बझाङमा ठूला आयोजनाका काम सुचारु

बझाङ

बझाङ — लकडाउनपछि बन्द गरिएका जिल्लामा निर्माणाधीन ठूला आयोजनाका काम सुचारु गरिएको छ । बझाङको उत्तरी चीनसँगको नाका जोड्ने चैनपुर–ताक्लाकोट सडक, जयपृथ्वी राजमार्ग(खोड्पे–चैनपुर), सेती नदीका पक्की पुलहरुको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

‘वर्षात्‌को सिजनमा आयोजनाका काम गर्न समस्या हुने हुदा समन्वय र सहजीकरण गरेर काम गराउनु भनेर गृह मन्त्रालयबाट पत्राचार भएपछि अनुमति दिएका छौं,’ उनले भने । लकडाउन भए पनि यी आयोजनाहरुको काम गर्दा आवश्यक पर्ने सामग्री ढुवानी गर्न सकिने छ । निर्माण स्थलमा सामाजिक दूरी कायम गरी काम गर्नका लागि निर्माण व्यवसायीहरुलाई तीन दिनअघि अनुमति दिएसँगै आयोजना सुचारु भएका उनले बताए । जिल्लाकै गौरवसँग जोडिएको कालंगा हाइड्रोपावरको काम भने यसअघि नै सुचारु भइसकेको थियो । बझाङका एक मात्र देवल विमानस्थलको काम भने लकडाउन अवधिमा पनि जारी थियो । विमानस्थलको कालोपत्रे सकिएकाले अब भने ५/६ प्रतिशत मात्रै निर्माण सम्पन्न गर्न बाँकी रहेको प्रजिअ पाण्डेले बताए ।

बाहिरी जिल्ला जोड्ने जयपृथ्वी राजमार्गको मर्मत तीन तहमा भैरहेको छ । नाला बनाउने, वाल लगाउने र कालोपत्रे गर्ने छुट्टाछुट्टै ठेकेदारलाई छुट्टाछुट्टै काम गर्न भनिएको छ । यसैगरी सेती नदीमा पर्ने थलारा, रायललगायत विभिन्न ७ ठाउँका पक्की पुलहरुलाई पनि सोहीअनुरुप काम गर्न भनिएको छ । यसैगरी खेतीपातीको सिजन सुरु भइसकेका कारण कृषिजन्य उत्पादनमा सामाजिक दूरी कायम राखेर परिवारका सदस्य मात्रैले काम गर्न कृषकहरुलाई भनिएको छ । गृह मन्त्रालयको वैशाख ४ गते जिल्ला प्रशासन कार्यालय बझाङलाई ठूला आयोजना सुचारु गर्न परिपत्र गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *