास्तम्भको अनुगमन गर्नुभएको हो ।

साइपाल गाउँपालिकाको केन्द्र रहेको काँडाबाट तीन दिन पैदल हिँडेर टोलीले उरैँ नाकाको ५ हजार २ सय उचाइमा रहेको पिल्लर नं २ र आसपासको क्षेत्रको अवस्था बुझ बिस्तार गरेको अनुगमन टोलीका प्रमुख तथा सशस्त्र प्रहरी बल नेपाल बझाङका डिएसपी जनकराज पन्तले बताउनुभयो ।

टोलीले सीमा क्षेत्रको अनुगमन साथै त्यस क्षेत्रमा यार्सागुम्बा टिप्न गएका मान्छेहरूको अवस्था के कस्तो छ भनेर पनि बुझबिस्तार गरेको उहाँको भनाई छ । उरै नाकाको २ नं सीमा स्तम्भ सम्म पुगेर फर्केका सशस्त्र प्रहरी बल नेपाल बझाङका प्रमुख पन्तले सीमा स्तम्भको अवस्था त्यहाँको बाटोघाटो र सूचना सञ्चारको अवस्था, शान्ति सुरक्षा लगायतका विषयमा जानकारी दिनुभएको थियो ।

नेपाल सरकारको तर्फबाट पहिलो पटक सीमा स्तम्भ सम्म पुगेको डिएसपी पन्तको टोलिले उरै क्षेत्रको भौगोलिक सुन्दरता,पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । साथै त्यहाँ जाने पर्यटकहरूका लागि सञ्चारको असुविधा भएकाले सञ्चार सेवाका लागि सरकारले जोड दिनुपर्ने उहाँको भनाई छ । साथै उहाँले सीमा क्षेत्रमा एकिकृत सुरक्षा टोली स्थापना गर्नु पर्ने समेत बताउनुभयो ।

उरैँ नाका खुल्ने भएपछि साइपालका स्थानीयमा बढ्यो उत्साह
विसं २०७६ सालमा कोरोनाको कारण देखाउँदै बन्द रहेको उरैँ नाका खुल्ने भएसँगै साइपालका स्थानीयहरूमा ठूलो उत्साह बढेको छ । साइपाल गाउँपालिकामा करिब २ हजार ८ सय मानिसको बसोबास रहेको छ । यहाँ आलु, जौँर र कोदो मात्र उत्पादन हुँदै आएको छ । स्थानीय उत्पादनले मुस्किलले दुई–तीन महिनाको मात्र माग धान्ने स्थानीयको भनाइ छ । नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको साइपालका स्थानीयको जनजीवन कष्टकर हुँदै आएको छ । साइपाल गाउँपालिकाका अधिकांश जनता खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए ।

साइपालका नागरिकले उत्पादन गरेका चौँरीको दूध, घ्यू, भेडाको ऊन, काँठका सामाग्री र जडीबुटीलगायत चिनियाँ बजारमा बिक्री गर्न चिनियाँ बजारमा लाँदै आएका स्थानीय घुरन बोहराले बताउनुभयो  उरैँ नाकाबाट मुख्य गरी स्थानीय उत्पादन तथा दैनिक जीविकाका सामग्रीको व्यापार हुँदै आएको थियो । उरैँ साइपाल गाउँपालिकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । बोहराले भन्नुभयो, ‘अहिले पनि सडक पुगेको स्थानमा पुग्न दुई दिन हिँड्नुपर्छ । साइपाल निकै विकट स्थानमा भएकाले सदरमुकामबाट चामल, नुन, तेल, चिनीलगायत दैनिक अत्यावश्यक वस्तुको आपूर्ति गर्न असहज छ ।

हामीले पहिले दैनिक आवश्यकताका वस्तु चिनियाँ बजारमा खरिद गरेर ल्याउने गरेका थियौ ।’‘कोरोना महामारीका बेला नाका बन्द भएसँगै साह्रै नै सकस भएको थियो ।’ उहाँले भन्नुभयो, ‘नाका खुलेसँगै अब साइपाल मात्रै हैन बझाङका नागरिकको जनजीवन सहज हुने आशा सँगै हामी उत्साहित भएका छौ ।’ धार्मिक हिसाबले लांगा, मष्टा लगाएतका देवताहरूलाई चढाउनका लागि सोही नाका भएर मानसरोवरबाट जल ल्याउन जाने गरिएको भएपनि नाका बन्द भएपछि जल ल्याउन असहज भएर नगएका र नाका खुला भएपछि सहज हुने समेत स्थानीयहरू बताउँछन् । कोरोना सङ्क्रमणका कारण विसं २०७६ यता उक्त नाका बन्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *