काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७.४१ अंकले बढेर १ हजार १ सय ९.७३ विन्दुमा पुग्यो । अघिल्लो दिनको तुलनामा यो ०.६७ प्रतिशतले बढी हो । आइतबार दोहोरो अंकले घटेको सेयर बजारमा सोमबार सुधार भएको हो ।
उक्त दिन वित्त कम्पनी समूह बाहेक सबै समूहको परिसूचक बढेको छ । वित्त समूहको परिसूचक ०.११ प्रतिशतले ऋणात्मक रहयो ।
सोमबार धितोपत्र बोर्डले प्यान लागू गर्ने बारेमा लगानीकर्तासँग छलफल गरेको छ । छलफलमा लगानीकर्ताले अहिले प्यान लागू गर्ने समय आइनसकेको सुझाव दिएका छन् । यसका आधारमा बजारमा छिट्टै प्यान लागू नहुने देखिएको छ ।
यसकारण लगानीकर्ताको मनोबल बढेकाले सोमबार सेयर बजारमा सकारात्मक प्रभाव परेको जनाइएको छ । छलफलमा लगानीकर्ताले प्यान व्यवस्था तत्काल अनिवार्य नगरी ऐच्छिक गर्नुपर्ने सुझाव दिएका थिए । यसअघि धितोपत्र बोर्डले ०७५ वैशाखदेखि प्यान लागू गर्ने सम्बन्धमा आवश्यक तयारी गर्न नेप्सेलाई निर्देशन दिएको थियो ।
सोमवार २० करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम करिब ६१ लाख ५७ हजार रुपैयाँले कम हो । यस दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक १.५९ प्रतिशतले बढ्यो ।
उक्त दिन कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्यो, ४३ कम्पनीको सेयर मूल्य घट्यो र बाँकी २५ कम्पनीको सेयर मूल्य स्थिर छ ।
