संघर्षले डोर्याएको बेग्लै संसार : अनि एयर होस्टेस बन्न छ्वालीको काम गरे

सगरमाथा चढ्न हिडेको पर्वतारोही बेसक्याम्प नै नपुगी बाटो मै अलपत्र परेझै भएकी थिए म । मैले असफलतालाई परिभाषित गर्नुपर्दा आफुले राखेको लक्ष्य भेटाउन नसक्नु हो ।

सुम्निमा गिरी

सुम्निमाको साइपाल डायरी : रातको करिब साढे बाह्र बजिसकेको थियो । आँखामा भने फिटिक्कै निन्द्रा थिएन । शरिर पुरै शिथिल थियो । मुटुको धड्कन यति बढेको थियो कि छेउमा सुतेकी मेरी कान्छी बहिनी श्रुति जर्याकजुरुक उठेर “के भयो सुनदी ? पानी ल्याउँ ” भनेर सोध्दै थिई ।

मैले नाई तिमी सुत म ठिक छु भनेर उसलाई सुत्न भने । डराउँदै काँपेका मेरा हातले  www.psc.gov.np टाईप गरे । लोकसेवाको दिपायल केन्द्रबाट परिक्षाको नतिजा प्रकाशन सम्बन्धी सुचनामा क्लिक गरे ।

मन सारै बेचैन थियो र पनि हिम्मत जुटाएर नतिजा हेर्न थाले । म डराएको भए पनि ढुक्कै थिए । मेरो नाम पक्का निस्किन्छ, यहि विश्वासका साथ मैले आफ्नो नाम खोजे । अन्ततः नाम भेटे । वैकल्पिक सुचिको ६ नम्वरमा ।

मैले त्यो नतिजा विश्वास गर्नै सकिन । नतिजा हेर्न नजानेको त हैन? यस्तो कसरी हुन सक्छ । मलाई औडाहा भयो । मन भतभती पोलेर आयो ।
आफु स्थानीय तहको सहायक पाँचौ पदमा सिफारिस नभएको तनाव भन्दा पनि घरमा बा आमालाई कसरी आफ्नो असफलताको खवर सुनाउने भन्ने चिन्ता थियो । त्यो रात म खुव रोएँ । डाको छोडेर रुन मन लाग्यो ।

छेउमा सुतेकी बहिनीले रोएको सुन्छे की भनेर मुख भित्र ब्ल्याङ्केट कोचेर रोएँ । अझै पनि पुगेन मलाई, बाथरुम गएर रोएँ । आफुसँगै लोकसेवा तयारी गरेका चिरञ्जिवी दाईलाई दिउसो बधाई दिएको सम्झिएँ ।

मेरो पनि नाम निस्केको भए सायद मेरो घरमा हर्षोल्लास हुने थियो । बाआमाको छाती गर्वले फुल्ने थियो ।

यही बेला तीनबर्ष अघि एसएलसीको नतिजामा सोचेझै सफलता पाउन नसकेको क्षण झल्झली याद आयो । भर्खरै एसएलसीको नतिजा प्रकाशन भएको थियो ।

  • (यस स्तम्भकी लेखक सुम्निमा गिरी नेपालकै अति दुर्गम गाउँपालिकामा कार्यरत कर्मचारी हुन् । हामीले यस स्तम्भको नाम ‘सुम्निमाको साइपाल डायरी’ राखेका छौं । दुर्गम र अभाव ग्रस्त क्षेत्रमा काम गर्दा एक आधुनिक युवाले प्राप्त गरेका अनुभवहरु निकै रोचक र मर्मस्पर्सी छन । हामी उनका थप अनुभवहरुलाई धारावाहिक रुपमा यस स्तम्भमा प्रस्तुत गर्दै जानेछौं । – सम्पादक)

कलंकीको मःम सेन्टरमा हामी पाँच जना भाई बहिनी अनि कान्छा मामा मःम अर्डर गरेर कुनाको एउटा लामो टेवलमा अडर पर्खिरहेका थियौ ।

“ए फस्ट डिभिजन पो आयो ? जिल्ला सेकेन्ड भईन् ? ठिकै छ उसो भए ।” मामाले कसैलाई फोनबाट प्रतिउत्तर दिदै हुनुहुन्थ्यो । फोन राख्दै मलाई भन्नुभो, “भान्जि तमि जिल्ला सेकेन्ड भयाकी रैछौ । फस्ट डिभिजन आयाको रैछ ।”

म छाँगाबाट खसेझै भएँ । डिस्टिङसन ल्याएर जिल्ला फस्ट हुने मेरो सपना भताभुङ्ग भएको थियो । अर्डरको मःमः आयो मलाई खाने मनै भएन ।

“भान्जी मःम खाउ छटी नत्र बस छुटला,” मामाले खान कर गरिहनुभएको थियो ।

हामी प्रत्येक शुक्रबार कपन जान्थ्यौ, ठुली आमाको घर । सरसफाई गर्न । हामी बस्ने घरमा नियमित पानी आउँदैनथ्यो । काठमाडौ बस्ने लगभग सबैको समस्या थियो यो ।

मैले दुई डल्ला मःम खाएर उठे । छेउको मैला लुगा भएको झोला उठाएँ । अनि हामी बस चड्न कलंकी चोक गयौ । करिब पन्ध्र मिनेटको अत्यास लाग्दो पर्खाइपछि कपन पुग्ने बस आयो ।

हामी फटाफट गाडी चढ्यौ । एक घण्टाको यात्रा यति धेरै लामो लाग्यो कि दिमागमा नतिजाको पिरलोबाहेक केही थिएन । पिडारूपी अग्नि बाष्प आँखाबाट खसिरहेको थियो–तपतप ।

तीन बर्षपछि लोकसेवाको परिक्षामा नायब सुब्बामा हार व्यहोर्नुपर्दा एसएलसीको नतिजामा भन्दा कम पिडा थिएन ।

म पिडामा पनि जुम्ल्याहा !
पिडाको पनि जुम्ल्याहा हुँदो रहेछ । नत्र तीन वर्ष पहिले र अहिलेको भावनामा किन उस्तै वेदनाका तरङ्गहरू ? किन दुरूस्तै ? फरक समयमा जन्मेका जुमल्याहा।

कि त म असफलताको पर्याय हुँ ? जहिले पनि असफलताको ठेस लाग्नुपर्ने यो कस्तो नियति हो भगवान ! मेरो मिहनेतको फल सधैँ कुँहिनै पर्ने ? अन्तरवार्ता अघि हजुरको नाममा अगरबत्ती नबालेको सजाय त हैन नि यो? कि त बाआमालाई दुःख दिएको फल हो यो?

असफलता पछि सबै दोष र प्रश्नहरू भगवानलाई चढाउने, हामी मानिस । बाहिरी नजरले हेर्दा मैले सोचे जति असफल थिईन म । एसएलसिको सेकेण्ड टपर थिए, लोकसेवामा पनि अन्तरवार्तासम्म पुगेकी थिए । आफ्नो लागि एकदमै असफल थिए म ।

सगरमाथा चढ्न हिडेको पर्वतारोही बेसक्याम्प नै नपुगी बाटो मै अलपत्र परेझै भएकी थिए म । मैले असफलतालाई परिभाषित गर्नु पर्दा आफुले राखेको लक्ष्य भेटाउन नसक्नु हो । म त्यो रात सुत्नै सकिन ।
एकाविहानै फोनको घण्टी बज्यो ।

ओछ्यानबाट जुरुक्कै उठे । मुटु जोड जोडले धड्किन थाल्यो, बाहिरै आउला जसरी । स्क्रिनमा ‘मम्मा’ भनेर सेभ गरेको आमाको फोन थियो । “नाम निस्केन” मैले ओठ कपाउँदै भने । ढोग गर्नै भुलेछु । “ठिकै छ, चिन्ता नगर पछि राम्रो गरेस” । आमाको आवाज धर्मराएको प्रष्टै बुझिन्थ्यो ।

एक छिन मोवाईल चलाए, मन अलिकति हलुङ्गो भयो । आँखा सुनिएका थिए । मोवाईलको नोटिफिकेसन बारमा एउटा पिडिएफ डाउनलोड भएको रहेछ । मैले नै गरेकी थिए । सशस्त्र प्रहरीको नयाँ भर्ना सम्बन्धी थियो ।

जसरी पनि सरकारी जागिरे बन्नु पर्छ भन्ने मनमा थियो । शारिरिक परिक्षण तिर अलिकति ध्यान दिए असई पदमा त नाम कसो नाम नस्किएला र ! यहि सोचेर आफुले आफैलाई सान्त्वना दिलाए ।

बहिनी चिया लिएर आई । छेउमा बसि अनि सुस्तरी सोधी “रिजल्ट आएको हो सुनदी ?” मेरा सुन्निएका आँखाले उसको जवाफ दिईसकेको थियो ।

औपचारिकताको लागि सोधेकि थिई । मलाई डाको छाडी रुन मन लाग्यो, तर भर्खर आठ कक्षामा पढिरहेकी मेरी बहिनीका अगाडी म आफुलाई कमजोर देखाउन सक्दिनथे ।

कक्षामा द्धितिय हुँदा रुँदै नतिजा सुनाउथि ऊ । प्रतिस्पर्धा गर्ने भुतको आफुसँग हो । आफु पहिला कुन स्थानमा थिए ? को थिए ? के थिए ? यि कुराहरु बर्तमानको आफुसँग दाज्नुपर्छ । विगत भन्दा वर्तमान सुध्रिएको छ भने तिमी सफल हौ । जिवनमा कति ठुला ढोकाहरु खोल्नुछ ।

‘सफलता रुपी पहाड चढ्नुछ । अहिले नआत्तिउ बच्चो । आँसु धेरै अमुल्य छन् जथाभावी नबगाऊ ।’

