छाउपडीसँगको त्यो रात : भुत सम्झेको, मान्छे पो रहेछ !

कुप्रथा हटाउने उपाय चाहिएको छ, जसले सर्प पनि मरोस् र लठ्ठी पनि नभाँचियोस् ।

सुम्निमा गिरी
सुम्निमाको साइपाल डायरी : अब म, मेरो सपनाको कार्यालय प्रवेश गरे । सानो भर्याङ हुदै कार्यकक्ष पुग्दा चाहि सफलताको खुड्किलो चढेको आभास भयो । साथै चकित पनि ।

कार्यकक्षमा मेरा लागि घुम्ने कुर्सी, सेवाप्रवाह गर्ने टेबल, दराज र केही प्लाष्टिकका कुसी थिए । भुँइमा निलो कार्पेट बिछ्याईएको ।

भर्याङको ठ्याक्कै माथि एउटा खाट । एउटा विस्तारा र दुई ब्ल्याङ्केट । भुँईमा पनि एक जोर बेड बिस्तारा पट्याएर राखिएको थियो । धुरीको माटो नझरोस् भनेर कालो प्लाष्टिक टाँगिएको रहेछ । यसकारण म आश्चर्यमा परेकी थिए ।

काठमाडौमा स–साना कार्यालय पनि एकदमै आकर्षक हुन्छन् । तर मेरो कार्यालय एउटा हिमाली गाउँको होचो छानो भएको घरभित्र थियो ।
त्यही काम गर्ने र सुत्ने । तर पनि मेरो आफ्नो थियो र खुशी थिए । कार्यकक्ष सफाइ गरे । फाइल मिलाए । टाढा टाढा बस्ती भएको मेरो वडालाई नमुना बनाउने सोच बनाए ।

 

बेलुकाको खाना खाएर म र अनमी दिदि मेरो कार्यालयमा सुत्ने तरखर गर्यौ । केहीबेर गफिएर दिदी निदाउनुभयो । म पनि दिनभरको हिडाइले लखतरान परेकी थिए ।

निदाउनै लाग्दा बाहिर मसिनो स्वरमा कोही महिला हाँसेजस्तो, बोलेजस्तो अस्पष्ट आवाज आइरहेको सुने । म डराए । दिदिलाई उठाएर निन्द्रा बिथोल्न मन लागेन ।

मोवाईलको बत्ति बाले । झ्याल थोरै खोलेर हेरे । हाम्रो आँगनको मुन्तिर आगो बालेको देखे । मलाई झन डर लाग्यो । निदाउनुअघि दिदीले भुत, प्रेतका दन्त्य कथाहरु सुनाउनु भएको थियो । झ्याल जोडले बन्द गरे । गुटुमुटु परेर सुते ।

विहान उठ्दा साढे आठ बजिसकेछ । यता उति हेरेँ, त्यही मेरो कार्यालय । घरमा ढिला उठ्ने बानी थियो । घरमा आमाले गालि गर्नुहुन्थ्यो, ‘अफिस जाँदा तँलाई कस्ले उठाईदिन्छ, ढिला भइस भने बेइज्जत हुन्छ ।’

यहाँ त बिस्ताराबाट भुँईमा खुट्टा टेक्यो भने म कार्यालयमै हुन्थे । आमालाई फोन गरेर यहि सुनाएँ । आमा खुसी हुनुभयो ।

दिदि चिया लिएर आउनुभो । चिया खादै गफिन लाग्यौँ । रातीको घटना सुनाएँ ।

‘उनीहरु त छाउपडी हुन्,’ भन्दै दिदी हाँस्न थाल्नुभो ।

अँ साच्ची, म पनि निकै डराउने मान्छेभित्र पर्छु ।

अघिसम्म भुत प्रेतको डर लागिरहेको थियो । अब मान्छेको सोचाइ देखि डर लाग्न थाल्यो । मान्छेहरु खुला आकाश मुनि कसरी बस्न सक्छन् होला ? छाउपडी कुप्रथाका कारण ज्यान गुमाएका, बलात्कारको सिकार भएका समाचार पढेको, सुनेको याद आयो । आङ सिरिगं भयो ।

गरिवी र अभाव त छदैछ । त्यसमाथि अझ कुप्रथा जकडिएको । कसरी मान्छेलाई यो कु–संस्कारबाट टाढा लैजाऊ ? मेरा लागि नयाँ चुनौती थपियो ।

यस अघि मैले पार गरेका जिन्दगीका थुप्रै चुनौती र संघर्ष नितान्त व्यक्तिगत थिए । अबका चुनौती ‘वडा सचिव सुम्निमा’का लागि थिए ।

साइपालका सुरुवाती दिनमा दोस्ती भनेकै अनमी दिदि थिइन् । खाना खादै छुवाछुतको बारेमा कुरा ग¥यौं । “मैले यही घरमा प्रसुती गराएकी थिए, गाउँलेहरुले छुवाछुत भयो भनेर झगडा गरे म सँग ।”

आफुले काम गर्दा आईपरेका यस्ता थुप्रै समस्या र चुनौतीहरु सुनाउनुभयो । नया“ भवन बन्दै गर्दा एक स्थानीयको घरमा हेल्थपोष्टको कार्यालय राखिएको रहेछ ।

छाउपडी प्रथा, छुवाछुत, लैगिंक हिंसा विरुद्धका थुप्रै कार्यक्रम गरेको सुनाउनुभो, – ‘केही परिवर्तन आएन, हार खाए, म आफै महिनावारी हुदा पनि बार्नुपर्छ, छ दिन सम्म ड्युटी सरले नै हेर्नुहुन्छ ।’

म आएको दिन पनि उहाँ महिनावारी हुनुभएको थियो । म पनि । मेरै जिद्धीले कार्यालय आउनुभएको थियो ।

मलाई टिठ लाग्यो । हामी घरभित्र न्यानो कपडामा सुतिरहेका बेला कार्यालय छेउका दिदी बहिनीहरु खुल्ला आकाशमुनि ।

त्यसदिन शनिवार । फुर्सद भएकाले ति महिलाहरुसंग भेट्ने सोच बनाए । छाउगोठ हेर्न गयौं ।

सरकारले छाउँपडी मुक्त क्षेत्र घोषणा गरिरहदा यहाँका महिलाहरु वडा कार्यालय नजिकै यसरी रात काट्न बाध्य छन् । एउटा छानो । रुखका हाँगा र स्लेटका पाताले पर्खाल घेरिएको । देखेर शरिर चिसो भयो ।

यसै त जाडो महिना थियो । साह्रै चिसो ठाँउ, दिउसो दुई बजे नै घाम अस्ताउथ्यो । दुई जना किशोरीहरु हामीलाई देख्ने बित्तिकै लुके । गाजोको कुनियोमा ।

मैले बोलाए। सुरुमा आउदै आएनन् । ‘यसरी बस्नेलाई कारवाही गर्छौ’ भनेपछि डराए क्यारे । बाहिर आए। हिजोको दिन मैले खाना खाएर आउँदा कोही थिएन तर राति कसरी आयौ भने । “यसरी सुत्दा कारवाही गर्नु हुन्छ भनेर लुकिरह्यौ, पछि तपाई गएपछि सुत्यौँ’ उनीहरुले जवाफमा भने । मलाई उनीहरुसंग रातको समयमा भेट्न मन लाग्यो ।


त्यसपछि हामी गाउँ घुम्यौं । गाउँमा सबैका घर एकदमै होचा । बसिबसि भित्र छिर्नुपर्ने। जाडोबाट बच्न बनाइएको हुँदो रहेछ । फोहोरमैला उस्तै । घरभरी पुरुष । महिला चाहि काममा दलिएका । हामीले पछि गाउँमा सरसफाई अभियान चलायौं ।

गाउँ डुलेर फर्कियौं । खाना खाएर राती साढे १० बजेतिर बत्ति निभायौं । एकछिन पछि छाउपडी सुत्न आए । करिब १५ मिनेटपछि हामी पनि उनीहरु भएको गोठमा गयौं । हामीलाई देखेर उनीहरु डराए ।

हामीहरु कुरा मात्र गर्न आएका हौ भनेपछि केही आश्वास्त भए । लजाएर फिस्स मात्र हाँसिरहे । उनीहरुले आगो बाँले । मैले सबै सँग परिचय मागे। उनिहरु आ–आफ्नो नाम र उमेर भनिरहेका थिए।

१५/२० बर्षदेखि छाउगोठमा बस्दै आएकाहरु थिए । परिचयको पालो आयो दिउसो भेटीएका किशोरीहरुको । लजाएर हा“सिरहने भए । कर गरेपछि ‘उमेर १४ बर्ष भयो’ एकजनाले भनिन् ।

“कतिमा पढ्छै ?’ मैले सोधे ।
“सात कक्षामा।’ उसले मसिनो स्वरमा भनि ।

काँडा मावि विद्यार्थी रहेछिन् । न्युनाबाट काडा पुग्न साढे दुई घण्टा टाढाको पैदल हिड्नुपर्ने हुदा छाउ भएका बेला स्कुल जान नपाउदैनन् रे ।

यो त केवल उनीहरुको चलाखीपन मात्रै थियो । उनीहरुलाई महिनावारीको हिडाइको अप्ठेरो भन्दा पनि काँडाको स्कूलमा रहेको मन्दिरको घण्टीले प्रत्येक महिना छ दिनसम्म प्रवेश निषेध गराउँछ भन्ने मलाई थाहा थियो ।

संविधानमा लेखिएका अधिकार खोसिएका प्रतिनिधि पात्र थिए उनीहरु । शहर बजारका पाँच तारे होटलमा मानव अधिकारका चर्का बहस चलिरहदा साइपालका महिलाले सुरक्षित आवास, मौसम अनुसारको लुगा, पेटभरी खान पाउदैनन् ।

प्रसंग छाउगोठकै । मैले कुरा अघि बढाए, “घरमा बस्नुपर्छ, सुरक्षित बस्नुपर्छ भनेर भनेन कसैले, जहिल्यै छाउगोठै बस्ने हो ?”
“घरमा त ठाउँ नै छैन। अनि बुवाको पनि एकदमै लाज लाग्छ । स्कुलमा पनि सरहरुको लाज लाग्छ। सुरुमा महिनावारी हुँदा म लजाएर एक महिना स्कुल पनि गईन।” एक जनाले भनिन्।

मेरो बाल्यकाल सम्झिए । विहान उठ्दा शरिरको तल्लो भागमा चिसोपन महसुस भईरहेको थियो । चर्पी गए । कपडामा रगत देखे । अत्तालिए । मनमा बेग्लै खालको डर लाग्यो। कितावमा पढेकी थिए, त्यो महिनावारी नै थियो । स्कुल विदा थियो । जाँचको तयारी बिदा ।

“आमा म महिनावारी भए।” रुन्चे स्वरमा मैले भने । १३ वर्षकी थिए म ।
“किन रोएकी तँ? सामान्य हो। सबै छोरी मान्छेलाई हुन्छ ।” आमाले सान्त्वना दिनुभएको थियो । म भने ठुलै अपराध गरेको अपराधी जसरी डराएकी थिए ।

छाउपडी गोठमा सुत्नुपर्ने हो कि, भान्छामा जान पाईने होकी होईन भनेर खुबै डराए । तर मेरी आमाले मलाई आफ्नै कोठामा बस्न भन्नुभयो । भान्छा भित्रै राखेर खाना खुवाउनुभयो । आफ्नो पुरानो सुतिको धोती च्यातेर प्याड बनाई लगाउने तरिका सिकाउनुभयो ।

सैद्धान्तिक ज्ञान त स्कुलमा सरहरुले दिनुभएको थियो तर व्यवहारिक सिकाइ आमाबाट भयो । मैले बाबालाई नभन्नु है भनेकी थिए। आमाले कसैलाइ भन्नुभएन । मन्दिर बाहेक अन्य कोठाका ढोका मेरा लागि कहिल्यै बन्द भएनन् । जीवनको महत्वपुर्ण पलमा मेरी आमाले गर्नुभएको साथित्व व्यवहार नै मेरो लागि ठुलो उर्जा बन्न गयो।

मैले उनीहरुलाई यसरी नै सुनाए ।

“छाउगोठ भत्काएर झिक्क अप्ठ्यारो पारे।हमी धर्म कर्म गर्न छाड्न सक्ताइनौ।” एक जना महिलाले जिज्ञासा राखिन् ।

कुन धर्मले भन्छ यस्तो? कुन धर्मले महिलालाई गोठमा थुन्छ ? कुन धर्म हो त्यो जसले प्रकृतिको बरदानलाई अभिसाप बनाईदिन्छ? कुन देवता हो त्यो । जसले बोका पाठाको बलिले नपुगेर छोरी चेलीलाई रोग भोक बलात्कारी र सर्पको बली बनाईदिन्छ ।

यो त समाजले लादेको कुरिती मात्र हो । जसलाई धर्मको नाम दिइयो । किशोरी पहिलो पटक महिनावारी हुँनु भनेको मानव सृष्टिका लागि सफल भइन भन्ने सुनौलो सन्देश हो ।

मलाई थाहा थियो मेरा यी शब्दहरुले ति अशिक्षित महिलाहरुको मानसिकतामा कुनै परिवर्तन ल्याउदैन । तर सचेतनाको प्रयास जारी राख्ने निधो गरे । जनचेतना र ज्ञानगुनका कुराले बर्षौदेखी जरो गाढेको यो प्रथालाई उखेल्न गाह्रो छ तर असम्भव छैन भन्ने मलाई थाहा छ ।

जनचेतनाका कार्यक्रम नभएका पनि थिएनन् । तर ति कागजमा मात्रै थिए । अझ भन्नुपर्दा छाउपडि मुक्त क्षेत्र थियो त्यो । मानसिकतामा परिवर्तन ल्याउन नसकेर अझै छाउगोठमै थिएन उनीहरु । घरबाट ल्याएका खाना खान थाले ।


यही एउटा सानो वडामा मात्रै करिव ९० देखी ९५ महिनावारी हुने महिलाहरु छन् । त्यसमध्ये २८ देखी ३० जना स्तनपान गराईरहेका आमाहरु छन् । जसका बच्चाले आमा महिनावारी हुँदा पिडा खेप्नुपरिरहेको छ। किशोरीहरु छन् जो महिनावारी हुँदा स्कुल समेत जान मान्दैनन् । दिर्घरोगी महिलाहरु छन्, जसलाई खुल्ला आकाशमुनि चिसोमा बस्दा ब्यथाले झन च्याप्ने गर्छ ।

यो कुप्रथा हटाउने उपाय चाहिएको छ, जसले सर्प पनि मरोस् र लठ्ठी पनि नभाँचियोस् । यस्तै कुराले मष्तिस्कमा द्धन्द गरिरहेका बेला सानो बच्चा काखमा च्यापेर एक जना बुढी आमा आईन् ।

उनकी बुहारी छाउ रहिछन् । बच्चाको लुगा खोलेर उसकी आमाको हातमा थमाइयो । मैले ‘किन यस्तो गरेको’ भनेर सोधे । ‘लुगा छोईन्छ’ उसले भनिन । भोकले अतालिएको दुईबर्षको बच्चो कठ्यांग्रिने जाडोमा नाङ्गै भएर दुध चुस्न थाल्यो । उसका शरिर भरी काँडा उम्रिएका थिए ।
– क्रमश :

(यस स्तम्भकी लेखक सुम्निमा गिरी नेपालकै अति दुर्गम गाउँपालिकामा कार्यरत कर्मचारी हुन् । हामीले यस स्तम्भको नाम ‘सुम्निमाको साइपाल डायरी’ राखेका छौं । दुर्गम र अभाव ग्रस्त क्षेत्रमा काम गर्दा एक आधुनिक युवाले प्राप्त गरेका अनुभवहरु निकै रोचक र मर्मस्पर्सी छन । हामी उनका थप अनुभवहरुलाई धारावाहिक रुपमा यस स्तम्भमा प्रस्तुत गर्दै जानेछौं । – सम्पादक)