साइपालखबर
बझाङ । बझाङमा हिजोदेखि परेको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् । लगातारको वर्षाले सेती र कालंगा नदीका तटिए क्षेत्रका खेतमा पाकेको धानमा क्षति गरेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । बझाङमा दशै सकिय लगत्तै धान भित्र्याउने चटारो हुन्छ । पाकेर ठिक्क भएको र काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको जयपृथ्वी नगरपालिका ५ का नरेस सिंहले बताउनुभयो ।
धान काटी सकेको भएपनि चुटन बाँकी रहेको र धान काटेर खेतमै सुकाउन राखेको अवस्थामा पानी पर्दा धानमा क्षति भएको सिंहको भनाई छ । पानीले जयपृथ्वी नगरपालिकाको गोलाइ जिउलो, डुग्री, पडेस, साईलाबगर, केदारस्युँ गाँउपालिकाको झोता, देउरा, बुङगल नगरपालिकाको सट्टाय, विजगडा, गिरौ लगायतका जिउलामा काटेर सुकाउन राखिएको धान पानीले भिजेर क्षति भएको हो । दशैँको बेला धान पाक्ने समय हुने र घर गाउँमा जनशक्ति पनि धेरै हुने भएकाले धान पाकेको ठाउँमा यही बेला धान काट्ने र भित्र्याउने गरिन्छ । कतिपय ठाउँमा त काटेर खेतमै सुकाएको धान पानीले भिजाएको छ । धान काट्ने बेलामा पानी पर्ने संकेत नदेखिए पनि धान काटेर सुकाउनेबित्तिकै पानी परेपछि नोक्सानी भएको किसानको गुनासो छ ।
