साइपालबाट आमाको कथा

सुम्निमा गिरी
सुम्निमाको साइपाल डायरी : सानो वडा भएकाले म अलि फुर्सदिलो हुन्थे। आईतबारको दिन दुई चारवटा जन्म दर्ता गरिसकेछी म र दिदि मेरो क्वाटरमा बसेर गफ गरिरहेका थियौँ। हाम्रो गफमा मिसिन दुई जना महिलाहरु आइपुगे। उनीहरु सासु बुहारी रहेछन्। कुरा गर्दै जाँदा ति आमाको कथा सुन्न मन लाग्यो । शुरुमा केही अन्कनाए पनि हामीले धेरै अनुरोध गरेपछि आफ्नो कथा भन्न थालिन।

असाध्यै हिउँ परेको थियो अरे म जन्मेको दिन। लामो सुत्केरी ब्यथा पछि मेरी जिजा र अन्य केही महिलाहरुको मद्धतले म धर्तिमा आएकी थिएँ।मेरो रोदन सँगै मेरी आमाको मुस्कान पनि बढेको थियो। मेरी आमाको खुसी ब्यक्त गर्ने माध्ययम निश्चल ति चहकिला आँखा अनि निस्कपट त्यो मुस्कान मात्रै थियो।मेरी आमा बोल्न सक्नुहुन्नथ्यो।

मेरो परिवार गाउँमा हुनेखाने परिवारमै गनिन्थ्यो। हाम्रा चार पाँच सय भेडा अनि तिनवटा चौरी गाई थिए। बुवा ब्यापारी हुनुहुन्थ्यो। धुलिको त्यो रमणीय वातावरण अनि नौमुल हिमालको काखमा हुर्केकी हुँ म। मलाई मेरो गाउँ खुबै मन पर्थ्यो। मेरा धेरै साथिहरु थिए। हामी सँगै भेडा चराउन जान्थ्यौ। बिहानै फाँपर र जौँ को रोटी अनि आलुको अचार लिएर जान्थ्यौ। हामी वनमा खुबै रमाईलो गर्थ्यौ। मलाई गित गाउन औधी मन पर्ने। गुँरासको फुललाई बाबियोले गाँछेर ताज जसरी टाउकोमा पहिरिन्थ्यौ।

भाँडाकुटी खेल्थ्यौ। मलाई बेहुली बनेर खेल्न मन पर्थ्यो। प्रायजसो म बेहुली बन्थे अनि देवु बेहुला। गोलो अनुहार, ठुलाठुला आँखा, काला अनि तिखा बाल अनि गोरो वर्ण, उ हेर्नमा साँच्चिकै राम्रो थियो। देवुको मामा घर थियो धुली। उसकी आमाको सुत्केरी अवस्थामा मृत्यू भएपछि २ वर्षे देवु र उसकी शिशु अवस्थाकी बहिनि गंगालाई उसकी मामा घरकी हजुरआमाले आफुसँग राखेर पालेकी थिईन।उसको मामा घर र मेरो घर नजिकै भएकाले गंगा र देवु सँग बढि मिल्थे। कहिलेकाँही हामी सँगै सुत्थ्यौ पनि।

एक दिन साँझपख गंगा दैडिदै आइ।

“भोली त हामी औल जाने, नयाँ लुगा लगाउने म त।“गंगाले एकै सासमा सबै कुरा बकि। म खंग्रङ्ग भए। मलाई नरमाइलो लाग्यो।

“त्यहाँ त सधै भात खान पाईन्छ अरे। मोटर हेर्न पाईन्छ। डोटी जान लागेको हामीहरु त। त्यहाँ त अर्कै भाषा बोल्छन, हाम्रो भाषा बुझ्दैनन् अरे।“गंगा रमाई रमाई आफु जने कुरा बताउँदै थिइ।

“अनि को को जाँदै छौ त?”

“दाजु, म, बाजे, मामा, माइजु अनि तल्ला घरे सन्ते मामाका परिवार।”

यति सुन्ने बित्तिकै मेरो मन अमिलो भयो। नमज्जा लाग्यो। मनमस्तिष्कमा कता कता देवुको छाप बस्न थालिसकेको थियो। ख्याल ख्यालमै बेहुला बेहुली बनेर भाडाकुटि खेल्दा मेरो निर्दोष यो कोमल हृदयले उ सँगको सामिप्यता खोज्न थालिसकेको थियो।

“राम्रो सँग जाओ। आफ्नो अनि दाजुको ख्याल गर्नु। बाँचिएछ भने पछि भेटौला।” मैले सुनकी थिए, डोटी जान आउन महिनौ लाग्छ भनेर।तेतिन्जेल के हुन्छ हुन्छ।

“धत् लाटि कस्तो कुरा गरेकि तैले। मेरो नैरास्यता बुझेर गंगा सम्झाउन थालि। हामी त भर्खर बालकै छौँ। अनि हेर त मेरा र तेरा कान कति लामा छन्, लामा कान हुनेहरु धेरै बाच्छन अरे जिजाले भनेको।” उसले पालैपिलो मेरा र आफ्ना कान छाम्दै भनि।

“औल जाने भएर होला हैन यति बाठी भएकी, तँ काली! जा अब भोलिको जाने तयारी गर। आज सँगै सुत्नुपर्छ।”

मलाई देवुको अनुहार हेर्न मन थियो। पछि भेट हुने नहुने कुराको निश्चित थिएन। म खाना खाएर उस्को घर गएँ। उनिहरु पनि खाना खाएर भोलिको लागि जाने तयारी गर्दै रहेछन्। गंगाले आफ्नो लुगा राख्ने बाकसबाट चाँदिको एउटा सानो माला झिकि र मेरो हातमा थमाईदिइ।

“यो हुम्ली ब्यापारीबाट मेरो आमाले मेरो लागि किनेकी अरे। आमाले छोडेर गए पनि यो मालाले आमाको सम्झना दिलाईरहन्छ।” झरोको उज्यालोमा पनि आँखुले टिल्पिलाइरहेका गंगाका आखा प्रष्टै देख्न सकिन्थ्यो। आफ्नो हातको अर्को ठुलो माला देखाउँदै भनि, “यो चाँहि मेरी आमाले लगाउने माला हो अरे। मेरी आमा कस्ति हुनुहुन्थ्यो त थाहा छैन तर मेरो कल्पनामा अति नै सुन्दर देखिनुहुन्छ।”

गंगाले तरक्क आँसु झारी। मैले पनि थाम्न सकिन। केही बेर हामी चुपचाप बस्यौ। देवु सुत्न भनेर कोठा आयो।उसले हामीहरुलाई रोएको देखेर हसाउन थाल्यो। गाउँभरिका मान्छेहरुको नक्कल पारेर हँसाउन माहिर थियो ऊ। सबै साथिहरुका बाआमाको नक्कल पार्थ्यो। कहिलेकाँही त तेसो गरेको भन्दै साथिहरु ऊ देखि रिसले चुर हुन्थे।एकछिन रमाईला गफ गरेर हामीहरु सुत्यौँ। मलाई भने फिटिक्कै निद्रा लागेको थिएन।साथीहरु सँगको बिछोडले मन   पिरोलिरहेको थियो।

मनमा अनेकौ कुराहरु खेलिरहे। बिहान झिस्मिसेमै गंगाका मामा उनिहरुलाई उठाउन आए। उनिहरु झिस्मिसेमै निस्किए। पातहरुमा रातिको चिसो र बिहानीको न्यानोपनले सितका थोपा छोडेझै गंगाको साथित्व र देबुको प्रेमले मेरो आँखामा अनगिन्ति आँसुका थोपाहरु छोडेर गए।

ती आमाले यसरी आफ्नो बाल्यकालको कथा सुनाउँदै गर्दा मलाई आफ्नो बाल्यकालको सम्झना आयो। भुगोल र जमाना फरक भएपनि हामी समान भावना, चत्र्चलता, निर्दोषपना साट्दा रहेछौँ। दिदिले चिया लिएर आउनुभयो। हामी चिया पिउँदै पुन: कथातिर लाग्यौँ।

म उनिहरुलाई बिदाई गरेर घर फर्किएँ। बाले दाजु र मलाई गोठालो जान भने। म मन नलागी नलागी गएँ। ज्यानमा पटक्कै जाँगर थिएन। गंगा र देबुको यादले लालिगुरासको रातो रंग पनि फिक्का लाग्न थालेको थियो। मलाई साथीहरुसँग खेल्न कुनै रुचि थिएन। घाम डुब्न लागेपछी हामीहरु भेडा लिएर घर फर्कियौ। आमा खाना पकाउने तर्खर गर्दै हुनुहुन्थ्यो।

म आमालाई सघाउन भान्छातिर लागे। यतिकैमा परबाट दौडिदै किस्ना आईपुगि। उ देबुको मामाको छोरी। “दिदि हिड्नु हाम्रो घर।” उसले रुँदै मेरो हात तानेर आफ्नो घर तिर लगि। उसको यस्तो फरक ब्यवहार देखेर मन अमिलो भएर आयो। पेटमा खोलो बग्यो। उस्को घर पुग्दा आँगनमा भिडभाड थियो। रुवाबासी चलिरहेको थियो। देवुलाई देखे। पिढीमा बसिरहेको थियो। अनुहार पुरै कोतरिएको थियो।

आँखा सुन्निएका थिए।उस्को त्यो पोटिलो अनुहारको रंग उडेको थियो। झन डर लाग्यो। अघि बिहान मात्रे औलको यात्रमा निस्किएका उस्का मामा र उस्लाई मात्र देखे। गंगालाई देखिन। भिडलाई छिचोल्दै म अगाडी पुगे। गंगाकी जिजा जोडजोडले रोईरहेकी थिईन। उनलाई दुई चार जना महिलाहरुले सम्हालीरहेका थिए।

भुईमा सेतो कपडfमा लास थियो।रगतले लतपत भिजेको केश, कोतारिएको गोलो अनुहार, ढुङ्गाको चोटले चिरिएका उसका ति लामा कान, ठाँउ ठाउँमा थिचिएको चौडा निधार। त्यो लास मेरी प्रिय सखी गंगाको थियो। मेरो होस हवास उड्यो। म बेहोस झै भएँ। सपना हो कि बिपना हो छुट्याउनै गाह्रो भयो। रुन पनि बिर्सेजस्तो।

ति आमाको कथाले आङमा काँडा फुलेको थियो। मोबाइलको घण्टीले झस्काईदियो। मेरी आमाको फोन थियो। छोटो कुरा गरेर मैले फोन राखे।

“गंगा कायाको पल्लो भिरबाट लडेकी रहिछ।” मेरा बाले भोलिपल्ट सुनाए। “भेडाले धकलेको रहेछ। धेरै तल परेकी रहिछ। पछि देवु र उस्का मामाले धेरै खोजेपछिमात्र लास भेटेछन्। तेति सम्म त सास थियो अरे। पानी पानी भन्दै थिइ अरे। बाटोमा ल्याउँदा सम्म बितिसकिछ। बिचरा देवु सारै अभागी रहेछ, बरा।सानैमा आमा गुमायो अहिले बहिनी।”

बाका कुराले मेरो भक्कानो फुटेर आयो। आमालाई अँगालो हालेर खुब रोएँ। दिउसो गंगालाई बिदाई गर्नु थियो। गंगाका बा पनि आएका थिए उसलाई अन्तिम बिदाई गर्न। गंगा बदलिईछ सारै बदलिइछ। सधै म सँग समान भावना साट्ने उ म रुँदा समेत आज बेवास्ता गरि सुतिरहिछ। गंगा ठग पनि रहिछ। लामा कान भएकाहरु धेरै बाँच्छन भनेर मलाई ठगी। कति निस्ठुरि भईछ गंगा त। म सँग कहिल्यै नबोल्ने गरि म बाट धेरै टाढा गईछ।

ती आमाका गहभरि आँसु छछल्की रहेका थिए, घाँटी अवरुद्ध भएको थियो। आमाको कथाले हामीहरुलाई पनि रुवाएको थियो। देवु अव आफ्ना बा सँग औल जाने अरे। मलाई झन पिडा भयो। गंगाले त छोडी छोडी अव देवु पनि अन्जान बन्ने भयो। नरमाईलो लाग्यो।तिन दिन पछि देबु आफ्ना बा सँग गयो। देबु र गंगाको यादले मलाई एकदम सताउँथ्यो। गोठालो जान छाडेकी थिएँ।

म बढीजसो गंगाको घरतिरै हुन्थे। उस्की जिजा सँग घण्टौ गफ गरेर बस्थेँ। मेरा घरका भने मेरो यस्तो ब्यवहारले चिन्तित थिए। नौ बर्षकी थिएँ म, मेरा बा ले मेरा लागि केटो खोज्नुभएछ। हुम्ली ब्यपारीको छोरो। बा ताक्लाकोट जाँदा भेटेको अरे केटोको बाउलाई। केटो पन्ध्र वर्षको थियो। उ सँग बिहे हुने भयो अब मेरो। मलाई त देबुको बेहुली हुन मन थियो, उसैसँग जिवन काट्न मन थियो। दुई महिना पछि त्यो हुम्ली ब्यापारी, त्यसको छोरो र केही गाउँलेहरु आएर मलाई लागेर गए। मेरो प्यारो ठाउँ अनि मेरा प्यार मान्छेहरुबाट धरै टाढा।

मेरो धुलि अब मेरो माईति देश अनि त्यो अनौठो ठाउँ मेरो घर अरे। त्यो ठाउँमा कसरी बसुला, कसरी बाँचुला। पाँच दिन लगाएर हामी हुम्ला पुग्यौ। त्यहाँ पुग्दा बेग्लै दुनियाँ थियो। तिनिहरुको रहनसहन हामी सँग केही मिलेपनि त्यहाँका मान्छेहरु मलाई अनौठा लाग्थे, मानौकी उनिहरु यो दुनियाकै होईनन्। हामी पुगेको दिन सबै गाउँलेहरु बोलाएर भोज भतेर गरे। नाँचगान गर्न रुचाउने मलाई त्यो दिन भने नाचगान निरस लाग्यो। घरको यादले परोलिरह्यो।

उनको घर मेरो भन्दा पनि ठुलो जस्ताले छाएको एकदमै ठुलो दरवार जस्तो।परिवारमा बज्यै, बा आमा अनि चार भाईबहिनी रहेछन्। जेठा दाजु बिहे गरेर भारत गएको थुप्रै भैसकेको रहेछ। त्यसैले मेरा श्रीमानले ब्यापार चलाओस भन्ने चाहान्थे मेरा ससुरा।उनकी माहिलि दिदिले छिमेकी गाउँमा बिहे गरेकी थिईन्।उनि साँहिला थिए।

म त्यो घरको सदस्य भएको पनि एक वर्ष भईसकेछ। आमाको न्यास्रो लाग्थ्यो। कहिलेकाँही राती म सुक्सुकाएको सुनेर बज्यैले मलाई फकाउनु हुन्थ्यो। उनि मलाई मेरी जिजा जस्तै लाग्थिन।मेरी सासु भने अलि कडा स्वाभावकी थिईन्। उनि धेरैजसो पसलमै ब्यस्त हुन्थिन्। म र बज्यै घरका सबै काम गर्थ्यौ, मेलापत पनि।

राति म उहाँसगै सुत्थे। उनले सुनाउने कहानी खुबै मन पर्थ्यो। लामचुल्ठी नानी र बायुपंखी घोडाको कथा मलाई खुबै मन पर्ने। यी कथाहरु सुन्दै गर्दा कथाको नायक र नायीकामा देवु र आफुलाई कल्पना गर्थेँ। तर आफ्नो बिहे भैसकेको कुराले झस्काउने गर्थ्यो। जिन्दगीमा एक पल्ट मात्र भएपनि देवुसँग भेट गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। उस्का यादहरुले मनमा बेग्लै खालको तरंग लिएर आउथ्यो।

म आफ्ना श्रीमान सँग दुई चार पल्ट मात्र बोलेकी थिएँ होला। त्यो पनि दुई अपरिचित मान्छेबिचको सम्वाद जस्तो हुन्थ्यो। बज्यै बिरामी भएपछि भान्छाका सबै कामहरु मेरो टाउकोमा खनिए। बाहान झिस्मिसैमा उठेर पानी पँधेरो, घर लिपपोत अनि खाना पकाइवरी मेलापात जान्थेँ। फेरी फर्केर चुलोचौको गर्दा त मलाई हम्मे हम्मे पर्थ्यो। जीवन यति ब्यस्त हुन थाल्यो कि हिड्दा हिड्दै पनि निद्रा लाग्ला जस्तो हुन्थ्यो। सासु भने जति काम गरेपनि केरकार गरिरहने, केही न केही खोट देखाईरहने।

वैशाख-जेठतिर मेरा श्रीमान् बेपत्ता भए, जति खोज तलास गरेपनि फेला परेनन्। तेही महिना बज्यै पनि बितिन्। घरमा अब झन सासुको हैकम चल्न थाल्यो। छोरो बेपत्ता भएको दोष पनि मेरै टाउकोमा थोपर्थिन्। करिब डैढ महिना पछि भारतबाट एउटा पत्र आयो। मेरा श्रीमानको पत्र थियो। उनि छिमेकी गाउँका केटाहरुसँग भारत पसेका रहेछन्। चप्पल कारखानामा काम पाएका रहेछन् ।

पत्रमा सबैलाई सोधेका थिए। मेरा बारेमा भने केही लेखिएको थिएन। मानौ कि उनका लागि मेरो अस्तित्व नै छैन। श्रीमान बिदेसिएको पनि तिन वर्ष भईसकेको थियो। भारत बाट कोही गाउँले आउँदा सबैका लागि नासो पठाउँथे तर मेरा लागि भने केही हुँदैन्थ्यो। मेरा देवरले पनि बिहे गरिसकेका थिए। छ महिनाकी छोरी थिइ। यही कुरामा सासुले मलाई खुब सुनाउथिन।

एक दिन मेरा श्रीमानको पत्र आयो। पत्र सँगै एउटा तस्विर पनि थियो। शुरुमा त त्यो पत्र म बाट लुकाईयो। पछि मेरी देवरानीले सासुबाट लुकाएर म लाई त्यो पत्र देखाईन। पत्रमा लेखे अनुसार ति तस्विरका मानिसहरु मेरा श्रीमान, उनकी नयाँ श्रीमति अनि उनिहरुको दुई वर्षको छोरो रहेछ।

रंगिन त्यो तस्विर म कालो देख्न थाले। म उभिएको धर्ती भासिएझै भयो। म थचक्कै भुईमा बसेँ। मेरा लागि यो तितो सत्य थियो। मेरो अव के हुन्छ थाहा छैन।यो कुरा थाहा पाए मेरो भविष्यको सुख सयलको सपना देखी मलाइ त्यो घरमा पठाउने मेरा बा आमाको हविगत के हुने होला। यो घटना पछि त मलाई त्यो घरमा बाँच्नै मुस्किल भयो।

सुनको पिजडाको सुगा जस्तै थिएँ म। सासु त तेस्तै थिईन, ससुराको ब्यवहार पनि म तिर अलि नकारात्मक भएको महसुस गर्न थाले।गाउँलेको नजरमा म अवला बिचारी थिएँ। पँधेरा जाँदा अनेक प्रश्न गर्थे। के गर्छेस त साइलि अव माईत जान्छेस की यतै बस्छेस। सइलो त घर आउला जस्तो छैन त। यस्तै यस्तै वाणरुपी प्रश्नहरुले मेरो कोमल हृदय घायल हुन्थ्यो। म चुपचाप बस्थे। सासु ससुराको के सल्लाह भयो कुन्नी एक्कासी ब्यापारको बहाना बनाई धुलि जाने कुरा गरे।

