वसन्तप्रताप सिंह
उदीयमान लेखक लोकराज भट्टको उपन्यास ‘छाइल’ ले डोटीलाई केन्द्र बनाएर सिंगो सुदुरपश्चिमको सजिव चित्र शब्दमा उतारेको छ । सुदुरपश्चिममा ‘छाइल’ को अर्थ छायाँ हुन्छ । उपन्यासमा सुदुरपश्चिमको साँस्कृतिक, सामाजिक, आर्थिक पक्ष र परिवेशलाई छाँया भन्दा पनि प्रतिबम्बको रुपमा उतारेका छन् ।
उपन्यासमा परिकल्पना गरेको अनाम गाउँको कथा सुदुरपश्चिम पहाडका प्रत्येक गाउँ—गाउँमा भेटिन्छ । पात्रहरुको चरित्र हरकोहीको जनजिवनसंग मेल खाने खालका छन् । ‘यसमा एक युवाको सपना र संघर्षका साथै पिता र पुत्रको मित्रवत् सम्बन्धलाई उजिल्याएको छ, राजकुमार बानियाँले उपन्यासको भुमिकामा भनेका छन् । मुख्य पात्र ‘म’ अर्थात पुत्र (छोरा) को बाल्यकालदेखि तन्नेरी अवस्था सम्मका जिवन भोगाइहरु कतिपय ठाउँमा म स्वयमंलाई आफ्ना झैँलागे ।
उपन्यासको सुरुवातदेखि अन्त्यसम्म पढ्दै जादा बानियाँको भनाइ सँग सहमत नभइ धरै छैन । म पात्रसंग जोडिएका सहायक पात्र र कथाबस्तु पनि उतिकै पठनिय छ । एउटा सिपालु कर्मीले थुप्रै जातका फुलहरु एउटै धागोमा जोडेर आर्कषक माला बनाए जस्तै भट्टले उपन्यासका माध्यमबाट सिंगो सुदुरको सुन्दर माला उनेका छन, ‘म’ पात्रको धागोमा । मुख्य पात्र ‘म’ अर्थात जीतुराम शर्मा । उसलाई दिदीले मायाले खलासी भन्थि । अरुले जीते, जीतु, जीतुराम ।
बालुको बाल्यकाल कष्टकर बित्यो । बालु उनै जीतुको बालसखा थियो । बा लुका बा सधैं दारु धोकेर आउँथे । घरमा झैझगडा भैरहन्थ्यो । बालुको पढाइमा अवरोध नै बनेका थिए उनी । बालुकी आमा बालुका बा ले दारु छोडुन् भनेर देवीदेवता पुकार्थिन् । एकदिन बा ले दारु खाएर बतासेका हजारेलाई तथानाम भन्न पुगे । हजारे त्यही बतासेको हर्ताकर्ता पसले थियो । हजारेको पिटाइ खाएर बालुका बा घाइते भए । दाँत खुस्किए । त्यसपछि दारु चटक्कै छाडेका थिए ।
बालु अत्यन्तै खुसी थियो, बा सुध्रिएको देखेर । बालुका बाको दाँतै खुस्किएको कुरा गाउँभरी फैलिन्छ । साथीहरुले बालुलाई जिस्काउँथे । झगडा प¥यो । झगडामा जित्ने साथी दिनेशलाई ऊ पढेर जित्न चाहान्थ्यो । दिनेश गाउँकै नेताको छोरो थियो । उनीहरु अनाम गाउँभरीकै धनी र शक्तीवाला परिवारमा गनिन्थे । तर बालुले सोचेजस्तो भएन ।
