रिदम सिंह, बझाङ । एकीकृत पाठ्यक्रम सम्वन्धी आधारभुत तहका (कक्षा १-३) शिक्षकका लागी पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । चैत्र ०५ गतेदेखी संञ्चालन भएको उक्त तालिमको आज समापन गरिएको हो । प्रगतिशिल युवा समाजको आयोजना तथा वल्र्डभिजन इन्टरनेशन नेपालको आर्थिक सहयोगमा केदारस्यूँ गाउँपालिकाका १५ वटा विद्यालयका शिक्षकहरुका लागी एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम दिने उदेश्यले उक्त तालिमको आयोजना गरिएको थियो ।
केदारस्युँ गाउँपालिका भित्रका १५ वटा विद्यालयका २४ जना शिक्षकहरुलाई एकीकृत पाठ्यक्रममा आधारित रहेर अध्यापन गराउने, बालबालिकाको पढाईप्रति लगाव बढाउने, उनीहरुमा पढ्ने बानीको विकास गर्ने, ग्रेटसिट निर्माण गर्ने लगाएतका विभिन्न विषयहरुमा सक्षम बनाउनका लागी तालिमको आयोजना गरिएको र तालिम अवधिभर प्रशिक्षक रामचन्द्र जोशी र मनोज सिंह भण्डारीले प्रशिक्षण दिनुभएको प्रगतिशिल युवा समाजका फिल्ड अधिकृत दिनेश खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रशिक्षक मनोजसिंह भण्डारीले एकीकृत पाठ्यक्रमलाई विद्यालयमा लागु गर्नका लागी सबै शिक्षकहरूले महत्वपूणर् भुमिका खेल्ने बताउनुभयो । परिवर्तन गर्नु पर्ने कुराहरु थुप्रै भएपनि तत्काल सबैभन्दा पहिला सुधार गर्नु पर्ने कुराहरू पत्ता लगाएर ति विषयहरुको सुधार गर्नसकेको खण्डमा त्यसले विद्यार्थीहरुको सिकाईमा धेरै परिवर्तन ल्याउने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी रहनु भएका केदारस्यूँ गाउँपालिका शिक्षा शाखा संयोजक केशवराज भट्टले एकीकृत पाठ्यक्रम बालबालिकाको सिकाइका लागी प्रभावकारी रहेका कारण केदारस्युँ गाउँपालिकामा रहेका विद्यालयहरुमा आउने नयाँ शैक्षिक सत्रबाट विद्यालयमा लागु गर्ने समेत बताउनुभयो । यसले बालबालिकाहरुकमा सिकाईलाई प्रभावकारी बनाउनुका साथै शिक्षकहरुलाई पठनपाठनका लागी समेत पृष्ठपोषण प्रदान गर्ने भट्टले बताउनुभयो ।
प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीले तालिम केवल तालिम मात्रै नभएर सीप हस्तान्तरण, प्रयोगात्मक क्रियाकलापले सिकाईलाई थप प्रभावकारी बनाउने भएका कारण सिकेका कुराहरुको ८० प्रतिशत मात्रै व्यवहारिक रुपमा विद्यार्थीलाई सिकाउन सकेको खण्डमा ठुलो प्रतिफल हात लाग्ने बताउनुभयो । सामाजिक रूपले हाम्रो अविकसित देशमा थुप्रै समस्या रहेको भएपनि ती समस्याको समाधान पनि हामीसँगै भइएका कारण समस्याबाट भाग्नु भन्दा त्यसको समाधानलाई पहिल्याउनु उत्तम उपाय भएको केसीले बताउनुभयो । पुरानो अन्तरविषय वस्तुभन्दा विषयगत एकीकृत पाठ्क्रमका बारेमा दिइएको तालिमले शिक्षामा परिवर्तन ल्याउनेमा आफु विश्वस्त रहेको समेत उहाँले बताउनुभयो ।