मलाई पनि सँगै हिड भने। मलाई थाह थियो म बाट छुट्कारा पाउने बुद्धि हो यो भनेर। चार दिनको यात्रा पछि हामी धुली पुग्यौँ। करिव चार वर्ष पछि बाआमालाई देखेर मन फुरुङ्ग भयो शरिर हल्का। आफ्ना सम्धीको भव्य स्वागत गरे मेरा बा ले। ज्वाँइका बारेमा सोध्दा ब्यापारको शिलसिलामा एक महिना अगाडी भारत गएको कुरा भने। वास्तविकता लुकाएकोमा ससुरा देखि रिस उठेपनि म केही बोलिन।

बोल्न पनि कसरी सक्थे र। यो तितो वास्तविकतालाई मेरा बाआमाले पचाउन सकेनन् भने। सुन्दर भविष्यको कल्पना गरि सुम्पिएकी छोरी विधवा जस्तै भएकी भन्ने कुरालाई धान्न सकेनन् भने। म भन्न सक्दीन यो कुरा। मलाई एक दुई महिना पछि लिन आउँछु भनेर ससुरा घर फर्किए।

सुरुसुरुमा घरमा सबै खुसी नै थिए। बाआमा न हुन छोराछोरी लाई भएको पिडा महसुस गरिहाल्दा रहेछन्। मेरो एकोहोरो मौनताको कारण बुझ्न चाहेपनि मैले केही भनिन।बित्दा दिनहरुसँगै श्रीमानको धोका अनि परिवारको घोचपेच विर्सिन थालेकि थिएँ। कसरी हो कुन्नी बा ले एकदिन मेरो वास्तविकता थाहा पाएछन्।

आफुलाई धिक्कार्दै खुब रोएका थिए बा त्यो दिन। बा रोएको पहिलोपटक देखेकी थिएँ। मलाई भने केही हल्का महसुस भयो। मनको भारी बिसाउन पएको भएर होला। म अब पहिले जस्तै भएकि थिएँ। गोठालो जाने, मेलापात गर्ने, भान्छामा आमालाई सघाउने। गोठालो जाँदा गंगाको खुबै याद आउँथ्यो। एक दिन मेरी जिजा र म गंगाकी जिजालाई भेट्न गयौँ। गंगाकी जिजा मलाई देखेर खुब रोइन्।

गंगाका बाजे मेरो बिहे भएको वर्ष बितेका रहेछन्। गंगा र देवुका कुरा गर्यौ। मैले आफ्ना घरका पिडा भने। उहाँबाट थाह भयो कि देवु न्यूनामा आफ्नो घरखेत गरेर बसेको रहेछ। हाम्रो गाउँबाट न्यूना तिन चार घण्टा मात्रै टाढा भएपनि म कहिल्यै गएकि थिइन। मलाई गएर देवुलाई मेटिहालु, उस्को अनुहार हेरीहालु, उस्को बोलि सुनिहालु लाग्न थाल्यो।तर उस्ले मलाई चिनेन भने? मैले उस्लाई चिनिन भने? आफैसँग प्रश्न गर्न थाले।

(यस स्तम्भकी लेखक सुम्निमा गिरी नेपालकै अति दुर्गम गाउँपालिकामा कार्यरत कर्मचारी हुन् । हामीले यस स्तम्भको नाम ‘सुम्निमाको साइपाल डायरी’ राखेका छौं । दुर्गम र अभाव ग्रस्त क्षेत्रमा काम गर्दा एक आधुनिक युवाले प्राप्त गरेका अनुभवहरु निकै रोचक र मर्मस्पर्सी छन । हामी उनका थप अनुभवहरुलाई धारावाहिक रुपमा यस स्तम्भमा प्रस्तुत गर्दै जानेछौं । – सम्पादक)