एकदिन जीतुलाई सुनायो ,‘लड्न नसकेपनि पढाइमा उ (दिनेश) भन्दा जान्ने भएर जितुला सोचेको थिएँ, बाले कहिल्यै जित्न नसक्ने बनाइदिए । बेली (हिजो) साँझ गोरु फुकाएर गोरेटोमा धपाए । आमालाई भुत्ल्याए । कैल्यै कुटाइ नखाएकी अप्सराले थप्पड खाई । बा बौलाहा भए । अझ दारु खान लागे ।’ उसका बा फेरी जड्याहा हुन थाले । बालुले एसएलसि पास गर्न सकेन ।
उपन्यासले सुदुरका गाउँमा परिवार भित्र हुने द्धन्द्ध र प्रेमका कथा मात्रै होइन । सामन्ती शैली र राजनितिक पाटोलाई पनि गम्भिर र मर्मस्पर्सी ढंगले उठाएको छ । एकै परिवारमा दुई छोरा र छोरी बीच हुने भिन्नताको सजिव चित्रण कथामा भेटिन्छ । जस्तो — छोराले गल्ती गरे पनि सच्चिने मौका पाउने, छोरीले परिवारको इज्जत राख्न पुर्व तयारी भएर बस्नुपर्ने । दिदी (रुपा) ले भाई (जीतुराम) का हरेक चकचक, उट्पट्याङ, बाल विज्याईमा चेतावनी दिएर सच्चिने मौका दिन्छे ।
जितुलाई उनका बाबु आमाले जस्तै दुखकष्ट गरेर पनि पढाउछन । गाउँमा एसएलसि पास गरेपछि डोटीको सदरमुकाम सिलगढी, धनगढी हुदै स्नात्तकोत्तरसम्म पढ्न काठमाडौं सम्मको खर्च जोहो गर्छन । उता सानैदेखि पढाइमा तेज रुपाले माओवादी द्धन्द्धका विच राम्रो अंकमा एसएलसि पास गर्दा पनि पढाउनुको साटो विवाह गराएर पराइ घर पठाइन्छ ।
समयमा उपचार नपाएर महिलाहरुले ज्यान गुमाइरहेका छन् । छाउप्रथा यथावत् छ । दिदी र आमा पात्रका मार्फत मार्मिक शैलीमा उपन्यासले यो कथा बोलेको छ । दलितमाथि जातिय छुवाछुत केही हट्दैछ, केही छदैछ । ६० को दशक अघि दलित पात्र दयारामले खेपेको जातिय विभेद समयसंगै परिवर्तन भएको देखिन्छ ।
दयारामकी पत्नि बित्दा जीतुले मलाम जाने प्रस्ताव राखेको थियो । आमाले जान दिइनन् । पछि जीतुकी आमा बितिन् । समयसंगै दयाराम र जीतुका बा बुढेसकालका सारथी बने । एकै बोतलको दारु बाँडेर खान थाले । मीत बने ।
माओवादी द्धन्द्धले देशैभरी डरत्रास र भय सिर्जना गरेको थियो । भेडीग्वाला, गोठाला, गाउँले कसैलाई आनन्दको स्वास फेरेर बाँच्ने स्थिती थिएन । त्यही डरले नेताजीको परिवार धनगढीतिर बसाइ स¥यो । द्धन्द्धकालमा हुनेखानेहरु उसैगरी गाउँबाट शहर छिरेका थिए । हुदा खानेहरु सत्ता पक्ष र विपक्षको चेपुवामा बाँचे । कति बेपत्ता भए, अझै पत्ता लागेका छैनन् ।
हातमुख जोर्न कति चाहि भारत गए । अनाम गाउँको सडक सपना द्धन्द्धको भुमरीमा पर्यो । यस उपन्यासमा घुमाउरो पारामा १० बर्षे द्धन्द्धका कारण नेपालीको हालसम्म नउक्सेको जनजिवनलाई उठान गरेको छ ।
बढ्दो वेरोजगारी समस्याले एउटा युवामा पार्ने आर्थिक र मानसिक तनाव जितुले भोग्छ । बृद्ध बुवाले डकर्मी काम गरेर एमबिएस सम्म पठाएको उसले जागिर पाउनका लागि गरेका प्रयास र कथित जागिरमा भएको शोषणको कथाले बेरोजगारी समस्या र युवाहरुको अन्र्तय बोल्छ ।
अन्तत : उ बेरोजगार नै भएर गाउँ फर्किनुप¥यो । उसकी आमाले चाहे जस्तो विवाह हुन सकेन, आमा पनि रहिनन्, न उसले चाहेका प्रेम सम्बन्ध फक्रिन, फुल्न नै पाए । पिता पुत्र विचको प्रेमलाई सरसपुर्ण ढंगले प्रस्तुत गरिएको उपन्यासमा पिता प्रतिको प्रेमको पाटो पनि कम रोचक छैन । जितुको निरिह जिवनमा पनि बा साइपाल हिमाल झै अटल भै रहे । जीतुलाई अभिभावकत्व दिइरहेँ ।
समय बित्दै जादा सडक खन्दै गाउँमा डोजर भित्रियो । डोजरे विनाशले शताब्दी पुराना रुख ढले । दयाराम बतासेको सिमल रुखमुनि मेसिन राखेर लुगा सिलाउँथे । नेताले हप्काइदप्काइ गरेर ‘तेरो मेसिन हटा’ भनेर लखेटे । उनले आँखै अगाडी सिमलको रुख ढलेको देखे । मेसिन घरमा लगेर एक कुनामा थन्काए । मेसिन सधैंका लागि थन्कियो ।
उसको दुइचार पैसा आम्दानी टुट्यो । दयाराम र जीतुका बा दुवै बिदुर थिए । दुवैलाई जिविका चलाउने बल बैस थिएन । उनीहरु वृद्धभत्ता थाप्ने उमेर गन्दै हुन्थे । उनीहरुका दौतरीहरु पनि समयसंगै सुकेका रुख जस्तै भएका थिए ।
द्धन्द्धकाल खपेकाहरुलाई अचेलको राजनीतिक उतारचढावले नैराश्यता पैदा गरेको देखाउन खोजिएको छ । विकासका नाममा भएका विकृतीले गरिवका जिवन कसरी उजाड हुदैछन भन्ने कुराको चित्र खिचिएको छ, उपन्यासमा । पात्रहरु परिकल्पना गरिएका भएपनि कथा सुदुरपश्चिमको यथार्थ बोल्छ ।
भाषामा सुदुरको सुगन्ध, देउडाको लय, प्रकृती र जिवनशैली भेटिन्छ । पाठकको बाल्यकालको स्मृतीलाई जगाउने यो उपन्यासको कथाले अन्तिम पत्र नपल्टाउन्जेल ध्यान खिचिराख्ने आर्कषर्ण बोकेको छ । सुदुरपश्चिम बुझ्न चाहाने पाठकका लागि गतिलो खुराकको हुन सक्छ ।
कहींकतै डोटेली भाषाका शब्दलाई जवरजस्ती नेपालीकरण गर्न खोजिए जस्तो देखिए पनि उपन्यासको मधुर प्रवाहको अघि त्यसले खासै अर्थ राख्दैनन । समग्रमा भन्दा उपन्यास सुदुरपश्चिम नेपालको समाजको बाहिरी आवरणको मात्रै होइन, व्यक्तीगत र सामाजिक मनोदशाको पनि प्रतिविम्ब बन्न पुगेको छ ।
युवा लेखक भट्टको यो पहिलो आख्यान पढ्दा उनको लेखन यात्रा नेपाली साहित्यमा अर्थपुर्ण हुने सहजै अनुमान लगाउन सकिन्छ । आगामी लेखन यात्रालाई अझ फराकिलो बनाउदै जाने प्रेरणा मिलोस् । शुभकामना !!
(लेखक कान्तिपुर मिडिया ग्रुपमा आवद्ध पत्रकार हुन् ।)