नेपालि काँग्रेसका निर्बाचन अधिकृत सम्पर्कविहिन: मतदाता अन्यौलमा

राजनीति समाचार

साइपालखबर सम्वाददाता

बझाङ । बझाङमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत गायब भएका छन्। जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शुक्रबार राति १२ बजेछि पार्टीको सम्पर्कमा नरहेको बझाङ कांग्रेसका नेताहरुले बताएका छन्।

जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहले प्रतिस्पर्धा गरिरहेको स्रोतले बताएको छ। पूर्वमन्त्री सुरेश मल्ल, अर्जुनजंगबहादुर सिंह, पूर्व जिल्ला सभापति सत्यराज भण्डारी र संविधान सभा सदस्य चन्द्रा जोशीको पक्षबाट खडक बोहरा सभापतिका उमेदवार रहेका छन्। अर्को समूहबाट रमेश भण्डारी सभापतिका दाबेदार रहेका छन्। भण्डारीलाई पूर्वराज्य मन्त्री नरेशबहादुर सिंह तथा जिल्ला सभापति पृथ्वी सिंहको समर्थन रहेको छ।

तर चुनावी प्रतिस्पर्धामा आफूले समर्थन गरेको उमेदवारले हार्ने देखिएपछि  एकपक्षका नेता कार्यकर्ताले मतदान अधिकृतलाई जिल्ला छोड्न बाध्य पारिएको नाम नखुलाउने सर्तमा एकपक्षका नेताको आरोप छ। तर त्यो आरोपमा कुनै सत्यता नभएको, उल्टै मतदान अधिकृत भट्टले भौतिक आक्रमणको धम्की आएको भन्दै गुनासो गरेको अर्को पक्षका नेता बताए।

प्रमुख मतदान अधिकृत भट्टलाई एक पक्षबाट शुक्रबार तुरुन्त जिल्ला छोड्नुपर्ने अन्यथा हात खुट्टा भाँचेर सेती नदीमा बगाइ दिने धम्की आएको कांग्रेसको अर्को पक्षले आरोप लगाएको छ। तर आरोप निराधार भएको नेताहरूको दाबी छ। प्रमुख मतदान अधिकृत भट्टलाई भने सम्पर्क गर्न सकिएन। उनको मोबाइल स्विच अफ आइरहेको छ।

जिल्ला अधिवेशनका लागि आएका प्रमुख मतदान अधिकृत नै सम्पर्कविहीन भएपछि बझाङमा जिल्ला अधिवेशन अनिश्चित भएको छ।

बझाङमा सुरेश मल्ल, सत्यराज भण्डारी, चन्द्रा जोशी रामचन्द्र पौडेल पक्षीय नेता हुन्। तर पौडेल पक्षका यी नेताले देउवा पक्षका नेता अर्जुनजंगबहादुर सिंहसँग एलायन्स बनाएका छन्। अर्को पक्षमा रहेका नेता नरेशबहादुर सिंह विमलेन्द्र निधि निकट तथा पृथ्वी सिंह आर्जु राणा देउवा निकट रहेको स्रोतले दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *