बझाङ : नियम उल्लंघन गरे ‘ट्राफिक स्वयंसेवक’ खटाउने कार्य रोक्न इन्सेकले माग राखेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जेठ १५ गते फेसबुकमा एक स्टाटस लेख्दै मापसे लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूलाई स्वयंसेवकका रूपमा सडकमा सघाउन लगाएको कार्य नियम विपरित भएको भन्दै उक्त कार्य रोक्न अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले माग गरेको हो ।
जेठ १६ गतेदेखि ट्राफिक नियम उल्लंघनकर्ताहरूलाई ट्राफिक प्रहरीले स्वयंसेवक नाम दिएर श्रममा खटाउन थालेको भन्दै इन्सेकले यो कार्य नियम विपरित भएकाले रोक्न माग गरेको जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सवारी ऐनमा ब्यवस्था नभएको उपाय अबलम्वन गर्नु लहडको शासनद्वारा विधिको शासनक प्रतिस्थापन गरेको भन्दै यस्ता कृयाकलापको विरोध गरेको इन्सेक अध्यक्ष डा.कुन्दन अर्यालले बताए । शुक्रबार कानुनविपरितको कार्य रोक्न माग गर्दे इन्सेकले माग पत्रमा समेत जारि गरेको छ ।
उक्त माग पत्रमा भनिएको छ, ‘कसैको लहडमा गरिने यस्ता निर्णय र कार्यक्रमले समाजमा अराजकतालाई बढवा दिने वा कानुन विहीनताको अवस्थालाईमात्रै प्रश्रय गर्दछ । नेपालको संविधान, कानुन तथा मानव अधिकार विपरीत यस प्रकारका कार्य रोक्न तथा लागु गर्नै पर्ने भए कानुन बनाएर कार्यान्वयन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं ।’
