जनककुमार विष्ट
२०७२ साल तिरको कुरो हो, जब म जागिरको स्थायी नियुक्ती लिएर पौष २३ गते साइपाल गाउँपालिकाकाे काँडा स्वास्थ्य चौकी पुगे । बझाङ जिल्लाको सवैभन्दा सुगम चैनपुर (जिल्ला सदरमुकाम) बाट काँडा स्वास्थ्य चौकी सम्मको दुरी ३२ कोष छ ।
साइपालका मुख्य चारवटा गाउँहरुको बीचमा अवस्थित स्वास्थ्य चौकीको कार्यालयबाट ति गाउँहरुमा पुग्न करीव ६/७ घण्टा हिडनुपर्छ । पूर्व तिर धलौन गाँउ र उत्तर तिर धुलि बलौडि, न्युना छन् । चीनकाे तिब्बतसंग सिमाना जाेडिएकाे साइपाल गाँउपालिका मात्रै बझाङ जिल्लाको झन्डै ४७ प्रतिशत भु–भाग (१४६८ वर्ग किलोमिटर ) ओगटेको छ । गाउँपालिकाकाे याे भु–भाग तेह्रथुम जिल्ला भन्दा दुइ गुणा र पर्वत जिल्ला भन्दा तीन गुणा ठूलो छ ।
म साइपाल गाउँपालिकामा पहिलो पटक गएको हुनाले मलाई केहि समय साह्रै गाह्रो भयो किनभने मेरो घर रहेकाे तलकोट गाउँपालिकाको मेलविसौनाबाट तीन दिन हिडनुपर्ने, फेरी त्यहाँ पुगेपछि गाउँमा फोन नलाग्ने, फोन गर्न परे ३० मिनेट हिडेर डाडाँमा गएर मात्र फोन लाग्ने र त्यहाँका गाउँगाउँमा घुम्न झन्डै २/३ महिना लाग्यो । म साइपाल जानुभन्दा अगाडी साढे तीन बर्ष जति कैलालीको गेटा आँखा अस्पतालमा कार्यरत थिए । काडाँ स्वास्थ्य चौकीको अवस्था पनि नाजुक थियो ।
मलाई सुरुमै केहि राम्रो काम गर्नुपर्छ भनेर स्वास्थ्य चौकी इन्चार्ज बनाएर जिल्लामा पठाइएकाे थियाे । त्यतिबेला हामी तीन जना मात्रै कर्मचारी थियौ । म पुग्दा स्वास्थ्य चौकीमा न बर्थिङ सेन्टर थियो, नत खानेपानी न त्यतिबेला सम्म कोहि पनि डाक्टर नै पुगेका थिए ।
मैले मनमनै सोचे, ‘एकपटक जिल्लाका डाक्टर काँडा स्वास्थ्य चौकीमा बोलाएर गर्भवति भेला र गर्भवती सम्मान र गर्भवतीलाई निःशुल्क भिडीयो एक्सरे गर्न सकिन्छ की !’ मैले मेरो मनको कुरा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.बिष्नु खतिवडा सर सँग सुनाए । उहाँले पनि मेरो कुरालाई मन पराउनुभयो । हामीले जिल्ला स्वास्थ्य कार्यालयको टीमद्धारा स्वास्थ्य शिविर सम्पन्न गरायौं । जसबाट धेरै बिरामीले सेवा पाए । चार जनाको कलेजोमा हाइडानिक सिस्ट भेटीयोे र अरु पनि धेरै समस्या पत्ता लाग्यो ।
मैले शिविर सञ्चालनको अवधारणा ल्याउनुको मुख्य कारण चाहि गर्भवती र सुत्केरी अवस्थामा जाच गर्नुपर्छ भनेर साइपालबासीलाई बुझाउनलाई थियो । म साइपालमा सेवा गर्न जानुभन्दा अगाडी न्युना गाउँमा काम गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका पनि लामो प्रसव बेथाका कारणले महिलाहरुले अकालमा ज्यान गुमाइरहेको सुनाएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ज्यूले पनि मलाई त्यहाँबाट टाढाका गाउँमा सामुदायिक स्वास्थ्य एकाइ केन्द्र खोल्न सके राम्रो हुन्थ्यो र काँडा स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालन खानेपानीको समस्या पनि समाधान गर्न सके राम्रो हुन्थ्यो भनेर सुझाव दिनुभयो । त्यहि अनुसार म गएको चारपाँच महिनामा स्वास्थ्य चौकीको इन्चार्जको हैसियतले एउटा अनमिको दरखास्त खुलाए ।
खानेपानीको व्यबस्था गरे । स्वास्य चौकीमा बर्थिङ सेन्टर सुरुवात गरेर संस्थागत सुत्केरी हुन लागे । सेवाग्राहीहरुले सेवा पाउन थाले । उनीहरुलाई सिमित स्रोतसाधनबाटै सेवा पु¥याउन सक्दा खुसी लाग्यो । जिल्ला स्वास्थ्य कार्यालय बझाङमा आर्थिक बर्ष ०७२/०७३ को श्रावणको महिनाको बार्षिक समिक्षामा मैले यही कार्य विवरण प्रस्तुत गरे । काँडा स्वास्थ्य चौकीको पहिलेकोे अवस्था र अहिलेको अवस्थाका सामाग्रीहरु प्रस्तुत गरे । फलस्वरुप मलाई जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभरकै उत्कृष्ट स्वास्थ्यकर्मी ‘अवार्ड’ दिनुभयो । स्थायी नियुक्ति पाएको सात महिनामै उत्कृष्ट काम गरेर ‘अवार्ड’ पाउदा मलाई झनै हौसला थपियो ।
मेरो त्यसपछिको उद्देश्य भनेको स्वास्थ्य चौकीबाट टाढा रहेको गाउँहरुमा स्वास्थ्य सेवा विस्तार गर्नु थियो । पुर्वाधार संरचना बनाउन जग्गा छनोट गर्नुपर्ने थियो । बल्लतल्ल धुली र धलोनमा जग्गा उपलब्ध भयो । मैले पास गराएकै जग्गामै स्वास्थ्य भवनहरु बनाउन सफल हुदा ठुलो उपलब्धी गरे जस्तो लाग्छ । यो काम गर्न साथ सहयोग गर्नुहुने सबैलाई धेरै सम्झिरहेको हुन्छु, उहाँहरुप्रति सदैव सम्मान जाग्छ ।
साइपालको स्वास्थ्य स्थिती कमजोर थियो । सेवाग्राहीले राती—राती बोलाउन आएपनि सेवा दिनुपर्थ्याे । म तीनचार पटक राती दुईतीन घण्टा हिडेर पनि उपचार गर्न गाउँहरुमा पुगेको छु । ति गाउँमा न त फोन लाग्थ्यो, धेरै सास्ती थियो । राती सुतेको बेला पनि गरिबी, कमजोर सचेतनासंग पौठेजोरी गरिरहेका साइपालबासीहरुको लाग्थ्यो । कोहि बोलाउन आइ रहेका पो छन् की अबेरसम्म निदाउन सक्दिन थिए ।
एकदिन यस्तै भयो । त्यही म बस्ने घर नजिकैकोे एउटा वृद्ध बज्यैको आँखा हेरीदिनु पर्याे भनेर बोलाउन आए । मैले आँखा सम्बन्धी पनि तीन वर्ष अध्ययन गरेको हुनाले आँखाका समस्याहरु हेर्थे । म बोलाएको घरमा गए । दुबै आँखामा पुरै मोतिबिन्दु (cataract) थियो र बज्यैलाई बाहिर भित्र जान पनि साह्रै गाह्रो थियो । उहाँ केहि पनि देख्नु हुन्थेन ।
उहाँको नाम प्यारु बोहरा थियो । अन्दाजी ८५ बर्षकी हुनुहुन्थ्यो । मैले उहाँको छोरालाई भने, ‘मेरो गाउँ (साइपालको छिमेकी गाउँपालिका) मा गेटा आँखा अस्पतालबाट आँखा शिवीर आउँदैछ, शिविरमा लिनसके आखाको ज्योति फर्कने थियो ।’ उहाँको परिवारले दुइतीन दिन हिडेर लिन सकिदैन भन्नुभयो । यस गाउँमा आँखाको समस्या भएका धेरै थिए । भौगोलिक विकटताका कारण हिडडुल गर्नै गाह्राे थियो भने झन मान्छेलाई बोकेर ल्याउन सारै अप्ठ्यारो हुन्थ्यो ।
बाटोमा म एक्लै हिड्नुपरेको दिन डरैडरले हिड्थे । यिनै कठिनाइले गर्दा पछि मैले जिल्ला स्वास्थ्य कार्यालयमा सरुवा माग गरे । मेरो सरुवा मेरै गाउँको स्वास्थ्य चौकी (तलकोट गाउँपालिकाको मेलविसौना स्वास्थ्य चौकी) मा भएपनि काँडामै आठ महिना काजमा बस्नुपर्याे । यसबीचमा कान्तिपुर राष्ट्रिय दैनिकका पत्रकार वसन्तप्रताप सिंह सरसंग भेट भयो ।
उहाँले सोध्नुभयो, ‘सर साइपालको स्वास्थय समस्या के के छन् ?’ मैले माथि लेखेजसरी सबै समस्या सुनाए । तर मुख्य समस्याका रुपमा भने आँखाका बिरामिहरु छन । ती बिरामिलाई बाहिर भित्र जान समेत गाह्रो छ । यहाँ जसरी भएपनि शिविर सञ्चालन गर्न सके आँखाको ज्योती फर्किने थियो । यस बिषयमा मैले सम्बन्धित निकायमा खबर गरेको तर पनि भौगोलिक विकटता कारण गाह्रो रहेको, गाउँपालिका अध्यक्ष ज्यूले पनि यो विषयमा सोचौला भन्नुभएको बताए ।
उहाँले यि सबै समस्याहरु समेटेर समाचार लेखिदिनु भयो । ०७५ साल फागुन १ गतेको कान्तिपुर राष्ट्रिय दैनिकमा बझाङको साइपालमा वृद्धको प्रश्न आँखा उपचार गरिदिने सरकार कहिले आउला ? भनेर समाचार छापियो । यो समाचार आएपछि गाउँपालिका र गेटा आँखा अस्पतालमा मैले भनेको थिए, ‘गाउँपालिकाले हेलिकोप्टरको व्यवस्था गर्न सके हुन्थ्यो त्यति धेरै दिन हिडेर त हामिलाई गाह्रो हुन्छ किनकी आँखा अप्रेसन गर्ने मेसिन बोक्न गाह्रो हुन्छ ।’ यि चाजोपाजो मिलाउने कुरामा गाउँपालिका अध्यक्षले यसपटक पनि विचार गरौला भन्नुभयो ।
शिविर गर्ने खबर महिनौसम्म खबर आएन । समय वित्दै गयो मैले त शिविर सञ्चालन गर्न हुने आश मारीसकेको थिए ।
फेरी ०७६ साल भदौ २४ गते कान्तिपुर दैनिकमा एकै गाउँपालिकामा ३०० दृष्टि विहिन भन्ने समाचार छापियो । समाचारले पनि ठाउँ पाएको थियो, जताततै हल्लाखल्ला भयो । यसपछि गेटा आँखा अस्पतालका प्रमुख डा.सुरेसराज पन्त सरले फोन गर्नुभयो र भन्नुभयो, ‘जनक त्यहाँ ३०० सय दृष्टि विहिन छन र !’ मैले भने, ‘३०० सय त छैन डा.साव ! ५०/६० जनाको अपरेसन हुन्छ ।’ त्यसपछि केहि व्यवस्था मिलाएर आउनुपर्ला भन्नुभयो । मोतिबीन्दु भएकाको छनोट गरेर शिविर गर्ने सल्लाह भयो ।
त्यसैगरी नेपालगञ्ज मेडिकल कलेजमा आँखा रोगका प्रमुख डा.विक्रमबहादुर थापा दाइको फोन आयो । काठमाण्डौँबाट पनि दुईतीन जना डाक्टर सावले फोन गर्नुभयो । तिलगंगा आँखा अस्पतालका प्रमुख डा.सन्दुक रुइत सर संग पनि कुरा भयो । उहाँले भन्नुभयो, ‘मोतिबिन्दु अपरेसनको छनोट गरेपछि खवर गर्नु, म आफै आउन्छु, यो पटक आउन सकिन भने अर्को पटक तिम्रो गाउँसम्म आउछु ।’
त्यसपछि प्रदेश सरकार, गेटा आँखा अस्पताल, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, साइपाल गाउँपालिका, आँखा उपचारकेन्द्रको सरसल्लाहमा मोतिविन्दु स्क्रिनिङ शिविर गर्ने सल्लाह भयाे । ०७७ साल असोजमा झन्डै एक हप्ता स्क्रिनिङ शिविर भयो । स्क्रिनिङ शिविरमा ५४ जनाको मोतिबिन्दु जसमा ४२ जनाको एउटा आँखाको भने १२ जनाको दुबै आँखा अप्रेसन गर्नुपर्ने देखियो । र जम्मा ९२३ जना बिरामी जाच गर्दा ५४ मोतिविन्दु आँखामा मासु पलाएको, ११ जना अन्य आँखाका बिरामि २ जना चस्मा लगाउनुपर्ने खालका ५८० जना भेटीए ।
