बान्नीकि चैतलीमा भोट माग्दै नेकपा एमालेका उम्मेदवार दमन भण्डारी

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : आइतबार बझाङको छविसपाथिभेरा गाउँपालिकामा लागेको प्रसिद्ध बान्नीकि चैतली जात्रामा उम्मेदवारहरु भोट माग्न व्यस्त देखिन्थे ।

जात्रामा उम्मेदवारहरु नेता कार्यकतासहित भोट माग्न पुगेका थिए । बझाङमा बैशाख ४ गते अष्टमीबाट विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्राको रौनक जारी छ ।

यसका साथै चुनावको माहोलले झनै चहलपहल बढाएको छ । अहिले उम्मेदवारहरु भोटमाग्न विभिन्न ठाउँमा आयोजना हुने जात्रामा पुग्न थालेका छन् ।

जात्रामा अधिकांश मतदाता पुग्ने भएकाले पनि उम्मेदवारहरुलाई भोट माग्न सहज भएको नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले बताए । उनले भने,’ यहाँको जात्रा जमघट हुने,सुख दुःख साटासाट गर्ने माध्यम हो । जात्राहरु सांस्कृतिक धरोहर हुन् । मष्टा देवताका सबै आलीपाली यहाँ जम्मा हुन्छन् । बान्नीकी चैतली बझाङ जिल्लाकै ठुलो जात्रा हो । यहाँ सबै ठाउँका स्थानियहरु जात्रामा आउछन् । हामी पनि मतदाता संग भेटघाट गर्नका लागि जात्रामा पुगेका छौं । जात्रामा सबै खुशी मनस्थितिमा भेटिन्छन्, हामीलाइ आफ्ना एजेण्डा राख्न सहज पनि हुन्र्छ ।’

बझाङमा बैशाख १५ गते बझाङमा प्रदेशसभा १ को उपनिर्वाचन हुँदै छ । उम्मेदवारहरू भोट माग्न जात्रामै पुग्न थालेका छन् । जात्रामा एकैपटक धेरै व्यक्तिसँग भेट हुने भएकाले उम्मेदवारले भोट माग्ने उपाय अपनाएका नेकपा एमालेका केन्द्रिय सदस्य ऐन महरले बताए ।

जात्रामा एकैपटक धेरै मतदाता भेटिने भएकाले उनिहरुसँग भेट गरी भोट दिन आग्रह गरेको समेत महरको भनाई छ । उनले भने,‘ उम्मेदवार सहित सबैका घर–घरमा पुगेका छौ । घरमा नभेटिएका मतदाता जात्रामा भेटिन्छन्, जात्राले सबैसँग भेटघाट गर्ने अवसर जुराउँछ । उम्मेदवारले आफ्नो उम्मेदारीका बारेमा जात्रामै भेटिएका मतदातासँग कुरा राख्नपाउनुहुन्छ ।’

अहिले दलहरु आ–आफ्ना पक्षमा मत तान्ने प्रयासमा छन् । “जिल्लाको प्रसिद्ध धार्मिक तथा एतिहासिक बान्नीकि चैतली जात्रामा सहभागी भयौं,देउडा खेल्यौं,यसले झन् आपसी भाइचाराको सम्बन्ध मजबुत बनाउँछ ।”

जात्राको रौनकसँगै उम्मेदवारहरूका कुरा सुन्न पाउँदा रमाइलो लागेको बान्निकि चैतली जात्रामा भेटिएका भुवन खड्काले बताए । उनले भने,‘यसपटकको जात्रा निर्वाचनका कारणले फरक भयो, पूजापाठका साथै राजनीतिक कुराकानी पनि भयो । उम्मेदवारहरूसँग आफ्ना कुरा पनि राख्यौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *