बझाङ– २०८२ बैसाखमा बसेको सर्वपक्षिय बैठकले जेठ १० गतेबाट लागु हुने गरी बझाङमा अवैध रुपमा उत्पादित घरेलु मदिरा र न्युनगुणस्तरको मदिरा विक्रि वितरणमा रोक लगाउने निर्णय गर्यो । न्युन गुणस्तरको मदिराका कारण जिल्लाको शान्ती सुरक्षा मात्रै नभइ जनस्वास्थ्यमा समेत प्रतिकुल असर परेको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
निर्णय कार्यान्वयनका क्रममा जिल्ला प्रशाशन कार्यालयले जिल्लाका विभिन्न बजारबाट पलाष्टीकका बोतल र थैलीमा प्याकिङ भएको र अवैध घरेलु मदिरा जफत गर्न सुरु गर्र्याे । तर जिल्ला समन्वय समिति बझाङका प्रमुखको अध्यक्षतामा बझाङका १२ वटै पालिकाका प्रमुख, उपप्रमुख, राजनैतिक दलका प्रतिनिधी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ समेतको उपस्थितीमा गरेको यो निर्णयको कार्यान्वयन सुरु भएको एक महिना नपुग्दै अदालतले रोकिदियो ।
२०८२ असार १६ गते बझाङका एक व्यापारीले उक्त निर्णय विरुद्ध दिएको रिटमा असार १७ गते नै उच्च अदालत दिपायलले उत्प्रेषणयुक्त परमादेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो । न्यायधिसद्धय दण्डपाणी शर्मा र अस्मिन कुमार राईको संयुक्त इजलासको उक्त आदेश दिए पछि न्युनगुणस्तरको मदिरा प्रतिबन्ध गर्ने सर्वदलिय, सर्वपक्षिय निर्णय कार्यान्वयन हुनबाट रोकियो ।
सेवनकर्तालाई छिट्टै उतेजित बनाउने खालको उक्त मदिरा फेरी गाउँगाउँ सम्म पुग्न थाल्यो । न्युनआय भएका तर मदिराको लतमा फसेका सेवनकर्ताहरुले दैनिक रुपमा खाने यस्तो मदिराले एकातिर व्यक्तीको स्वास्थ्यमा असर परिरहेको र अर्काे तर्फ घरेलु हिंसा र जघन्य अपराधमा समेत बृद्धी भैरहेको अवस्थामा पालिकाहरु नै अग्रसर भए पछि अहिले पुन न्युन गुणस्तरको मदिरा बन्द भएको छ । बझाङका वित्थडचिर, थलारा, खप्तडछान्ना गाउँपालिका र बुगंल नगरपालिकाले कानुन नै बनाए पछि बझाङ भित्रिने न्युन गुणस्तरको मदिरा बन्द भएको हो ।
गत भदौ आठ र नौ गतेको जिल्ला सभाले निर्णय नै गरेका जिल्लाका सम्पुर्ण पालिकालाई कानुन बनाएर जनस्वास्थ्यमा हानी पुर्याउने खालको मदिरा नियन्त्रण गर्न निर्देशन दिएको थियो । पालिकालाई कानुन बनाउने काममा जिल्ला प्रशाशन कार्यालय लगायत निकायले समेत सहयोग र समन्वय गरेका थिए । ‘बझाङ आए पछि यहाँको शान्ती सुरक्षा र सार्वजनिक सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर विभिन्न क्षेत्रका स्थानिय सँग छलफल गर्याै’ प्रमुुख जिल्ला अधिकारी कैलास बहादुर ठकुराठीले भने, ‘सबै ठाउँबाट न्युन गुणस्तरको मदिरा नै हिंसा, अपराध, सामाजिक विकृतीको जड भएको कुरा आयो । यसलाई बन्द गर्न कोसिस गर्दा अदालतले रोकिदियो ।’ अहिले स्थानिय सरकार संचालन ऐन अनुसार पालिकाहरुले कानुन नै बनाएर कार्यान्वयन गरे पछि पलाष्टीक प्याकमा आउने मदिरा पुर्ण रुपमा बन्द भएको बताउदै उनले भने, ‘कानुन तर्जुमा गर्ने क्रममा हामीले पनि केही पालिकालाई प्राविधिक सहयोग र समन्वय गरेका थियौ । अहिले कार्यान्वयनमा सहयोग गरिरहेका छौ’
