सन्तोष रावल
-कृषि
घरेलु तरिकाले बालीनाली लगाउने तथा पशुजन्य उत्पादन गर्ने कार्य कृषि हो। कृषिलाई खेती बारीमा बीउबीजन रोपी गोडमेल गरी अन्न उब्जाउने कार्यका रूपमा पनि परिभाषित गर्न सकिन्छ। कृषि कार्य अन्तर्गत पशुपालन, बाली उत्पादन, माछापालन, जीवजन्तुको पालन, फकफुल खेती पर्दछन्। हाम्रो देशको अर्थतन्त्रको मुल आधार पनि कृषि हो ।
-युवा
युवाहरु युग हाँक्न सक्ने शक्ति र मुलुकको भविष्यको प्रधान पुँजी पनि हो। संयुक्त राष्ट्रसंघका अनुसार १८ देखि ४० वर्षसम्मको अवस्थालाई युवावस्था भनेर परिभाषित गरेको छ। युवावस्थामा व्यक्तिमा साहस, सिर्जनशीलता सिक्ने क्षमता, उच्च आत्मविश्वास र शारीरिक सक्रियता हुन्छ।
तर हाम्रो देश नेपाल कृषि प्रधान देश भए तापनि युवाहरुलाई यस क्षेत्रमा आकर्षण गर्न सकिएको छैन। कृषि गणना, २०८० का अनुसार नेपालमा कृषि गर्ने परिवारको संख्यामा वृद्धि भए तापनि कृषियोग्य जग्गामा भने कमी आएको देखिन्छ।
आजभन्दा २० वर्ष अगाडि ९०%, १० वर्ष अगाडि ७१% कुल परिवार संख्या कृषिमा आवद्ध रहेकोमा अहिले घटेर ६२ प्रतिशत मात्रै कृषि पेसामा आबद्ध रहेको देखिन्छ । २५ वर्षसम्मका युबा कृषकको हिस्सा ३.१ प्रतिशत रहेकोमा अहिले आएर २.६ प्रतिशतमा झरेको तथ्यले देखाउँछ ।
सरकारले कृषि क्षेत्रको विकास, व्यावसायिकरण, यान्त्रिकीकरण र बजारीकरण तथा अनुदान बितरण लगायतका कार्यका लागि निरन्तर रूपमा बजेट विनियोजन गर्दै आएको भए तापनि राजनीति नेतृत्व तथा नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई पाल्ने आहाराको रूपमा र कर्मचारीहरुले आफूले मन चाहिने बजेटको दुरुपयोग गरेको देखिन्छ। सामान्य कृषकहरुले समयमा न बिउ र मलखाद पाउँछन् न खाद्यान्न पाएको देखिन्छ। लगाएको बालीनाली पनि बाँदरको आहारा बन्न पुगेको छ। समाज परिवर्तनको सम्वाहकको रुपमा रहेको युवा पुस्ता पनि कि त नेपालमा निष्क्रिय भई बसेका छन् कि विदेशी भूमिमा रगत पसिना बगाउन बाध्य छन् । हाल नेपाल सरकारले “समृद्ध नेपाल सुखी नेपाली” भन्ने नारा लिए तापनि सानासाना विकास निर्माणका कार्य गरेर मात्र देशको समृद्धि सम्भव देखिँदैन। कृषिमा ठूलो क्रान्ति र युवालाई कृषिमा आकर्षक गर्नुपर्ने देखिन्छ । तर दुख:द कुरा चालू आर्थिक बर्षको बजेट विनियोजनमा कृषि क्षेत्रमा बजेट विनियोजन न्यून गरिनुले युवाहरूलाई निराशातिर धकेलेको छ।
तितो तर सत्य कुरा
एउटा कृषकको छोरा कृषक बन्न चाहँदैन भने अन्य पेशामा लागेका छोराछोरीको कसरी कृषक पेशामा लाग्छन होला त कारण खोतलौ। अन्य देशमा जस्तै चीन, जापान, अस्ट्रेलिया, जर्मनी, ब्राजिल लगायतका देशहरुमा कृषिमा १० देखि १५ प्रतिशत मात्र जनसंख्या कृषिमा आवद्ध भएर पनि ५० प्रतिशतभन्दा बढी कृषिजन्य सामग्री निर्यात गर्न सक्ने तर कठै! हाम्रो देश नेपालमा ६२ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आबद्ध भएर पनि नुनदेखि सुनसम्म आयात गर्नु पर्ने, प्रगति शून्य छ। राति सुतेर बिहान के खाने भन्ने प्रश्न चिन्ह आफै खडा हुन्छ। सकेजति जापान ,कोरिया, अस्ट्रेलिया खाडीमा नसक्ने जति सबै दार्जिलिङतिर भारी बोक्न। यता फलफूल बाटोमा कुरिरहेको छ। उता प्याकेटमा कुरिरहेको फलफूल खाएर पेट कुहाइरहेका छन्। यता रुखको सितल छाडेर कतै कठ्याङ्ग्रिएर कतै जाडो, कतै पसिना सुकाउने गर्मी खेपिरहेका छन।
एउटा सानो समस्या के छ भने हाम्रो देशमा छोरा बिहानै जागिर गर्न जाने बुढा बुवा हातमा लौरो टेकेर खेताला खोज्न जाने बेलुका छोरा जागिर नपाएर घर बुढा बुवा खेताला नपाएर लौरो टेक्दै घर यस्तो दर्दनाक अवस्था छ। अर्काको भूमिमा रगत पसिना बगाउन को लागि हरियो पासपोर्ट बनाउन आन्दोलन गर्दै ज्यानको बाजी लगाउने युवाहरु आफ्नो देशमा घरको आगन अगाडी हरियो तरकारी लगाउन लाज मानिरहेका छन्। अर्कातिर त के छ भने उमेर पुगेका युवा युवतीले विवाह गर्न चाहेमा कृषि पेशा अँगालेकाभन्दा विदेशी रोजगारीमा गएका युवायुवतीको रोजाइमा पर्ने गरेको हामी सबैले नाङ्गो आखाले देखिरहेका छौं।
म सम्पूर्ण युवामनहरुलाई के भन्न चाहन्छु भने तपाई बिबाहित हो भने आफू श्रीमान अथवा श्रीमती भएको नाताले यस्तो भन्नुहोस् किनकि युबालाई हाम्रो देश नेपालमा के गर्ने वातावरण निर्माणको लागि मात्र
लगाएर कोदो फापर काउली आफ्नै बारीमा
रोजीरोजी पकाएर खाउली आफ्नै बारीमा
उठाउला बिहान दुबैजना खुशी हुँदै जन्मभुमि बाट
सबै काम मै गरुला तिमी रमाउली आफ्नै बारिमा
साच्चै किसान छैनन् त खान छैन भन्ने कुराको अबको मन मस्तिकमा जगाउन आबस्यक देखिन्छ।
बिदेशी खाइयो स्वदेशी खाइएन
सस्तो चाहियो स्वस्थ चाहिएन
तालिम पाइयो सिप पाइएन
गाउँ गइएन खेत गइएन
बिचौलिया चिनियो किसान चिनिएन
चाउचाउ किनियो चामल किनिएन
खेत भेटियो खेती भेटिएन
भन्ने दिन भन्ने दिन नआओस् भन्दै कृषिमा आधुनिक प्रविधिको प्रयोग अनुसन्धान र कृषिमा लगानी बढाउँदै कृषि तथा प्रकृतिक संसाधनहरूको प्रयोग गर्दै उत्पादन बढाउन सक्ने प्रौद्योगिकीहरूको अवलोकन गरेर समुदाय आधारित विकास स्थानीय समुदायहरूले आफ्नो समस्या र समाधानको अध्ययन गर्दै, समुदाय आधारित कृषि विकासको समर्थन, जलस्रोत संरक्षण, किसानहरूलाई नयाँ तथा उत्कृष्ट कृषि तारिकाहरू अध्ययन गराउन तथा प्रशिक्षण, उत्कृष्ट बिउ र कृषि उपकरणको विकासमार्फत कृषि क्रान्तिको पहिलो खुट्किलामा युवाहरुले पाइला चाल्ने तर्फ ध्यान केन्द्रित हुनेछ। बिदेशी भुमिभन्दा आफ्नो जन्मभूमि निर्माण हुनेछ। यसरी कृषिमा युवा आकर्षण गरेर मात्र समृद्धिको साँचो खोलिनेछ।
(लेखक रावल बझाङ थलारा गाउँपालिका वडा नम्बर ४, ठिङ पडेसका स्थानिय हुनुहुन्छ । उहाँ अहिले कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत हुनुहुन्छ।)