यस्तै हुन्थे मेरा सान्त्वना दिने वाक्यहरु । अहिले आफै घाईते छु । अवाक छु म । म असफल हुनुमा मेरा मात्रे सपना टुटेका थिएनन् ।
मेरा भाई बहिनीका नयाँ लुगा किन्ने सपना च्यातिएका थिए, सम्झे ।

आँसुका बाँध फुट्लाजस्तो भएर म फेरी बाथरुम छिरे मोवाइलमा गित बजाए । कुन गित बजाए याद छैन । त्यो गित पछि पोष्ट म्यालोनको ‘कंङ्ग्राचुलेसनस’ भन्ने गित बज्यो ।

गितले मनमा एक खालको तरंग ल्यायो । “आमाले फोनमा छोरा तिमीलाई आज टिभिमा देखे । ” भन्ने प्रसङ्गबाट शुरु गरिएको त्यो गितका शब्दहरुले मन छोयो । “तँ केही गर्न सक्दैनस भन्नेहरुले आजभोली म माथी बधाईको वर्षात गर्छन । बकम्फुसे त सुनिन्छ नै । भुई मान्छेले लाखौको कुरा गर्दा ।” यस्तै झल्काउथ्यो यो गितले पनि । मलाई यो गित मेरै अवस्थासँग मिल्दो जुल्दो लाग्यो ।

अभावको भोगाइ
मध्यम वर्गीय परिवारमा जन्मिएकी मेरा सपना पनि धेरै ठुला थिए । प्रविणता गरेपछि कानुन पढ्ने चाहाना थियो । आफुलाई मन पर्ने विषय थियो कानुन । नेपाल ल कलेजमा नाम ननिस्केपछि ‘अब के गर्ने’ भनेर घरबाट केरकार सुरु हुन थाल्यो ।

विद्यार्थी जिवन र होस्टेल बसाइका भोगाइले जिवनमा सबैभन्दा ठुलो धन रहेछ भन्ने सिकाइसकेका थिए । जल, थल, अग्नी जस्तै धन पनि एक महत्वपुर्ण तत्व हो झैँ लाग्थ्यो । धनी मात्र बन्नुपर्छ, मान सम्मान ईज्जतले आफै गोडा छुन्छ लाग्थ्यो । धन आदर्श बन्न पुगेको थियो मेरो । त्यसैले आफ्नो क्षमता अनुसारको क्षेत्र रोज्ने निर्णय गरे ।

एयर होस्टेस पनि एउटा विकल्प देखायो गुगलले । वाह ! दिमागमै नसोचेको कुरा । चिटिक्क बनेर बादल माथि उड्दै दिनदिनै नयाँ–नयाँ ठाउँ नयाँ–नयाँ मान्छे संगको भेटघाट । कति मज्जा । घुम्न पनि पाइने पैसा पनि राम्रो । धेरै नारीको मन लोभ्याउँछ होला सायद यो जागिरले ।

अब घरमा कसरी मनाउने तनाव थपियो । रातभर गुगलमा प्रशस्तै रिसर्च गरेपछि एकाविहानै आमालाई फोन लगाए । ‘आमा ! म अब एयर होस्टेस बन्छु’ के भनेकी थिए । ‘सबै गरिस्, अब तेही बाँकी छ,’ आमा गर्जिनुभयो ।

मेरो घर सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा पर्छ । ग्ल्यामर र फेसनको मामलामा हामी सुदुरपश्चिमेली निकै पछाडी छौं । त्यही अनुसारको सामाजिक मानसिकताले गर्दा महिलालाई अझ बाँधिएको छ । म मेरा बाआमा, परिवार र शिक्षकको लागि इज्जतीली बन्नुपर्ने दबाव थियो ।
आमाले झपार्दै हुनुहुन्थ्यो ।

मैले अलिकति पनि नहच्किकन धनको महत्व आमालाई व्याख्या गर्दै थिए । कतिबेला फोन काँटिसक्नुभएछ ।
भोलिपल्ट न्यूप्लाजा गएएर एअर होस्टेसको बारेमा थप जानकारी लिए । एयर होस्टेस तालिम गर्न २७ हजार लाग्थ्यो । पैसा जुटाउने तनाव थपियो ।

अनि एयर होस्टेस बन्न छ्वालीको काम थाले
अघि गाडीमा चड्नेबेला एकजनाले हातमा पहेँलो पर्चा थमाइदिएको थियो । काठमाडौमा यस्ता पर्चा थमाईदिने धेरै भेटिन्छन् । झर्को लाग्छ कहिले काँही त । ब्यागमा राखेकी थिए ।

कोठा पुगेर भाईलाई लगिदिएको कलर बुक निकाल्दा पर्चा भुईमा खस्यो । मैले टिपेर हेरेँ । त्यहाँ घरमै बसेरै कमाइ गर्न सकिने केहि कामहरु लेखिएका रहेछन् । ‘अब एयर होस्टेसको लागि यसै गरेर खर्च जुटाउँछु’ तत्कालै जुक्ति फुर्यो ।

चाबहिल, मित्रपार्कमा रहेको त्यो जब सेन्टरमा भोलिपल्ट गए । छ्वाली सम्बन्धी काम रोजे । सुरुमा तिन हजार तिरेर तालिम लिनुपर्ने रहेछ । मैले साथीसँग सापटी लिएर तालिम लिए ।

गहुँको छ्वालीबाट विभिन्न चित्रहरु बनाउनुपर्ने थियो । सारै गाह्रो । कतिपटक चोर औँलामा घाउ पनि भएको थियो । तैपनि मैले सिके । घरमा कसैलाई भनिन ।

मैले पहिलोपटक जोडी परेवाको चित्र बनाएर जव सेन्टरमा लगेको थिए । रु. २५० पाईन्थ्यो त्यो चित्रको । त्यहाँको हाकिमले फिनिसिङ राम्रो भएन भनेर फिर्ता गरिदियो ।

मैले हार खाईन । भोलिपल्ट आमा र बच्चाको चित्र लिएर गए, त्यो पनि फिर्ता । बाटोभरी सोचे आठ सय पाउँथे यो बिकेको भए । प्रत्येक दिन नयाँ चित्र लिएर जान्थे । त्यसैगरी फिर्ता आउथ्यो । अब चाँहि असह्य भयो ।

हाकिमसँग एकछिन चर्काचर्की प¥यो । चित्र पनि देखाएको थिएन । “खै ल्याउन त हेरौ” उसले भन्यो । मैले सबै चित्र टेबलमा फाले । “यो ठिक छ ।” मैले शुरुको दिन बनाएको उहि जोडी परेवाको चित्र थियो त्यो । “यसको दुई सय पचास देऊ त ।” उसले रिसेप्सनिष्ट दिदिलाई भन्यो । मैले पैसा समाते ।

खल्तिमा पचास रुपैया थियो गाडी भाडा भनेर छुट्याएको । त्यो झिके । दुई सय पचासमा पचास थपेर हाकिमको टेवलमा जोडले हाने । “मेरो गाडी भाडा हो यो । राख्नुस यो पनि ।” आफ्ना सबै चित्र बटुले । हाकिमले समातिराखेको जोडी परेवाको चित्र पनि खोसे । फटाफट निस्के ।
त्यसपछि हिड्दै सुकेधारा पुगे । ‘धुमबराह’ गाडी यात्रु कुरिरहेको थियो ।

सिट खाली थिए । गएर चढे । दुई वटा महिला सिट खाली नै थिए र पनि अलि पछाडीको सिटमा बसे । बच्चावाली महिला, मेरो आमाको उमेरकी महिला, वृद्धहरु आए भने मेरो नैतिकताले मलाई महिला सिटमा बसिरहन दिदैनथ्यो ।

म पछिल्तिरको सिटमा गएर बसे । म अघिल्तिर बसेकी एकजना महिलाले आफ्नी साथीलाई ‘ला पैसा ल्याउनै बिर्सेछु,’ भनेको आवाज कानमा ठोक्कियो । लौ फसाद । मैले पनि गाडीभाडा उही जब सेन्टरवालालाई दान गरेर आएकी थिए । गाडी त्यहा“ यात्रु कुरेर करिब दश मिनेट रोकिन्थ्यो । लगभग ५/६ मिनेट भईसकेको थियो रोकिएको ।

अब कसरी निस्कने । त्यति नै बेला साथीले फोन गरी । ‘हेलो हजुर ए कता ? हस म आए,’ फोनमा संवाद गरेको नाटक गर्दै निस्किए ।

जागिरकाे तनावले माइग्रेन
“कति बाठो है !” त्यो । पहिला त्यहि चित्र फिनिसिङ राम्रो भएन भनेर फिर्ता गर्ने । अहिले त्यो भन्दा राम्रा चित्र छोडी त्यसको पैसा दिन खोज्ने । मनमा पछुतोका छालहरुले आफुतिर बेस्सरी थिचिरहेका थिए । ज्वारभाटा उत्पन्न भईरहेका थिए । आफुलाई सम्हाल्दै कोठा पुगे । हनहनी ज्वरो आएको थियो । औषधी भेटिन, म सुते । आमाको फोनले ब्यूझायो ।

“ढोग दिया ।” रुन्चे स्वरमा भने ।
“ भाग्यमानी । क्या छ खवर ? सन्चो आच्छी ? बिरामी छै क? ” आत्तिदै सोध्नुभयो ।

भक्कानो फुटेर आयो । म डाको छाडी रोए । तर केही भनिन । आमालाई सन्चो नभएर रोएकी हो भन्ने लागेछ । औषधी खाएर सुतेस् भनेर फोन राख्नु भयो ।

बेलुका ९ बजेतिर मामा आउनुभयो । मैले बहिनीलाई औषधीको लागि पैसा माग्न पठाए ।
मामाले ‘पसलहरु खुला छैनन्, धेरै नाटक गर्नु पर्दैन,’ भनेर मलाई झपार्नु भयो । म चुपचाप सुते । अटेरी थिए म, जिद्वि पनि । त्यहि भएर मामा र मेरो कुरा मिल्दैनथियो ।

करिब साढे १ बजे मलाई असाध्यै गाह्रो भयो । सकि नसकि उठे । बान्ता आउला जस्तो भयो । पेट मच्चियो, दौडिदै ट्वाईलेट सम्म पुगे । चुक्कुल खोल्न अलि ढिला भएछ । ढोकानेर वान्ता गरे ।

मामा दैडिदै आउनु भयो । के भयो भनेर आत्तिएर । श्वास फेर्न गाह्रो भयो भने । बालुवाखानी बस्ने ठुलाबालाई फोन लगाउनु भयो ।

बाइक स्टार्ट गर्नुभयो । मलाई बस भन्नुभयो । ठुलाबाले हामीलाई सुकेधारा नपुग्दै भेटाउनुभयो । ॐ हस्पिटल जाऔँ भन्नुभयो । अस्पताल पुगेपछि मामाले छोटकरीमा मेरो अवस्था वताउनुभयो । मलाई इमरजेन्सी वार्डमा भर्ना गरियो । चेकजाँच गर्दै “विवाहित कि अविवाहित ।” डाक्टरले सोध्यो ।

“अविवाहित” ।
“गर्भवती त हुनु हुन्न नि?” उसले सोध्यो । बान्ता भएर सोधेको हुनुपर्छ सायद ।

“ह्वाट ? ननसेन्स छि !” मलाई झनक्क भयो । लाज पनि लाग्यो, ठुलाबा र मामाको अगाडी त्यसरी सोधेकोले । रगत र पिसाव जाँच गर्यो । सुई लगाए । मैले फेरी वान्ता गरे । एकछिन जीवनजल पानी दिएपछि फेरि सुई लगाए । अलि सन्चो भयो । रिपोर्ट आयो । ‘माइग्रेन’ हो भन्यो । हामी साढे चार बजे घर फर्कियौ ।

आठ बजेतिर आमाको फोन आयो । आमाको त्यो फोनले शरिरमा एकएक उर्जा ल्यायो । तन्दुरुस्त महसुस भयो । एयर होस्टेस तालिम लिन अनुमति पाए । शर्त थियो । एक वर्षमा नेपाल एयरलाईन्सको एयर होस्टेस भईन भने लोकसेवा दिनुपर्ने । राजि भए ।

त्यो दिनभरी आराम गरे । भोलिपल्ट विहानै ठुलिआमाको घर गए । १० हजार माग्न भन्नुभएको थियो आमाले । मागे । तालिम लिन भर्ना भए । मन चंगा थियो । १० दिनपछि कक्षा सञ्चालन हुनेवाला थियो । झन्डै चार महिनापछि तालिम सकियो । नेपाल एअर लाईन्सको विज्ञापनको पर्खाइमा थिए । राजनितिक कारणवस विज्ञापन निस्किएन ।

फेरी लोकसेवाको तयारी थाले
म यसै बस्न सकेन । छटपट हुन्थ्यो । त्यसपछि मैले शान्तिनगरको भिएस निकेतनमा कक्षा ६ सम्म पढाउन थाले । घरमा कसैलाई चित्त बुझिरहेको थिएन । मलाई भने जिन्दगी राम्रै चल्दैछ जस्तो लागिरहेको थियो । घरबाट दिइएको एयर होस्टेस वाला शर्तको म्याद सकिसकेको थियो ।

पढाउन छोडेर लोकसेवाको तयारी गर्नुपर्ने दबाब थियो । मैले मानेकी थिएन । हाम्री ठुलि आमाको छेउको घरमा सरिसकेका थियौ । “बाबालाई सन्चो छैन । काठमाडौ ल्याउँदै छु ।” आमाको कल आयो । धनगढी पुगिसक्नुभएको रहेछ । म खंङ्रङ्ग भए । भोलिपल्ट स्कुल सकेर बा आमालाई लिन एअरपोर्ट गए ।

करिव २ घण्टाको पर्खाईपछि जहाज आइपुग्यो । बाबा खासै बिरामी देखिनु हुन्नथ्यो । अलि राहात भयो ।
हामी घर पुग्यौ । बाबालाई ब्यथा धेरै नै बढिसकेको थियो । जाउलो बनाएर दिए । थोरै खानुभयो, चराले चारो खाएजसरी ।

रातभरी सुत्न सकिन त्यो दिन । बाबालाई केही भैहाले, घर परिवार भाई बहिनी कस्ले हेर्ने । अव त अति नै भयो । लाचार अनुभव भईरहेको थियो । मन असहाय थियो । ठुलाबा ठुलिआमा अनि मामा घरका हजुरबा मलाई खुब सम्झाउनुहुन्थ्यो लोकसेवा पढ्न । म पनि ‘कन्भिन्स’ हुन थाले ।

भोलिपल्ट टिचिङ हस्पिटलबाट बाबाको रिपोर्ट आयो । फोक्सोमा पानी जमेको रहेछ । अलि ढिला भएको भए क्यान्सर पनि हुनेथिएछ । धन्न रक्षा गर्यौ भगवान । बाबा बिस्तारै सन्चो हुनु भयो ।

म पनि लोकसेवाको तयारी गर्न थाले । घरमै बसेर तयारी गर्दै थिए । ठुलाबाले स्थानीय तहको विज्ञापन बारे भन्नुभयो । दिपायल केन्द्रबाट परिक्षा दिने गरि फारम भरे । तयारी गरेर परिक्षा दिए ।

सरकारी जागिर प्रतिको लगाव थियो वा कैंयौ असफलताको गिज्याई थियो थाहा छैन । म प्राय : आलस्य देखिन्थे । एकदिन ठुलीआमाको घरमा पुगेको बेला ठुलाबाले सम्झाउदै हुनुहुन्थ्यो । प्रहरीको विज्ञापन खुलेको बारे भने ।

ठुलाबाले उतिनै खेर आमालाई फोन लगाउनुभयो । मेरो प्रहरीमा जाने कुरा सुनाईदिनुभयो । आमाले ठाडै अस्विकार गरिदिनुभयो । स्थानीय तहको खरिदारको अन्तरवार्ता परिक्षा बाँकी भएको याद दिलाउनुभयो । मैले तनावका बीचमा लिखितमा नाम निकालेको बिर्सिएकी रैछु । मैले तयारी गरेर अन्तरर्वाता दिए ।


दुर्गमको जागिरे यात्रा
२०७६ साल पुस १८ गते महेन्द्रनगरमा थिए । म र मेरी सानीमा घुम्न गएका थियौ । खाना खाएर हामी कोठातिर लाग्यौ । होटलको बेड विस्तरा चिटिक्क थियो । हेर्दै थकान मेटिएला जस्तो । शरिरमा थकान भएपनि मन बेचैन ।

अन्तरवार्ताको नतिजा आयो – सुम्निमा गिरी महिला कोटाबाट छैठौं नम्वरमा नाम भेटियो । खरिदार (सहायक चौथो) मा साईपाल गाउँपालिकामा सिफारिस भएकी रहेछु म । विश्वास नै लागेन । उठेर मेरी सानिमाको छेउमा गए । “हेर त यो । ” म सानिमालाई तँ भन्थे । दुइ वर्षमात्र जेठी हुन् ।

“खै के हो? ”
“लोक सेवाको नतिजा ।”
“तेरो नाम निस्केको छ त ।” एक छिन नियालेर हेरेपछि उसले भनि । अव विश्वास लाग्यो मलाई । घरमा लगभग सबैलाई फोन गरि खुसिको खवर दिए ।

पुसको महिनामा तिहार लाग्यो मेरो घरमा । मन फुरुङ्ग, शरिर हलुङ्गो । “आम्मै! म त अव सरकारी जागिरे है । बाबा जस्तै ।” आफ्नै कमाई, घरमा ठुलो राहत हुने भयो । यस्तै सोच्दै थिए फोनको घण्टीले झस्कायो ।

“भान्जी बधाई छ ।” कान्छा मामाको बोलिले म गदगद भए । सम्बन्ध चिसिएको अलि समय भैसकेको थियो । धेरै पछि कुरा भयो । खुसी थिए म । अलि दिन घुमेर म दिपायलको लागि निस्किए ।

२३ गते ११ बजेतिर लोकसेवा कार्यालय राजपुर गए । सिफारिस दिन एउटा स्टल जस्तो बनाईएको थियो ।
“सुम्निमा गिरी साईपाल गाउँपालिका ।” छेउमा उभिएका कार्यालयका अरु स्टाफहरु एकैचोटि म तिर फर्किए ।

“ तपाई हो सुम्निमा गिरी?” एक जनाले सोधे । सायद हाकिम हुन ।
“हजुर हो ।”

“किन साईपाल छानेको नानी? जुन ठाउँ रोज्दा पनि पाउथ्यौ त?”
२८ सिटमा छ नम्वरमा थियो नाम । रोजेको ठाँउ पाईन्थ्यो । उनीहरु अचम्मै मानिरहेका थिए ।

“दुर्गममा सेवा गर्न मन भएर हो ।” सेवाको भावनावाला नौटङ्की देखाएजस्तो होला भनेर मनको कुरा मनमै राखे । म चुप लागेर फिस्स हाँसिरहे ।
“सक्छौ त त्यहाँ गएर काम गर्न ?”