पलाष्टिक प्याकमा बिक्री हुने मदिरा सस्तो मुल्यमा उपलब्ध हुने भएकोले धेरैले सेवन गर्ने गरेको र त्यसकै कारण कतिपयले अल्पायूमै ज्यान समेत गुमाउनु परेकोले पालिकाले कानुन बनाएर नियन्त्रण गरेको सबै भन्दा पहिला मदिरा विक्री वितरण, व्यवस्थापन तथा नियमन निर्देशिका बनाई लागु गरेको बित्थडचिर गाउँपालिका एक जना वडा अध्यक्ष हरिस खड्काले जानकारी दिए । ‘यही मदिराका कारण घर घरमा झगडा हुने, गाउँमा समेत विभिन्न अपराध हुने गतिविधीहरु निकै बढेका थिए’ उनले भने, ‘अहिले तेस्ता घटनाहरुमा धेरै कम भएका छन’ वडा कार्यालयमा आउने झैझगडाका घटनाहरु पनि पहिला भन्दा धेरै घटेको उनले बताए ।

अपराध र हिंसाको जड मदिरा
सस्तो र गुणस्तरहिन मदिरा सजिलै उपलब्ध हुने भएकाले गाउँगाउँमा यसको बालबालिका, युवा र बृद्धहरु समेत लतमा फसेका छन । मदिराकै कारण जिल्लामा विभिन्न खाले अपराधको संख्यामा पनि बढिरहेको प्रहरीको तथ्याङकले देखाउछ । गत आर्थिक बर्षमा श्रीमानले मदिरा सेवन गरी कुटपिट गर्दा एक जना महिलाको ज्यान गएको थियो । त्यही वर्ष १३ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालयको रेर्कड छ । महिला माथी हुने विभिन्न खाले हिसांका ७८ वटा घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए । ति मध्ये अधिकासं घटनाका पछाडी रक्सी नै कारण हुने गरेको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्याकं अनुसार वितग तीन वर्षमा बझाङमा ३९ वटा बलात्कारका घटना भएका छन भने १९ वटा बलात्कार प्रयासका घटना दर्ता भएका छन । ४३ जना महिलाले झुण्डिएर आत्महत्या गरेको र तीन जनाले विष सेवन गरेर आत्महत्या गरेका छन । यही अवधीमा कुटपिट गरेको, शारिरिक तथा मानसिक यातना दिएको जस्ता चार सय ५८ वटा घरेलु तथा महिला हिसां सम्बन्धी उजुरी प्रहरीमा दर्ता भएका छन ।
‘घरेलु हिंसा र महिला हिंसाका जति पनि केस आउँछन, त्यसमा कतै न कतै रक्सी जोडिएकै हुन्छ’ जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका इकाईकी एक कर्मचारी कपुर खत्री भन्छिन, ‘मदिरा मात्रै नहुने हो भने यस्ता घटना धेरै नै कम हुन्छन जस्तो लाग्छ’ उनले दैनिक जसो पुरुषले मदिरा सेवन गरेर कुटपिट र हिंसा भएको उजुरी लिएर महिलाहरु आउने गरेको बताईन ।
‘हत्या, बलात्कार, सम्बन्ध विच्छेद देखी दिएर दैनिक हुने गरेका कुटपिटका घटनाहरुका पछाडीको कारण अधिकासंमा मदिरा नै देखिन्छ’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी खगेन्द्र धमला भन्छन ‘श्रीमान जड्याहा भएको र दिन दिनै हिंसा गर्ने भएकै कारण कपिपय महिलाहरु आत्महत्या गर्ने अवस्था सम्म पनि पुगेका छन’
बझाङ जिल्लामा मदिराजन्य विकृतिहरुको रुप विकराल बन्दै गएको तर्फ इगिंत गर्दै उनले भने ‘मदिराकै कारण, आर्थिक सामाजिक, मनोवैज्ञाानिक रुपले पनि महिला र बालबालिकाहरुमा हिंसा बढ्दै गएको पाइएको छ । जसलाई अभिलेखमा देखाउन सकिने अवस्था छैन । यो भावि पुस्ताको लागी समेत खतरनाक हुन सक्ने संकेत हो’
मदिरा सेवनकै कारण महिलाहरु माथी भएका विभिन्न खाले हिसांका घटनाहरु यो तथ्याकं अत्यन्तै न्युन भएको र ग्रामिण क्षेत्रमा सयौं महिलाहरु मदिराका कारण हिंसा भोग्न बाध्य रहेको महिला अधिकारकर्मीहरुको बताउँछन । महिला अधिकारकर्मी ममता सिंह भन्छिन ‘रक्सीका कारण जति घटनाहरु हुन्छन त्यसको १० प्रतिशत पनि प्रहरी वा महिला अधिकारकर्मीहरु सम्म पुग्दैनन । घरबार विग्रने डरले धेरै जसो पिडित महिलाले यस्ता घटना बाहिर ल्याउदैनन । बाहिर आएका घटनाहरु पनि गाउँ मै मिल्ने गर्छन । प्रहरीमा आउने भनेको गांउमा मिल्न नसकेको घटना मात्र हुन ।’

