साइपालखबर संवाददाता
साइपाल (बझाङ) । गमाडनी गाउँकी भैता बोहराको उमेर ५५ वर्ष भयो । १५ वर्ष देखी उनको हात खुट्टा पुर्णरुपमा चल्न छाडेका छन्। खाना पनि अरुको साहारामा मात्रै खान सक्ने भैतालाई दिसापिसाब देखी अन्य सबै नित्यकर्म गर्न अरुको सहारा चाहिन्छ ।
२० वर्ष अघि हातखुट्टाका जोर्नी दुख्ने, सुन्निने समस्याबाट सुरु भएको उनको विरामीको उपचारको लागि परिवारले भ्याए सम्म कोशिस नगरेको पनि हैन । ‘गाउँमा कुनै मन्दिरमा भाकल गर्न छोडेनौ, धामी, मन्त्र गर्ने कोही बाँकी छैनन होला’ उनले भनिन् ‘एक चोटी जिल्ला अस्पताल सम्म पनि पुगेकी हुँ केही गर्दा पनि ठिक भएन ।’ अहिले आएर हात खुट्टा नै सुक्दै जान थालेको बताउदै उनले आर्थिक अवस्थाका राम्रो नभएको कारण आफुले समयमै उपचार गर्न नसकेर अपाङग जिवन बाँचिरहेको बताईन् । जोर्नीको दुखाईका कारण असह्य पिडा हुने गरेको बताउदै उनले भनिन । ‘यस्ता दुख सहनु भन्दा त मरे पनि हुन्थ्यो जस्तो लाग्छ । काल पनि आउदैन ।’
साइपाल गाउँपालिकामा भएको स्वास्थ्य शिविरमा उनको जाँच गरेका नेपालगञ्ज मेडिकल कलेजका हाडजोर्नी विषेशज्ञ डा. सन्दीप कँडेल पनि उनको अवस्था देखेर आफु चकित भएको बताए । ‘सुरुमै उपचार गरे पुर्णरुपमा निको हुने रोगले उपचार नपाएकै कारण विरामी अपाङग भैसकेकी रहेछन’ उनले भने ‘अझै पनि उनलाई पुर्न जिवन दिन सकिन्छ की भन्ने आशामा रिफर गरेका छौं । हेरौं के हुन्छ?’ भैतालाई शिविरमा चिकित्सक ओसार्न आएको नेपाली सेनाको हेलिकप्टर मार्फत आइतवार नेपालगञ्ज पठाइएको छ ।
साइपालकै सैनगाउँकी केउडी बोहराको उमेर ६० बर्ष भयो । यस दौरान उनका प्रिय रहेका धेरै कुराले उनको साथ छोडिसकेका छन । यौवन, जोस, जाँगर मात्रै हैन, उनका मनमिल्ने थुप्रै दौतरीहरुले पनि उनको साथ छोडेर परलोक भैसके । तर उमेर बढ्दै जाँदा थपिदै गएका रोगले भने साथ छोडेका छैनन । बरु एक पछि अर्काे गर्दै थपिदै गएका छन् ।
३५ बर्षको उमेरबाट सुरु भएको रिङटा लाग्ने र टाउको दुख्ने समस्याले पहिला भन्दा झन झन पिरोल्न थालेको छ । ‘पहिला पहिला महिना दुइ महिनामा हुन्थ्यो । अहिले त हप्ता हप्ता टाउको रिङगाउँछ’ केउडीले भनिन् ‘यो विराम सूरु भए पछि कप्पाल (टाउको) फुट्ला जस्तो हुन्छ । आँखा खोल्न सक्दिन । अचेल त झन झन गाह्रो हुन थाल्यो’ शुक्रबारबाट सुरु हुने स्वास्थ्य शिविरमा उपचार हुने आशमा विहिबार दिनभर हिडेर गाउँपालिकाको केन्द्र काँडा पुगेकी उनले २० बर्ष देखी तल्लो पेट दुख्ने, खाना खाने वित्तिकै सौच लाग्ने समस्या पनि भोग्दै आएको बताइन । ‘हात खुट्टा ओसाने (सुन्निने), कम्मर दुख्ने हुन थालेको पनि १०/१२ बर्ष भैगो’ उनले थपिन ‘कहिले त सबै विराम एकै चोटी हुन्छन । साइती (पिडा) ले मरान–मरान (मरणासन्न) हुँदिछु ।’
अहिले सम्म बाँचेको जिवनको झण्डै आधा हिस्सा रोगकै भारीले थिचिएकी उनी रोग निको हुने आसमा यसपुर्व तीन/चार पटक पालिकाको केन्द्रमा रहेको काँडा स्वास्थ्य चौकी सम्म पनि पुगेकी रहिछिन् । धुली मै रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा पनि कैयौं पटक पुगिन् तर उनको समस्या निको भएन । पछिल्लो समय स्थानिय स्वास्थ्य संस्थाले दिएको औसधीले पनि काम गर्न छोडेको उनले सुनाईन् । ‘जहाँ गया पनि तेस्तै टाटा (चक्की) दिन्छन । टाटा खाए पछि एकदुइ दिन निको भए जस्तो हुन्छ । फेरी तेस्तै भैहाल्छ’ उनले भनिन् ‘अचेल त त्यहाँको औसधीले पनि काम गर्न छोड्यो ।’ विरामी निको हुने आशामा कैयौ पटक धामी झाँक्री बसालेको, देउतालाई भाकल चढाएको सुनाउने उनले कसै गरे पनि आफुलाई सन्चो नभएको बताईन । ‘राम्रा ठाउँ गएर जाँच (उपचार) गराउन्या सक्कारी (क्षमता) छैन । शिविर लाग्याको सुनेर सकी नसकी आयाकी हुँ,’ उनले भनिन् ।
उनि सँगै आएकी ज्याँती गाउँकी जला बोहराले पनि ५ वर्ष देखी पेट दुख्ने समस्या निको नभए पछि उपचारको आसमा दिनभर हिडेर शिविर सम्म आएको बताईन् । ‘दाँत दुख्ने समस्या पनि उस्तै छ । कहिले काँही त एकै पटक दाँत र पेट दुखेर सहिनसक्नु हुन्छ’ उनले भनिन ‘काठमाण्डौका डाक्टर आएका छन भन्ने सुनेर उपचार हुन्छ की भनेर आएकी हुँ’ उनले तीन दिनको लागि बालबच्चा, बस्तुभाउको रेखदेख गर्ने र घरको सुरक्षा गर्ने जिम्मा एक छिमेकीलाई सुम्पेर शिविरमा आएको बताईन ।
साइपाल गाउँपालिकाको केन्द्र रहेको काँडामा विषेशज्ञ चिकित्सकले सेवा दिने स्वास्थ्य शिविर संचालन हुने खबर पाए पछि भैता, केउडी र जला जस्तै समस्या भएका, बृद्धबृद्धा, महिला, बालबालिका सहित साइपालका सयौं स्थानिय दिनभर हिडेर काँडा पुगेका थिए । कतिपय अशक्त विरामीलाई घोडामा चढाएर र बोकेर शिविरस्थल सम्म ल्याइएको थियो । राष्ट्रपती विद्यादेवी भण्डारीको पहलमा पुस ८ देखी १० गते सम्म भएको स्वास्थ्य शिविरमा १ हजार ३८ जना स्थानियले सेवा लिएका छन । साइपाल गाउँपालिकाले समन्वय गरेको यो शिविर गुँरासे कल्याणकारी सेवा प्रतिष्ठान र रोटरी क्लब अफ नक्साल, शक्तिको आयोजना भएको हो । शिविरमा नेपालगन्ज मेडिकल कलेज, जिएमसि हस्पिटल पोखरा, युसिएमसी भैरहवा र जिल्ला अस्पताल बझाङका विषेशज्ञ चिकित्कहरुले सेवा दिएका थिए । बालरोग, स्त्री रोग, दन्तरोग, हाडजोर्नी, नाक, कान घाँटी सम्बन्धी विज्ञ, जनरल फिजिसियन लगायत सम्मिलित शिविरमा ल्याब तथा रेडियोलोजी सम्बन्धी सेवा पनि दिइएको थियो ।
सामान्य उपचारको अभावमा रोग विथोलिएर जिवनभर थलिएर बस्नु पर्ने, अकाल मै ज्यान गुमाउनु पर्ने बाध्यतामा रहेका साइपालका स्थानियले पालिका मै विषेशज्ञ सेवा पाए पछि खुशी व्यक्त गरे । उनिहरुले प्रत्येक छ महिनामा यस्तै खालको शिविर संचालन भैदिए साइपाल बासीलाई राहत हुने बताए । ‘अन्त गएर उपचार गर्ने हाम्रो क्षमता थिएन । शिविर आउँदा सबैलाई फाइदा भयो’ ७९ बर्षिय धनबहादुर बोहराले भने ‘कम्तीमा बर्षको दुइ पटक यस्तै शिविर भैदिए । यहाँका मानिसहरुले उपचार नपाएर मर्नु पर्ने थिएन ।’
उपचारको लागि शिविरमा आएकाहरुको परिक्षण गर्दा पालिका भरीका महिला र बृद्धबृद्धाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको पाइएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । ‘एक तिहाई महिलाहरुको यौनाङमा संक्रमण भएको पाइयो । पाठेघर, खस्ने, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने समस्याले अधिकांस महिलाहरु पिडित रहेछन’ नेपालगंज मेडिकल कलेजमा प्राध्यापक डा. ढुण्डीराज पौडेलले भने ‘धेरै जसो बयस्क र बृद्ध महिला पुरुषमा श्वासप्रश्वास सम्बन्धी संक्रमण देखियो । थोरै जनसंख्या रहेको पालिकामा यति धेरै मानिसहरुमा स्वास्थ्य समस्या देखिनु डरलाग्दो अवस्था हो’ उनले नाक कान घाँटी सम्बन्धी समस्या रहेका १५ जना जतिलाई शल्यक्रिया गर्नु पर्ने देखिएको बताए । यस बाहेक कुपोषण, हाड जोर्नी तथा कम्मर सम्बन्धी समस्या बढी देखिएको उनले बताए ।
‘उमेर नपुग्दै बुढ्यौली लाग्ने समस्या महिलाहरुमा बढी देखियो’ रोटरी कल्ब नक्सालकी संस्थापक डा. लुना शर्माले भनिन ‘सवै उमेर समुह र लिङगका मानिसहरुमा स्वास्थ्य समस्या देखिए पनि महिलाहरु बढी ग्रस्त भएका रहेछन’ उनले संविधानले हरेक नागरिकलाई स्वास्थ्यको अधिकार प्रदान गरेको भए पनि यहाँका बासिन्दाले स्वास्थ्य सेवा अभावमा भोग्नु परेको दुख देख्दा चिन्ता लागेको बताईन ।
जिल्लाको कुल क्षेत्रफलको झण्डै ४३ प्रतिशत भुभाग ओगटेको साइपाल गाउँपालिकाको जनसंख्या भने २ हजार ५४१ मात्रै रहेको छ । पालिकाले २०७४ सालमा प्रकाशित गरेको गाउँवस्तुगत विवरण अनुसार यो पालिका भरीमा ३ सय ७१ परिवारको बसोबास छ ।
शिविरका लागि संर्घष
एक वडाबाट अर्काे वडा सम्म पुग्नको लागि दुइ दिन सम्म लाग्ने यो पालिकाबाट सदरमुकाम चैनपुर पुग्न चार दिन सम्म हिड्नु पर्छ । स्थानिय तहको निर्वाचनका बेला घर दैलो गर्ने क्रममा यहाँका मानिसहरु उपचार नपाएर थलिएको देखे पछि विषेशज्ञ शिविरको लागि पहल गरेको र त्यस क्रममा थुप्रै संर्घष गर्नु परेको जनप्रतिनिधीहरुले बताएका छन । निशुल्क शिविर राखिदिनु पर्यो भनेर जिल्ला साँसद, प्रदेश सरकार, संघिय सरकार सबै तिर गुर्हादा पनि कसैले नसुने पछि राष्ट्रपतीलाई गुहार्न पुगेको गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताईन । ‘हेलिकप्टर मार्फत डाक्टर र औसधी ओसारेर, उनिहरुलाई पारिश्रमिक दिएर शिविर संचालन गर्न सक्ने अवस्था थिएन’ उनले भनिन ‘साँसद मन्त्री सबैलाई भन्दा पनि प्रगती नभए पछि राष्ट्रपती कहाँ गुर्हायौं । उहाँ कै पहलमा अहिले यो शिविर सम्भव भएको हो ।’
थोरै जनसंख्या भएको यस पालिकामा नियमित विषेशज्ञ सेवा संचालन गर्न तत्काललाई सम्भव नभएकोले सरकारले बर्षमा दुइ पटक जति शिविर चलाउने व्यवस्थाको लागि आफुहरुले विभिन्न ठाउँमा अनुरोध गरिरहेको पालिका अध्यक्ष मानविर बोहराले बताए । ‘बरु शिविरको व्यवस्थापन हामी गथ्यौं । डाक्टर र औसधी सम्म ढुवानी गरेर वर्षमा दुइ पटक जति विषेशज्ञ शिविर चलाउने व्यवस्था कतैबाट भैदिए । यहाँको स्वास्थ्य अवस्था सुधार गर्न सकिन्छ की भनेर कोसिस गरिरहेका छौं’ उनले यहाँको स्वास्थ्य अवस्था सुधारको कामलाई पहिलो प्राथमिकतामा राखेर पालिकाले विभिन्न निकायमा पहल गरिरहेको बताए । ‘मान्छेले अकालमा मर्न नपरोस, रोग पालेर बाँच्न नपरोस भन्ने हाम्रो ध्येय हो । यो अवस्था प्रदेश र संघ सरकारले पनि बझिदिनु पर्यो।’