सरकार ! गफ मात्र नदेउ; युवालाई समेटेर कार्यक्रम पनि ल्याउ: खड्का

बझाङ समाचार सुदुरपश्चिम

साइपालखवर 
बझाङ । बझाङ लगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । बझाङमा पनि ‘खाद्य प्रणालीमा रूपान्तरण: मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने नाराका साथ यो दिवस मनाईएको छ । राष्ट्रिय युवा संघ नेपाल मष्टा गाउपालिकाको आयोजनामा विहिबार दिवसकै अवसरमा युवा नेतृत्व विकास गर्नका लागि राष्ट्रिय युवा संघ नेपाल मष्टा गाउँपालिकाको आयोजनामा विभिन्न कार्यक्रमको गरिएको छ ।
बझाङ जिल्लामा पनि पछिल्लो समय युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कायन्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् ।
कोभिड–१९ को कारणले अहिले मुलुकमा लाखौँ युवा बेरोजगार बन्नु परेको अवस्था छ । सरकारले ती युवालाई समेटेर रोजगारीका कार्यक्रम ल्याउनु आवश्यक रहेको छ । राष्ट्रिय युवा संघ नेपालका बझाङ जिल्ला संयोजक संसार खड्काले कार्यक्रममा बोल्दै युवाका क्षेत्रमा केही मात्रामा भए पनि सकारात्मक परिवर्तन देखा पर्न थालेको र युवाका क्षेत्रमा धेरै नीतिगत काम भए पनि कार्यन्वयनमा चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले मुलुकमा युवाका क्षेत्रमा काम गर्नका लागि धेरै नीतिगत कानून बनेका छन् तर ती नीतिअनुसार कार्यक्रम कार्यान्वयन नहुनु दुखत कुरा हो ।’ सरकार युवाहरुलाई समेटेर कार्यक्रम ल्यानभन्दा गफ दिन र बधाई थाप्न ब्यस्त भएको उहाँको भनाई थियो ।
मष्टा गाउँपालिका कार्यवाहक अध्यक्ष टेक बहादुर कठायतले गाउँपालिकाले युवाका मुद्दा सम्बोधन गर्ने खालका कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या भएको बताउनुभयो । उहाँले नीतिगतरूपमा युवाका क्षेत्रमा रचनात्मक काम गर्ने खालका कार्यक्रम ल्याइए पनि कार्यन्वयन नहुँदा विदेश भूमिमा लाखौँ युवाले रगत पसिना बगाउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नीतिगतरूपमा युवाका क्षेत्रमा धेरै नै काम भएका छन् । युवालाई स्वरोजगारमुखी बनाउनेदेखि उत्प्रेरणा दिने खालका कार्यक्रम छन् तर ती नीतिमा रहेका कार्यक्रम कार्यान्वयन गर्न नसक्दा युवाका क्षेत्रमा नतिजामुखी परिमाण दिन सकिएको छैन । त्यसैले ती नीतिलाई सहजै कार्यान्वयन गर्ने खालका कार्यक्रम यो बर्षबाट ल्याएका छौ ।’

राष्ट्रिय युवासंघ नेपाल मष्टा गाउँपालिकाका संगठन कमिटी अध्यक्ष शंकर खड्काले पहिलेभन्दा युवाका क्षेत्रमा धेरै नीतिगत काम भए पनि कार्यन्वयन नहुँदा युवाका समस्या जहाँको त्यहि रहेको बताउनुभयो । ‘शुरुमा युवा दिवस मनाउँदा युवाका क्षेत्रमा काम गर्ने सरकारी निकाय नै रहेको थिएन् अहिले सरकारले नै दिवस मनाउन थालेको छ । दिवसलाई सार्थकता दिनका लागि युवाका क्षेत्रमा बनेका नीतिलाई कार्यन्वयन गराउनुपर्दछ ।’ उहाँले कोभिड–१९ को कारणले धेरै युवा बेरोजगार भएको अवस्थामा सरकारले रोजगारीका प्याकेज ल्याउनुपर्नेमा समेत जोड दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *