अनलाइनबाट ठगिनेक्रम बढ्दै

साइपालखवर
बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नुका साथै भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले अनलाइनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेकाले सचेत हुन आह्वान गरेको हो ।

प्रहरीका अनुसार विगत केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै चिट्ठाबापतको रकम पाउनका लागि कर चुक्ता गर्न यति रकम चाहिने भएकोले भन्दै बैङ्क तथा अनलाइनमार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढिरहेको पाइएपछि यस्ता भ्रामक कुरामा विश्वास नगरी ठगी हुनबाट बच्न अनुरोध गरेको हो ।

सामाजिक सञ्जाल भाइबर, वाट्सप, इमो लगायतका विभिन्न सामाजिक एपहरूमार्फत भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरी प्रलोभनमा पार्दै ठगी हुने गरेको घटनाहरू आउने गरेकाले अपरिचित व्यक्तिको मेसेज रिप्लाई नगर्न आफूहरूले आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘फोन वा सामाजिक सञ्जालको दुरुपयोग गरी चिठ्ठा बापतको रकम पठाई दिन्छु भनी व्यक्तिगत बैङ्क खाता नं. मागी, बैङ्क खातामा प्रयोग गरेको मोबाइल नं. मा प्राप्त भएको ओटिपी कोर्ड मार्फत बैङ्क खातामा पहुँच बनाई आफ्नो बैङ्क खातामा रहेको रकम ट्रान्सफर गर्ने गरेको पाएकाले कहीँ कतैबाट आफूले भर्दै नभरेको चिठ्ठा परेको भनी अपरिचित व्यक्ति वा समूह मार्फत फोन, भिडियो वा अडियो कल प्राप्त भएमा त्यसको विश्वासमा परी आफ्नो कुनै पनि व्यक्तिगत विवरणहरू उपलब्ध नगराउन सबैमा आग्रह गरिएको हो ।’