रिदम सिंह, बझाङ । साइपाल गाउँपालिकामा संञ्चालन भएको स्वास्थ्य शिविरबाट एक हजारबढी नागरिकले सेवा लिएका छन् । गाउँपालिकाको केन्द्र काँडामा सञ्चालन भएको तीन दिने स्वास्थ्य शिविर आइतवार सम्पन्न भएको छ । पालिकामा महिलाहरुमा पाठेघर लगाएतको समस्या धरै रहेको गुनासो आउन थालेपछी शिविरका लागी पालिकाका अध्यक्ष मानविर बोहरा र उपाध्यक्ष डोल्मा तामाङले राष्ट्रपति लगाएतका निकायमा पहल गर्नुभएको थियो । जनप्रतिनिधीको पहलमा पालिकामा तीनदिने निशुल्क स्वास्थ्य शिविर संञ्चालन गरिएको थियो ।
गुँरासे कल्याणकारी सेवा प्रतिष्ठान र रोटरी क्लब अफ नक्साल शक्तिको आयोजना नेपालगन्ज मेडिकल कलेज र साईपाल गाउँ पालिकाको सहकार्य तथा जीएमसी हष्पिटल पोखरा र यूएमसी भैरहवाको प्राबिधिक सहयोगमा यही पौष ८, ९ र १० गते गरी तीन दिनसम्म निशुल्क शिविर सञ्चालन गरीएको थियो । उक्त तिन दिने शिविरबाट एक हजार ३८ जनाले सेवा लिएको साइपाल गाउँपालिका अध्यक्ष मानविर बोहराले जानकारी दिनुभयो । पालिकाको केन्द्रमा राखिएको सेवावाट पालिकाका धेरैजसो समस्या भएका व्यक्तिहरुले सेवा लिएको अध्यक्ष बोहराले बताउनुभयो ।
शिविरवाट महिला पुरुष गरी ल्याब सेवा ८० जनाले लिएका छन्, त्यस्रैगरी स्त्री रोग सेवा एक सय ४० जना, दन्तसेवा ६३ जना, नाक कान घाटी सम्बन्धि सेवा ७४ जनाले लिएको गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बताउनुभयो । त्यसैगरी हाडजोर्नि सम्बन्धि सेवा १ सय ४ जनाले, भिडियो एक्सरे सम्बन्धि सेवा ४ सय ३४ जनाले लिएका छन् । १६ जनाले परीवार नियोजन सम्बन्धि सेवा लिए भने, ९६ जनरल ओपिडि र १८ जनाले इसीजी सेवा लिएको उपाध्यक्ष तामाङले बताउनुभयो ।
महिलाहरुका आएका गुनासाहरुलाई मध्ये नजगर गर्दै आयोजना गरिएको शिविरमा धेरै जसो महिलाहरुले नै सेवा लिएका छन् । शिविरवाट सात सय १४ जना महिलाले स्वास्थ्य सेवा लिएको उपाध्यक्ष तामाङले बताउनुभयो । साथै जटिल समस्या भएका ७ जनालाइ अनेत्र रेफर गरिएको छ ।
लामो समयदेखी बिभिन्न स्वास्थ्य समस्या लुकाएर बसेका स्थानीय नागरिकहरुलाई शिविरवाट नै सहज र निशुल्क स्वास्थ्य सेवा दिनका लागी शिविरको आयोजना भएको साइपाल गाउँपालिकाका अध्यक्ष बोहराले बताउनुभयो । गाउँपालिका अध्यक्ष बोहरा र उपाध्यक्ष तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर जनसमुदायको स्वास्थ्य समस्याबारेमा जानकारी गराएपछी राष्ट्रपतिको पहलमा साइपालमा निशुल्का शिविरको आयोजना गरिएको थियो ।