“सक्नै पर्यो नि ।” मेरो जवाफ छोटो थियो । सायद ठाडो पनि ।
गाडीहरु सबै खचाखच थिए । सबै नयाँ निजामतिहरु । रातिको साढे १० बजेतिर बझाङ्ग जाने गाडी आयो । गाडी पुरै प्याक ।

गाडीको यात्रा एकदमै अविस्मरणीय बन्न पुग्यो। डरलाग्दो सपना जस्तो । हिउँमा चिप्लिएर झन्डै दुर्घटना भएको । जसो तसो पर्सीपल्ट घर पुगे । बाआमालाई भेटे । गर्वले छाती चौडा भएको आभास दिन्थ्यो मेरी आमाको बोलीले । मलाई बधाई दिनेको ओईरोले ‘कंग्राचुलेसन’ गितको याद आयो । रमाएँ ।

सफलताको एउटा खुड्किलो टेकिसकेकी थिए । अव पछाडी फर्कन चाहिन, जुन असफलताहरु मैले कष्टप्रद ढंगले झेले । गाउँपालिका बाट नियुक्ती लिए । माघ १० गते कार्यविभाजन अन्तरगत मलाई ५ नं वडाको सचिवको जिम्मेवारी तोकियो ।

मनमनै हर्षित थिए । यसो गर्छु उसो गर्छु । कठिनाईको बारेमा सोचेकी थिएन । माघ १८ गते कार्यक्षेत्रमा जानुपर्ने थियो । घर फर्के बाआमालाई सुनाए । आमा चिन्तित देखिनुहुन्थ्यो । बाबा पनि । बाबाको आखा पढ्न सक्नेले मात्र एउटा बुवाको छोराछोरी प्रतिको माया देख्न सक्छन ।

“छोडिदिए हुन्छ त्यस्तो जागिर । ऐस आरामको लागि जागिर खान्छन मान्छेहरु । तिम्रो जस्तो दुख पाउन हैन ।” बोलिमा तितोपन भएपनि यथार्थ थियो त्यो। बुवा जिवनमा पहिलोपटक म संग त्यसरी कड्किएर बोल्नु भएको थियो । चित्त दुख्यो रोए । आमा पनि रुनुभयो म रोएको देखेर । भोलिपल्ट दिउसोतिर ७ जनाको टोलि साईपालको लागि अगाडी बढ्यो । बेलुका सुनपानी बस्यौ ।

विहान ६ बजे अध्यारै थियो । मोवाईलको बत्ति बालेर हिड्यौ । एकजना सरले ठाउँ ठाउँमा घटेका घटना सुनाउन थाल्नुभयो । कुवा भन्ने ठाउँमा पुगेर दुध पियौ । यात्रा जति अगाडी बढ्यो बाटो त्यति नै कठिन । सुनसान, पुरै भिरै भिर । रिङ्गटा लाग्दो बाटो।

माथिबाट हेर्दा सेती नदि सानो खोला जत्रो देखिन्थ्यो । मान्छे लड्यो भने हड्डी पनि नभेटिएला जस्तो भिर थियो । लिस्निको पुल तरेर पारि जाडलेकको उकालो तर्फ लाग्यौ । सारै ठाडो उकालो ।

“भालु पनि आउँछ कहिलेकाहि यता।” त्यही सरले फेरी सुनाउनुभयो । जिउ थर्रर काप्यो । मुटु फुल्यो । सबैजना आफ्नै गतिमा हिड्दै थिए ।
“अहिले रुदै छस् भोलि बाटोमा बाबाले भनेको कुरा याद आउँला ।” आमाको कुरा सम्झेर भक्कानिए म । आँसु झर्यो बर्रर ।

उकालोमा यसै स्याँ स्याँ भईरहेको थियो रोएपछि झन । म रोएको सुने अरुले । मलाई लाज लाग्यो । अब लाजले पनि रोए । दिउसो तिन बजे धलौन पुग्यौ । हामी नयाँ जति सबै २ नं वडा कार्यालयमा बस्यौ । दुई जना सरहरु काँडाका लागि निस्किनु भयो ।

भोलिपल्ट करिव डेढ घण्टा हिउँमा चिप्लिदै काकरकोट पुग्यौ । खाना खाएर काँडाँ हिड्यौ । ३ दिनको काँडा बसाईमा म धेरै रोए । पछुतो थियो । हिड्न सारै गाह्रो । जनावरको डर । ढोल पहिरोको डर ।

अलि साह्रो ब्याथाले च्याप्यो भने बाटोमै ज्यान जाला भन्ने डर । आफ्नै जिवन सुरक्षित नभए अरुको जिवन कसरी सुनिश्चित पार्ने । गलत गरेछु । यस्तै सोच्थे । ३ दिनपछि आफ्नो आफ्नो वडामा गयौ हामी ।

म पहिलो पटक पुगेकी थिए त्यहाँ । करिब दुई घण्टाको उकालो पछी वडा अध्यक्ष सहित हामी पाँच जना न्यूना गाउँमा पुगेका थियौं । शरिर साह्रै थकित थियो, एक पटक पल्टिन पाए हुन्थ्यो भन्ने भएको थियो । त्यो उकालो भरि जति पटक मेरो श्वास फुल्थ्यो, त्यति पटक न्यूनाका जनताहरुलाई सराप्थे ।

“मान्छे बस्ने ठाउँ हो र यो ? यदि यो ठाउँ नभएको भए म अहिले अर्कै ठाउँमा सेवा दिन जान्थे होला ।“ मैले लोकसेवा परिक्षामा अन्दाधुन्दै प्रथमिकता क्रममा एक नम्वरमा साईपाल गाउँपालिका छानेकोमा पछुतो मानिरहें ।

अभावको पर्याय साइपाल
हामी उकालोमा आएको देख्ने बित्तिकै गाउँभरिका मानिसहरु वडा कार्यालय अगाडी जम्मा भएका थिए । विशेषगरि वृद्धवृद्धा र बालवालिकाहरु थिए । हामी त्याहाँ पुग्यौं । सबैजना मुखा–मुख गर्न थाले, मलाई देखेर रहेछ । हामी पाँच जनामा मै मात्र नौलो थिएँ उनीहरुका लागि ।

मैले सरसर्ती उनीहरुको अनुहार नियाँले, अब मेरो शरिरको सम्पुर्ण थकाई मेरो अनुहारमा सरिसकेको रहेछ । मेरो पहिलो पटक साक्षात्कार थियो, त्यस्तो चरम गरिबी सँगको । प्रत्येकको आँखामा गास, बास, कपासको अभाव जो कोहिले पनि प्रष्ट देख्न सक्थे । मन अमिलो भएर आयो, मनमा हजारौ प्रश्नहरुले ठाउँ लिए ।

के म भन्दा पहिला राज्यका तर्फबाट कोही पनि नआएकै हुन् त ? कि यो सपना हो ? मैले अस्ति मात्रै पाँच पटक हेरेको ‘हिमालयन क्याराभान’ फिल्म त हैन नि यो ? कि म अर्कै दुनिँयामा छु ? ‘एलिस इन वोन्डरल्याण्ड’ भन्ने कथामा जस्तै म पनि कतै बिचित्रको दुनियामा त छैन नि?”

मनभित्रका धेरै प्रश्नहरु पछि मैले आफैलाई शान्त पार्ने एउटा उत्तर फेला पारे । म साँच्चिकै अर्कै दुनियामा थिएँ । ‘एलिस इन वन्डरल्याण्ड’ जस्तै विचित्रको दुनिँयामा सुम्निमा रहेछ, यो सत्य कथा त ।

‘एलिस इन वन्डरल्याण्ड’ मा जनावरहरुले पनि लुगा लगाएका हुन्छन, भोज भतेर हुन्छ, बारिभरी फलफूलहरु, खानेकुराहरुको छ्याल–ब्याल । तर मेरो यो कथामा न बच्चा– बच्चीको आङमा मौसम अनुसारको लुगा नै थियो न त गोडामा चप्पल–जुत्ता नै । वृद्धवृद्धाहरुको हालत पनि उस्तै ।
झुत्रो ज्याकेट, ठाउँ ठाउँमा टालेका लुगा, उनको झुत्रो गादो, बोराको डोरिले सिलाएको चप्पल, आँखाहरु थाके । मेरा आँखाहरु करुणाले पक्कै भरिएका थिए । स्वयम्भुनाथ स्तुपका ती दुई निर्मल आँखाहरु झैँ । वडा सचिवको रुपमा आफ्नो कर्तब्य पूरा गर्न गएकी मैले आजवाट उनीहरुको अभावको अभिभावक बन्ने जिम्मेवारी लिने निधो गरे ।

एउटा बच्चाले खिचडी जस्तो देखिने केही कुरा प्लास्टिकको थैलोमा हालेर खाएको देखेँ । मैले नजिकै गएर सोधेँ ‘बाबु के खाईराको?’ उ दौडेर पर गयो, सायद अपरिचित मान्छेसँग कुरा गर्न डराएर वा लजाएर छुट्याउन सकिन । पछि थाहा पाएँ उसले खाईरहेको त्यो खानेकुरा प्रावि स्कुलमा दिईने दिवा खाजा रहेछ । उसले बचाएर ल्याएको रहेछ ।

आमा महिनावारी भएर पर सरेकाले दिउसोको खाजा बचाएर साँझ त्यही खाने रहेछ । महिनावारी हुँदा महिलाहरु घरको आँगनमा सम्म नजाने रहेछन्, घर भन्दा पर बस्ने रहेछन् । खरले छाएको साँधुरो गोठमा । मलाई साह्रै टिठ लागेर आयो ।

घरमा भात फाल्दा आमाबाले, ‘दुनियाँमा भोकमरी छ, त चाँही भात फाल’, भन्दै गाली गर्नु हुन्थ्यो । ‘मैले भात नफाल्दा भोकमरी रोकिने हो र ? ल दिनुस मैले छोडेको भात भोका मानिसहरुलाई’ भनेर अमानविय उत्तर दिएको याद आयो । साह्रै पछुतो लाग्यो ।

भातको प्रत्येक सिताको महत्व थाहा पाएँ । अलि–अलि दाग लागेको कपडा फाल्ने मैले हरेक टालाहरुको महत्व बुझेँ । मैले थाहा पाए कि, वस्तुको मूल्य त गरिबीले तोक्ने रहेछ, अभावले तोक्ने रहेछ । क्रमश : ++