त्यसपछि गाउँपालिका, विभिन्न आँखा अस्पताल प्रदेश सरकार वा तिलगंगा आँखा अस्पतालको समन्वयमा ०७७ कार्तिक महिनामा तीन दिने आँखाको अपरेसन सहितको बृहत स्वास्थ्य सिविर सञ्चालन भयो । शिविरमा ३०८ जना महिला, २०३ पुरुष गरी ५११ जनाले सेवा लिए । ३२ जना महिला र ५४ जना पूरुष गरी ५६ जनाको मोतिबिन्दु अपरेसन भयो । १६० महिला र २२० जना पुरुष गरी ३८० जनालाई चस्मा वितरण गरीयो ।
साइपालमा अपरेसन सहितको बृहत स्वास्थ्य शिविर सञ्चालन भएको पहिलोपटक हो । स्थानिय खुसी भए । नौ जना विशेषज्ञ चिकित्सक सहित ४० भन्दा बढी स्वास्थ्यकर्मीहरुको टोलिबाट अलग अलग स्थानमा शिविर सञ्चालन भएको थियो । जस्तै बालरोग, स्त्रीरोग, दन्तरोग, महिला तथा पूरुष बन्धयाकरण र जनरल रेडिफिक सम्बन्धी सेवा सञ्चालन गरीएको थियो ।
यो बृहत शिविर सम्पन्न हुनमा प्रमुख श्रेय साइपाल गाउँपालिकाकी प्यारु बोहरालाई जान्छ । उनकै समस्याले शिविर गर्ने सोच बनेको थियो र सफलतापुर्वक सम्पन्न पनि भयो । उनको अवस्थालाई देखेर कान्तिपुर राष्ट्रिय दैनिकका पत्रकार वसन्तप्रताप सिहंले ०७७ साल भदौ २४ गते कान्तिपुर दैनिकमा “साइपालको अध्यारो संसार” शिर्षकमा समाचार प्रकाशन गरेपछि शिविर सम्भव भएको हो । उहाँले नलेखेको भए यो समाचार बन्थेन, प्रकाशित हुन्थेन र शिविर पनि सम्भव हुन्थेन । अहिले प्यारुका दुबै आँखाले राम्रोसित देख्छन् ।
शिविर सञ्चालनमा याेगदान दिनुहुने प्रदेश सरकारका तत्कालिन सभामुख अर्जुन थापा, तत्कालिन प्रतिनीधि सभा सदस्य आशा विक, प्रदेश सभा सदस्य अफिलाल ओखेडा, तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् बरीष्ठ नेत्ररोग बिशेषज्ञ प्रा.डा.सन्दुक रुइत, बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रीता गुरुङ, गेटा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सुरेशराज पन्त, आउटरीच म्यानेजर रमेशचन्द्र भट्ट, नेत्र चिकीत्सक डा. विक्रमबहादुर थापा, सामाजिक विकास मन्त्रालयका निर्देशक डा. जगदिश जोशी, बझाङ जिल्ला अस्पतालमा प्रमुख डा.सन्दीप ओखेडा, स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशी, प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, साइपाल गाउँपालिका अध्यक्ष राजिन्द्र धामी, सयुक्त राष्ट्रसंगका पुर्व विशिष्ट अधिकारी शुवास सिंह, सिम्रिक एयरका क्षेत्रीय प्रबन्धक कमल गौतम, आँखा उपचार केन्द्र बझाङ, पत्रकार वसन्तप्रताप सिंह लगायत सम्पूर्णमा सदैव आभारी छु । जागिरे जिवनमा सेवाभावको उद्देश्य वा सपना पुरा भएको ति खुसिका दिनहरु आज सम्झदा पनि उत्तिकै गर्व महसुस भैरहन्छ ।
(लेखक बिष्ट हाल बझाङको तलकोट गाउँपालिकाको मेलविसौना स्वास्थ्य चौकीमा सिनियर अहेब छन् ।)