मदिरा नियन्त्रणको बझाङको इतिहास
बझाङमा मदिराका कारण सामजिक जिवन नै अस्तव्यस्त हुने गरीे कारोबार बढेपछि फलस्वरुप २०५४ सालमा तत्कालिन जिल्ला विकास समितिले बझाङलाई मदिरा निषेधित क्षेत्र (ड्राई एरिया) घोषणा गरेको थियो । खुला रुपमा विक्री वितरण र सेवन गर्न नपाईने भएकाले अहिले तुलनामा मदिराका कारणले हुने विकृतिहरु निकै कम भएका थिए ।
२०६३ सालमा दोस्रो जन आन्दोलन सफल भयो । सात दलको प्रत्यक्ष र तत्कालिन विद्रोही माओवादीको अप्रत्यक्ष सहभागितामा आन्दोलन सफल भए संगै सर्वदलिय संयन्त्र मार्फत शाशन संचालन हुने शैलिको विकास भयो । जनआन्दोलन सफल भए संगै २०६३ साल जेठमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले व्यापारीहरुको दवावमा २०५४ सालमा जिल्ला विकास समितिले गरेको निर्णयलाई उल्ट्याउदै बझाङमा मदिराको सेवन र विक्री वितरणलाई पुन खुला गरियो ।
त्यो वेला यहां सडक यातायातको पहुंच नपुगेका कारण व्यापारीहरुले हवाइजहाज चार्टर गरेर बझाङमा मदिरा भित्र्याउन थाले । दैनिक जसो २÷३ वटा निजि विमान सेवाका मदिरा बोकेका जहाजहरु बझाङ विमानस्थलमा अवतरण हुन्थे । घरेलु मदिरा अबैध भनिए पनि नियन्त्रणको अवस्था निकै खुकुलो भएका कारण जताततै उत्पादन सुरु थाल्यो । आर्थिक वर्ष २०६३÷६४ मा मात्र बझाङमा १५ करोड भन्दा बढीको ब्रान्डेड मदिरा हवाइजहाज मार्फत भित्रिएको तत्कालिन बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष ओमजंङबहादुर सिंह बताउछन ।
मदिरा खुला भए संगै पुन यसले सामाजिक विकृतीको रुप लिन थाल्यो । घरेलु हिंसा देखी हत्या, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु अप्रत्यासित ढंगले बढन थाले । सबै घटनाका पछाडी कुनै न कुनै रुपमा मदिरा जोडिन थाल्यो । २०६४ साल यता मदिरा सेवन गरेकै कारण प्रतिवर्ष ५ देखी १० जना मानिसहरुको भिरबाट लडेर मृत्यू हुने गरेको प्रहरीको तथ्याङक छ ।
मदिराका कारण सामाजिक जनजिवनमा नै गम्भिर खालका असरहरु देखिन थाले पछि बझाङका महिलाहरु र नागरिक समाजले मदिरा विक्रिवितरण गर्नका लागी रोक लगाउनु पर्ने आवाज उठाए ।

सामान्य तरिका उठाएको आवाजमा सुनुवाई नभए पछि कैयौ पटक सडकमा नारा जुलस र धर्ना समेत गरे । महिला र नागरिक समाजको व्यापक दवाव पछि २०६९ सालमा भएको जिल्ला परिषदले मदिरा प्रतिबन्ध लगाउने निर्णय नै गर्यो । तर कार्यान्वयन हुन सकेन । अर्काे वर्ष २०७० सालमा पनि महिलाहरुको व्यापक दवाब पछि जिल्ला परिषदले मदिरा प्रतिवन्ध गर्ने अघिल्लो परिषदको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यद्यपी यो निर्णय पनि कार्यान्वयन भएन । २०७४ सालमा जिल्ला सभाले गरेको मदिरा प्रतिबन्ध गर्ने निर्णय अदालतले उल्ट्यायो । पछिल्लो पटक गुणस्तरहिन पनि मदिरा बन्द गर्ने प्रयासमा पनि अदालतले चुनौती दिए पछि पालिकाहरुले कानुन बनाएर मदिरा व्यवस्थापन गर्ने खोजीरहेका छन । यद्यपी यो कानुनको पुर्णरुपमा कार्यान्वयन हुनेमा पनि विभिन्न चुनौती रहेको स्थानियहरु बताउछन ।
