भुवन बहादुर सिंह- बझाङ । सगरमाथा आरोहण गर्ने साइपालकी चेलि संगिता रोकायालाई साइपाल गाउँपालिकाले स्वागत तथा सम्मान गरेको छ । आइतवार गाउपालिकाको ७ औ गाउँ सभामा सगरमाथा चढ्न सफल रोकायालाई स्वागत गरिएको हो । गाउँपालिका अध्यक्ष मानबिर बोहरा, उपाध्यक्ष डोल्मा तामाङ, गाउँपालिकाका अन्य जनप्रतिनिधि, कर्मचारी तथा सरोकारबालाहरुले रोकायालाई स्वागत गरेका हुन् ।
बिश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने सुदुरपश्चिम कै पहिलो महिलाको रुपमा परिचित रोकायालाई सम्मान स्वरुप साइपाल गाउँपालिकाले चार लाख पाँच हजार पाँच सय रुपैया पुरस्कार समेत उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले सम्मान पत्रसहित पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
‘रोकाया बझाङकै दुर्गम पालिकामा जन्मेर पनि छाउपडी प्रथालाई अन्त्य गर्नुपर्छ भन्ने मान्यता बोकेर सगरमाथाको चुचुरोमा पुग्नु भएको हो । उहाको मनोवल बढाउनका लागि पनि हामीले सहयोग हस्तान्तरण गरेका हौ,’ गाउँपालिका उपाध्यक्ष तामाङले भन्नुभयो ।
बझाङको साइपाल गाउँपालिका वडा नमबर ४ घर भएकि २६ बर्षिया रोकाया ‘छाउपडी प्रथाको अन्त्य गरौं’ भन्ने सन्देश सहित यहि जेठ ३ गते दिउँसो साढे १२ बजे सगरमाथाको चुचुरोमा पुग्नु भएको थियो ।