बझाङ : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरले शुक्रबार साँझ एमएमए फाइटर रविन्द्र ढाँटका बुवा हरे ढाँटसँग भेटघाट गरेका छन् ।
गृह जिल्ला बझाङमा जनसंवाद तथा भेटघाटका क्रममा रहेका महरले वित्थडचिर गाउँपालिका–४ पुगेर रविन्द्रका बुवा हरे ढाँटसँग घरमै पुगेर कुराकानी गरेका हुन् ।
भेटका क्रममा नेता महरले रविन्द्र ढाँटका उपलब्धि र साहसप्रति गर्व व्यक्त गर्दै भने, ‘रविन्द्र देश र राष्ट्रको छोरा हुन्, उनी हाम्रो सम्पत्ति हुन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उज्यालो पारेका छन् । उनी अझ राम्रो गर्छन् भन्ने विश्वास छ ।’
महरले केही समयअघि काठमाडौँमा समेत रविन्द्रसँग भेट भएको स्मरण गर्दै भने, ‘उनी आफ्नै गाउँठाउँको भाइ हुन् भन्नेमा मलाई गर्व छ । रविन्द्र जस्ता प्रतिभाशाली युवाको साथ र समर्थनमा हामी सधैं रहन्छौं ।’
रविन्द्रका बुवा हरे ढाँटले नेता महरप्रति आभार व्यक्त गर्दै भने, ‘रविन्द्रको प्रयासमा देशभरबाट साथ र माया मिलिरहेको छ । तपाईँहरू जस्ता नेताले पनि सधैं हौसला र साथ दिनुहुने छ भन्ने अपेक्षा छ ।’
महरले ढाँट परिवारसँग केही समय घरायसी संवाद गर्दै रविन्द्रको निरन्तर सफलता लागि शुभकामना व्यक्त गरेका थिए । उनले रविन्द्रले जसरी खेलकुद मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका छन्, त्यो अरु युवाहरुका लागि पनि प्रेरणादायी भएको बताए ।
ढाँटका बुवा संग भेटघाटका क्रममा महर संगै सुदरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारी, नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य प्रेम बोहरा, लोकेन्द्र बोहरा लगाएत स्थानियहरुको पनि सहभागिता रहेको थियो ।
