बझाङ : जिल्ला प्रशासन कार्यालय, बझाङले जिल्लाभित्र कुनै पनि सार्वजनिक प्रदर्शन, ¥याली, सभाजस्ता कार्यक्रम गर्नुअघि अनिवार्य रूपमा अनुमति लिनुपर्ने जनाएको छ ।
गृह मन्त्रालयको निर्देशनअनुसार प्रशासनले आइतबार एक सूचना जारी गर्दै नागरिकको स्वतन्त्रताको हक अन्तर्गत शान्तिपूर्ण भेलामा सहभागी हुने अधिकार संविधानले सुनिश्चित गरे पनि स्थानीय शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै अनुमति प्रणाली लागू गरिएको स्पष्ट पारेको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, ‘जिल्लामा सार्वजनिक प्रदर्शन, ¥याली, सभाजस्ता कार्यक्रम आयोजना गर्न इच्छुकले तोकिएको ढाँचामा निवेदन दिएर मात्र कार्यक्रम सञ्चालन गर्न पाइनेछ ।’
सहायक प्रमुख जिल्ला अधिकारी जोशीले कार्यक्रमको उद्देश्य, स्थान, समय र सहभागीसँग सम्बन्धित विवरण सहितको निवेदन स्वीकृत भएपछि मात्र कार्यक्रम सञ्चालनको लागि अनुमती दिइने बताइन् ।
प्रशासनको अनुमति बिना सार्वजनिक कार्यक्रम सञ्चालन गरे कानुनी कारबाही हुने चेतावनी समेत सूचनामा उल्लेख गरिएको छ ।
प्रशासनले जिल्लाको समग्र शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ । सूचनामा अनुमति माग गर्ने निवेदनको ढाँचा र पालना गर्नुपर्ने शर्तहरू पनि संलग्न गरिएको प्रशासनले जनाएको छ ।

